अपुग कोटामा पुन: परीक्षा हुने कि नहुने भन्ने विषयमा इजरायलसँगको छलपलपछि मात्रै तय हुनेछ : विभाग
What you should know
काठमाडौँ — इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) को सहायक श्रमिक –केयरभिगरका लागि लिइएको अंग्रेजी भाषा परीक्षामा १२ सय ३१ जना मात्रै पास भएका छन् । परीक्षामा १५ हजार ६ सय २६ जना सहभागी भएका थिए ।
वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले इजरायलबाट मागिएको कोटाअनुसार अंग्रेजी भाषामा पास हुनेको संख्या न्यून रहेको बताइन् । ‘२३ सय जना पठाउन आवेदन मागिएको थियो । १२ सय ३१ ज्ना मात्रै पास भएको प्रतिवेदन प्राप्त भएको छ,’ महानिर्देशक आचार्यले इकान्तिपुरसँग भनिन् ।
इजरायलबाट भाषा परीक्षाको जिम्मेवारी पाएको सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसनले विभागलाई भाषा परीक्षा उत्तीर्ण हुनेको विवरण पठाएको हो ।
इजरायलले अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी वान’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेको छ । यसअघि गएका केयरगिभरहरूले राम्रोसँग अंग्रेजी भाषा बोल्न नआएको भन्दै इजरायलले ‘बी वान’ तह पार गर्नुपर्ने व्यवस्था गरेको हो ।
इजरायलको मापदण्डअनुसार सबैभन्दा बढी प्राथमिकता अंग्रेजी भाषा ‘स्पिकिङ’लाई दिइएको छ । कम्तीमा स्पिकिङमा ‘बी वान’ ल्याउनुपर्नेछ । ‘राइटिङ’ मा ‘ए वान, ‘लिस्निङ’ र ‘रिडिङ’ मा भने ‘ए टु’ ल्याउनुपर्नेछ ।
परीक्षाका लागि इजरायलले ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । विभागले केयरभिभरका लागि परेको आवेदनको प्रारम्भिक छानबिन सुरू गरेको बताए । ‘अब हामी आवेदनमा पेस भएका सबै कागजातको छानबिन गरी अन्तिम सूची इजरायललाई पठाउनेछौं,’ महानिर्देशक आचार्यले भनिन् ।
विभागले इजरायलबाट आएका सबै कोटामा नेपाली श्रमिकले पाउनुपर्ने गरी कूटनीतिक माध्यमबाट इजरायलसग अनुरोध गर्ने जनाएको छ । नपुग कोटामा पुनः परीक्षा हुने वा नहुने विषय भने अझै प्रस्ट भइसकेको छैन । ‘अहिलेको विषयमा हाम्रा केही अनुभव छन् । त्यसलाई इजरायल पक्षसँगको कुराकानीमा राख्नेछौं,’ उनले भनिन् ।
इजरायलले २३ सय जना सहायक श्रमिक (केयरगिभर) मागेको थियो । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् । यसमध्ये एक हजार जनालाई तत्काल पठाइने भनिएको थियो । योग्यता पुगेकामध्ये अन्तिम छनोट भने लक्की ड्रबाट हुनेछ । त्यसरी छानिएका सहायक श्रमिकले दीर्घकालीन स्याहार केन्द्रमा जुनसुकै उमेरका गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने विभागले जनाएको छ । श्रमिकको करार अवधि ५ वर्षसम्म रहनेछ ।
नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । इजरायलमा जाने केयरगिभरको मासिक तलब ६ हजार चार सय ४३ इजरायली मुद्रा (करिब तीन लाख ४७ हजार रुपैयाँ) छ । यसमा खाना र आवासको खर्च भने आफैंले बेहोर्नुपर्ने हुन्छ । इजरायल जाने सबै लागत शुल्क भने श्रमिककै हुनेछ ।
इजरायलले सन् २०२२ अगस्टदेखि नेपालबाट दीर्घकालीन स्याहार केन्द्रका लागि केयरगिभर लैजान थालेको हो । सुरूमा सीमित संख्यामा श्रमिक माग भए पनि अहिले इजरायलमा श्रमिक अभाव बढ्दै जाादा थप नेपाली लैजाने प्रक्रिया विस्तार हुँदै गएको छ ।
