उपचारका क्रममा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा राति पौने १० बजे उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा आइतबार राति निधन भएको छ। उपचारका क्रममा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा राति पौने १० बजे उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ।
खरेलको पार्थिव शरीर सोमबार बिहान ९ बजेदेखि ११: ४५ बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी नगर, ललितपुरमा राखिएको थियो। उनको अन्त्येष्टि सोमबार दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिने कार्यक्रम छ।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसका पुराना नेता तथा लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धाका रूपमा परिचित थिए। सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलका माइलो सन्तान उनी नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परेर झण्डै नौ वर्ष जेल बसेका थिए।
जननायक बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट सहकार्यमा रहेर उनले पार्टी संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए। वि.सं. २०४९ देखि २०५३ असारसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय उनकै वानेश्वरस्थित निवासबाट सञ्चालन भएको थियो।
खरेल २०४८, २०५१, २०५६ र २०६४ सालका आमनिर्वाचनमा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए। २०५६ सालको निर्वाचनमा निर्वाचित भएपछि उनले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेर उनले संगठन निर्माण र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा योगदान पुर्याएको पार्टीले जनाएको छ। उनका तीन छोरा कृष्णचन्द्र, महेश र शैलेस खरेल छन्। महेश खरेल हाल पाँचखाल नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन्।
खरेलको निधनप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्। श्रद्धाञ्जली सन्देशमा उनले खरेललाई लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, निष्ठावान र अनुभवी राजनीतिज्ञका रूपमा स्मरण गर्दै उनको त्याग, समर्पण र संघर्ष पार्टीको इतिहासमा सधैं स्मरणीय रहने बताएका छन्।
