कञ्चनपुरमा वडाध्यक्षमाथि पत्रकार कुँवरले हातपात गरेको घटनाको वास्तविकता के हो ?

आइतबार अपह्रान्न ५ बजेर ५३ मिनेटमा पत्रकार ऐश्वर्या कुँवरकै अकाउन्टबाट पोस्ट भएको ९ मिनेट ११ सेकेण्डको भिडियोमा भीमदत्त-१८ का वडाअध्यक्ष रविन्द्र देवकोटासित भनाभनपछि हातपातकै स्थितीमा पुगेको देखिन्छ ।

असार ८, २०८३

अर्जुन शाह, भवानी भट्ट

What is the truth behind the incident in which journalist Kunwar assaulted a ward chairperson in Kanchanpur?

What you should know

धनगढी/ कञ्चनपुर — आइतबार दिउँसोदेखि सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ । जहाँ पत्रकार ऐश्वर्या कुँवर र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का वडाअध्यक्ष रविन्द्र देवकोटाबीच विवाद भएको देखिन्छ । भिडियोमा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि धक्कामुक्कासमेत गरेको देखिन्छ ।

आइतबार अपह्रान्न ५ बजेर ५३ मिनेटमा पत्रकार कुँवरकै अकाउन्टबाट पोस्ट भएको ९ मिनेट ११ सेकेण्डको भिडियोमा उनीहरुबीच केही समय भनाभन भएको र पछि हातपातकै स्थितीमा पुगेको देखिन्छ ।

उक्त भिडियोलाई लिएर सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी भएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकार हुनु कसैलाई कानुनभन्दा माथि हुने छुट नभएको भन्दै यो खराब प्रवृत्तिको सामना गर्नुपर्ने बताएका छन् ।

'पत्रकार हुनु कसैलाई कानूनभन्दा माथि हुने छुट होइन । पत्रकारिताको परिचयपत्र अराजकता मच्चाउने, अपराध गर्ने लाइसेन्स बन्न सक्दैन । पछिल्ला ४ दिनमा घटेका (कञ्चनपुर र काठमाडौंका) दुई घटनाले अब हामीले पनि आफ्नै घरभित्र (नेपाल पत्रकार महासंघ) शल्यक्रिया गर्न तयार हुनुपर्छ,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'आफ्नो घरभित्रको खराबीप्रति निर्मम हुन नसक्ने हो भने बाहिरबाट पत्रकारिताको गरिमा जोगाउने नैतिक आधार कमजोर हुँदै जान्छ । एक-दुई जना अराजक व्यक्तिका कारण हजारौं इमानदार पत्रकारको प्रतिष्ठा धुलिसात हुन दिनु हुँदैन । अब चेतावनी होइन, कारबाही चाहिन्छ ।'

त्यस्तै पत्रकार माधवप्रसाद तिवारीले लेखेका छन्, 'यो पत्रकारिता हुनै सक्दैन । कञ्चनपुरको महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा सञ्चालन भइरहेको लागुऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा गएर वडा अध्यक्ष रविन्द्र देवकोटासँग आफैं विवाद सिर्जना गरेर हातपात गर्ने पत्रकार ऐश्वर्य कुँवर माथि नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले तत्काल अनुसन्धान गरेर कारबाही गरोस्, पत्रकारले समाचार लेख्ने हो कि आफैंले विवाद निकालेर जनप्रतिनिधि कुट्ने ? एउटा कार्यक्रममा सहभागी भैरहेको जनप्रतिनिधिलाई बाहिर हिँड भनेर जबरजस्ती गर्ने र हातपात गर्ने अधिकार पत्रकारका लागि कुन कानुनले दिएको छ ? यसमा सिधै प्रहरीले कारबाही गरे पनि कुनै समस्या हुँदैन । यस्तो शैलीले पत्रकारिता गुण्डागर्दीमा रूपान्तरण हुन्छ । समयमै सचेत बनौं ।'

घटनाको वास्तविकता के हो ? 
भीमदत्त नगरपालिका-१८ ले सुनौलौ भविष्य बाल क्लबमा आवद्ध बालबालिकाका लागि आइतबार क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिरहेको थियो । वडा कार्यालयको वार्षिक योजना अन्तर्गत रहेको उक्त कार्यक्रम वडा कार्यालयले सुनौलो भविष्य बाल क्लबका लागि ब्यक्तित्व विकास सम्बन्धित तीन दिने कार्यशाला गोष्ठी महेन्द्रनगरस्थित होटल स्वीट ड्रीममा सञ्चालन गरिरहेको थियो ।

तालिममा साइबर अपराध तथा सुरक्षा, लागुऔषध दुर्व्यसनी सम्बन्धी, प्रविधिजन्य कुलत, ब्यक्तित्व विकास, नेतृत्व विकास, योग, ध्यान, गीता ज्ञान सम्बन्धी, बालअधिकार, सञ्चार सीपलगायतका सत्रहरु सञ्चालन गर्ने कार्यतालितका तय गरिएको थियो ।  

उक्त घटना कार्यक्रमको दोस्रो दिन आइतबार भएको हो । वडासचिव दिनेशराज भट्टका अनुसार खानापछिको सत्र लागुऔषध दुर्व्यसन सम्बन्धी थियो । जिल्ला प्रहरी कार्यालयका बरिष्ठ नायब निरीक्षक चेतराज पन्तले सहजीकरण गरिरहेका थिए । वडा कार्यालयमै कार्यक्रम गर्नुपर्ने भए पनि अत्यधिक गर्मीका कारण महेन्द्रनगरकै होटेल स्वीट ड्रिमले नि:शुल्क हल उपलब्ध गराएपछि कार्यक्रम सोही होटलमा गरिएको अध्यक्ष देवकोटाको भनाई छ ।

