कतारको रास लाफान विस्फोटमा ५ नेपाली श्रमिक घाइते

आइतबार राति बरजानमा एक्कासी विस्फोट भई आगलागी हुँदा १३ जनाको मृत्यु र ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमा १२ जना भारतीय र एक पाकिस्तानी श्रमिक रहेका थिए ।

असार ९, २०८३

होम कार्की

5 Nepali workers injured in explosion in Ras Laffan, Qatar

What you should know

काठमाडौँ — परराष्ट्र मन्त्रालयले कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा पाँच जना नेपाली घाइते भएको पुष्टि गरेको छ । आइतबार राति बरजानमा एक्कासी विस्फोट भई आगलागी हुँदा १३ जनाको मृत्यु र ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमा १२ जना भारतीय र एक पाकिस्तानी श्रमिक रहेका थिए ।

‘कतारको रास लाफान ग्यास विस्फोटमा पाँच जना नेपाली नागरिक घाइते भएको छ । तीन जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ,’ परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले ईकान्तिपुरलाई भने,‘दुई जना नेपालीको अस्पतालमा उपचार भइरहेको छ ।’

प्रवक्ता पौडेलले घाइतेहरु जोखिमबाट मुक्त रहेको बताए । ‘उहाँहरु खतरामुक्त हुनुहुन्छ । नेपाली दूतावासको नियमित सम्पर्कमा हुनुहुन्छ,’ उनले भने ।

दोहास्थित कार्यवाहक राजदूत कुमार राईले कतार सरकारले घाइतेको गुणस्तरीय उपचारको सुनिश्चित गरेको बताए ।

कतारले सोमबार नेपालीसहित ६६ जना घाइते भएको जनाएको थियो । ऊर्जा मामिलासम्बन्धी राज्यमन्त्री तथा कतार इनर्जीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत साद बिन शेरिदा अल–काबीले  दोहामा आयोजित पत्रकार सम्मेलनमा नेपालीसहित कतारी, भारतीय, पाकिस्तानी, बंगलादेशी, केन्याली, घानाली, तान्जानियाली र नाइजेरियाली नागरिक घाइते भएको जानकारी दिएका थिए ।

कतार इनर्जीका अनुसार बरजान प्लान्ट डिसेम्बर २०२५ देखि अत्यावश्यक मर्मतका लागि बन्द थियो । दुर्घटना हुनुभन्दा दुई दिनअघि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो । 

अल–काबीले घटनालाई सञ्चालनसम्बन्धी दुर्घटना भएको बताउँदै यसमा कुनै तोडफोड वा शत्रुतापूर्ण गतिविधिको संलग्नता नरहेको स्पष्ट पारे । ‘कतार इनर्जीको आपत्कालीन उद्धार टोली र कतार सिभिल डिफेन्सले आगोलाई छिट्टै नियन्त्रणमा लिएका थिए,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully