महाधिवेशनका लागि प्रधानमन्त्री, सभापति, गृहमन्त्रीलगायत नेताहरूको लटौली रिसोर्टमा एकै साथ बास, होटलले अन्य बुकिङ रद्द गरेर तयारी गरेको छ ।
What you should know
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनस्थलभन्दा टाढाको रिसोर्टमा बास बस्ने भएका छन् ।
श्रीमती र छोरीसहित आइतबार बिहान भरतपुर विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री शाह सिधै कालिका नगरपालिका–९, स्थित लटौली स्यान्चुरी रिसोर्टमा पुगेका थिए । केही घण्टा सोही ठाउँमा समय बिताएका प्रधानमन्त्री शाह पार्टी सभापति रवि लामिछानेसँगै महाधिवेशनको समुद्घाटनस्थल पुगेका थिए । झमझम परेको पानीको बीच दुवै नेता छाता आढेर मञ्च पुगेका थिए ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेको रास्वपाका दुई मुख्य नेता सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह बास पनि एकै ठाउँमा बस्ने छन् । सभापति लामिछाने, प्रधानमन्त्री शाह, गृहमन्त्री सुधन गुरुङलगायतका मुख्य नेताहरु लटौलीमै तीन दिन सँगै बास बस्ने स्रोतले बतायो । उनीहरुका लागि यो रिसोर्ट नै बुकिङ गरिएको छ ।
भरतपुरबाट २० किलोमिटर उत्तरतर्फ शक्तिखोर बजार नजिकै खुलेको लटौलीमा प्रधानमन्त्री, सभापति र गृहमन्त्रीसहित ३५ जनाभन्दा बढी बास बस्ने छन् । प्रधानमन्त्री पुग्नुअघि नै शनिबार सुरक्षा निकायले रिसोर्टमा पुगेर जाँच गरेको थियो ।
प्रधानमन्त्री निवास वा पार्टीबाट नभई व्यक्तिबाट लटौली स्यान्चुरी आइतबारदेखि तीन दिनका लागि बुक गरिएको छ । यो रिसोर्टमा १६ वटा कोठा रहेका छन् । कुल क्षमता ३२ जना भए पनि केही थप व्यक्ति बस्न मिल्ने गरी बनाइएको छ ।
तीन वर्षदेखि होटल निर्माणको काम भए पनि डेढ महिनाअघिदेखि यो रिसोर्ट संचालनमा आएको छ । रिसोर्टमा एउटा कोठाको एक रातको २५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । तर अहिले रिसोर्ट उद्घाटनको अवसरमा १९ हजार रुपैयाँसम्मको प्याकेज छ । स्रोतका अनुसार, रास्वपाका नेताहरुका लागि प्योकज शुल्कभन्दा धेरै कम मूल्यमा रिसोर्ट बुक गरिएको छ ।
प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति होटलमा बास बस्ने तय भएपछि होटलले ८ जना सेवाग्राहीको बुकिङ रद्द गरेको थियो ।
