महाधिवेशनका करिब ४१ सय प्रतिनिधि तथा सहभागीको खानपान व्यवस्थापनका लागि नारायणगढस्थित दियालो फुडल्यान्डले दैनिक ८ क्विन्टल खसीको मासु तयारी गरेको छ।
भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनका करिब ४१ सय प्रतिनिधि तथा सहभागीको खानपान व्यवस्थापनका लागि नारायणगढस्थित दियालो फुडल्यान्डले दैनिक ८ क्विन्टल खसीको मासु तयारी गरेको छ।
तीन दिनसम्म सञ्चालन हुने खानपान सेवाका लागि करिब २०० कर्मचारी परिचालन गरिएको फुडल्यान्डका प्रबन्ध निर्देशक रमेश अधिकारीले बताए।
बिहान ७ बजेदेखि नास्ता, दिउँसो १ देखि २:३० बजेसम्म खाना, ३ देखि ५ बजेसम्म हाइटी तथा साँझ ६ देखि ९ बजेसम्म बेलुकाको खाना उपलब्ध गराइने उनले बताए। बिहानको नास्तामा खसीको मासु र भात राखिएको छ।
फुडल्यान्डका अनुसार बिहान र बेलुकाको खानामा कम्तीमा १० प्रकारका परिकार राखिनेछन्। जिरा राइस, दाल, तरकारी, अचार, सलाद र दहीसँगै मासु नखाने प्रतिनिधिका लागि पनिर, च्याउ र मौसमी तरकारीको व्यवस्था गरिएको छ।
महाधिवेशनस्थलमै प्रत्यक्ष खाना पकाइने र १५ वटा सेवा स्टलबाट दुवैतर्फबाट खाना लिन मिल्ने व्यवस्था गरिएको छ।
प्रतिनिधिलाई खाना वितरणका लागि कुपनको व्यवस्था गरिएको छ भने आवास खर्च उनीहरूले आफैं व्यहोर्नुपर्नेछ।
