निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यदलले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सुर्खेत आएका थिए ।
सुर्खेत — एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यदलले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सुर्खेत आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालयलाई गरेको पत्राचारअनुसार पौडेललाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरले बताए । ‘उहाँ सुर्खेतमै भएको जानकारी पाएर जिल्ला प्रहरीलाई विभागले पत्राचार गरेको थियो,’ उनले भने । आवश्यक मुचुल्कालगायतको काम सकिएपछि काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।
कार्यदलले सबै प्रदेशमा सुझाव संकलन गरिरहेको छ । गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौं बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यक्रममा सहभागी हुन थापासहित पौडेल सोमबार बिहान सुर्खेत पुगेका थिए ।