बरिष्ठ नायब निरीक्षक पन्तले बालबालिकाहरुलाई लागुऔषध दुर्व्यसनी सम्बन्धी सहजीकरण गरिरहेका बेला अकस्मात पत्रकार कुँवर हलभित्र प्रवेश गरेकी थिइन् । सचिव भट्टका अनुसार पत्रकार कसैलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको थिएन । तर हलभित्र प्रवेश गरेर पत्रकार कुँवरले सुरुमा केहीबेर फोटो भिडियो खिचिन् ।

त्यसपछि अध्यक्ष देवकोटालाई कार्यक्रमबारे प्रतिक्रिया दिन भनिन् । तर अध्यक्ष देवकोटाले अहिले कक्षा सञ्चालन भइरहेकोले केहीबेरमा प्रतिक्रिया दिने भन्दै बस्न आग्रह गरेको बताए । तर कुँवरले तत्काल बाहिर आएर प्रतिक्रिया दिन दबाव दिन थालिन् । त्यसक्रममा उनीहरुबीच वादविवाद सुरु भयो । वादविवाद र भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि धक्कामुक्कासहित हात छाडिन् ।

के भन्छन् वडाअध्यक्ष ?
कुँवरले अघिल्लो दिन पनि फोन गरेर सडकबारे जिज्ञासा राखेको अध्यक्ष देवकोटाले बताए । त्यस विषयमा सम्बन्धित ठेकेदारसँगै कुरा गर्न आग्रह गरेको बताउँदै उनले आफूसँग ठेकेदारहरुको नम्बर नहुने र कुनै काममा कमीकजोरी भएको भए सम्बन्धित निकायमा उजुरी गर्न भनेको बताए ।  

सहजीकरण गरिरहेका प्रहरी बरिष्ठ नायब निरीक्षक पन्तका अनुसार घटनाको परिवेश हेर्दा पत्रकार कुवँरले अध्यक्षप्रति अघिल्लै दिनदेखि पूर्वाग्रह राखेको हो कि भन्ने जस्तो देखिन्थ्यो । ‘मैले कक्षा सहजीकरण गरिरहेको थिए, उहाँ सिधैं कार्यक्रम हलमा पस्नु भयो र अध्यक्षसँग विवाद गर्न लाग्नु भयो । भनाभन भयो । अध्यक्षमाथि धक्कामुक्का पनि गर्नु भयो,’ पन्तले भने, ‘कक्षा तनावग्रस्त भयो । बालबालिका पनि भयभित भए । घटना बढ्दै जानेजस्तो भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।’

के भन्छन् प्रहरी ?
अध्यक्ष देवकोटाले जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार सम्बन्धी मुद्दा दिएको बताएका छन् । प्रहरीले कुँवरलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी नेत्रमणि गिरीले बताए । 'अनुसन्धान भइरहेको छ, सरसर्ती हेर्दा वडाध्यक्षमाथि दुर्व्यवहार भएको देखिन्छ,' उनले भने, 'अनुसन्धान पछि मात्रै केही भन्न सकिन्छ ।'

पत्रकार कुँवर यसअघि पनि पटकपटक विवादमा आउने गरेकी थिइन् । ०८० माघमा पनि झण्डै एक सातासम्म प्रहरीको थुनामा परेकी थिइन् ।  

के भन्छ पत्रकार महासंघ ? 
सामाजिक सञ्जालमा उक्त घटना बाहिर आएपछि पत्रकारले जनप्रतिनिधिमाथि हातपात गरेको भन्दै व्यापक विरोध भइरहेको छ । पत्रकारले आचारसंहिताको पालना गर्नुपर्ने तथा संयमता अपनाउनुपर्ने भन्दै सबै क्षेत्रबाट आलोचना भइरहेको छ । पत्रकारहरुले समेत घटनाको विषयमा विभिन्न प्रतिक्रिया दिएका छन् ।

नेपाल पत्रकार महास‌ंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले यो पत्रकारिताको आचारसंहिता विपरीत रहेको भन्दै यस्ता घटनालाई निरुत्साहन गर्नुपर्ने तर्क राखिन् । 'यदि त्यो इस्यू हो भने त्यसलाई रिपोर्टिङ गरेको भए हुन्थ्यो । तर यसरी गएर गाली गर्ने र हातपात नै गर्ने काम पत्रकारको होइन,' अध्यक्ष शर्माले भनिन्, 'यस्तो काम त प्रहरीले पनि गर्न मिल्दैन ।'

अध्यक्ष शर्माका अनुसार यस घटनामाथि जिल्लाले छानबिन गरिरहेको र आवश्यकता अनुसार कदम चाल्ने छ । 'प्रेस काउन्सिलले पनि स्वअनुगमन गर्ला । हाम्रो जिल्ला शाखाले पनि खास घटना के हो भनेर छानविन गरिरहेको छ । आवश्यक्ता अनुसार के गर्नुपर्छ गर्छौं ।'

नेपाल पत्रकार महासंघ कञ्चनपुरले घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ । घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेर अगाडि बढ्ने महासंघका कञ्चनपुर अध्यक्ष सुरेश धामीले बताए । उनका अनुसार वडाध्यक्ष देवकोटाले महासंघमा पनि उजुरी दिएका छन् । यस विषयमा सत्यतथ्य बुझेर मात्रै आवश्यक कारवाही गरिने उनले बताए । 

यता पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टले पत्रकार कुँवरलाई महासंघको सदस्यबाट तत्काल निलम्बन गरेर कारवाही प्रक्रिया अघि बढाउन कञ्चनपुर शाखालाई निर्देशन दिइएको बताए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully