‘कोत पर्वमा’ कति मानिस मारिएका थिए ?

इतिहासकार प्राडा रमेशकुमार ढुङ्गेलले ऐतिहासिक दस्ताबेजका आधारमा कोत पर्वमा हजारौं नभई २१ देखि ४० जनामात्र मारिएको दाबी गरेका छन् ।

असार ७, २०८३

समर्पण श्री

How many people were killed during the 'Kot Festival'?

What you should know

काठमाडौँ — नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमयी घटनाका रूपमा हेरिने 'कोत पर्व' मा वास्तवमा कति मानिस मारिएका थिए ? जनश्रुतिमा हजारौं मारिएको चर्चा हुन्छ । तर इतिहासकारहरू भने यसलाई स्वीकार गर्दैनन् ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो । श्री ३ जङ्ग संस्था, नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आयोजित 'नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा' विषयक कार्यक्रममा विशिष्ट इतिहासकार, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूले जंगबहादुरको ऐतिहासिक योगदान, भ्रम र कूटनीतिक चातुर्यताबारे नयाँ तथ्यहरू अघि सारे ।

कार्यक्रमका वक्ता इतिहासकार प्राडा रमेशकुमार ढुङ्गेलले ऐतिहासिक दस्ताबेजहरूलाई उद्धृत गर्दै कोत पर्वमा हजारौं मारिएको कुरा सरासर भ्रमपूर्ण रहेको दाबी गरे । इतिहासको तथ्यगत पुनःमूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘कोत पर्वमा हजारौं मारिएको भनेर इतिहासलाई जुन रूपमा भ्रामक बनाइएको छ, त्यो गलत हो । ऐतिहासिक दस्ताबेजहरू र प्रमाणका आधारमा हेर्ने हो भने त्यहाँ जम्मा २१ देखि ४० जना मात्र मारिएका हुन् ।’

ढुङ्गेलले जङ्गबहादुरलाई अंग्रेजको दास भन्नु गलत रहेको तर्क गर्दै, अंग्रेजलाई सहयोग गर्ने बहानामा नेपालको आर्थिक क्षतिपूर्ति र 'नयाँ मुलुक' फिर्ताको कडा सर्त राखेको ऐतिहासिक तथ्य समेत प्रस्तुत गरे ।

यस्तै, पत्रकार देवप्रकाश त्रिपाठीले कोत र भण्डारखाल पर्वमा भएको हिंसालाई सत्ता प्राप्तिको तत्कालीन परिवेश र बाध्यतासँग जोडेर हेर्नुपर्ने धारणा राखे । जङ्गबहादुरलाई इतिहासमा खलनायकका रूपमा मात्र चित्रित गरिनु अन्यायपूर्ण हुने उनले बताए । त्रिपाठीले भने, ‘कोत र भण्डारखाल पर्वमा भएको हिंसा त्यसबेलाको सत्ता प्राप्तिको तत्कालीन परिवेश र राजनीतिक बाध्यता थियो । तर, इतिहासले के बिर्सिनु हुँदैन भने राष्ट्रिय हित र सार्वभौमसत्ताका मामिलामा जङ्गबहादुरले कहिल्यै कुनै पनि विदेशी शक्तिसँग सम्झौता गरेनन् ।’

कार्यक्रमकी प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इतिहासलाई प्रशंसा वा आलोचनाको रूपमा मात्र नहेरी तत्कालीन परिस्थिति र प्राप्त उपलब्धिहरूको आधारमा वस्तुगत र सन्तुलित दृष्टिकोणबाट मूल्याङ्कन गरिनुपर्ने बताइन् । राणा प्रधानमन्त्री जङ्गबहादुरले वि.सं. १९१० को मुलुकी ऐन जारी गरी राज्य सञ्चालनलाई निश्चित नियम र प्रक्रियामा बाँध्ने प्रयास गरेको उनले स्मरण गरिन् ।How many people were killed during the 'Kot Festival'?

तत्कालीन समाजमा व्याप्त सती प्रथालाई निरुत्साहित गर्न जंगबहादुरले प्रारम्भिक पहल गरेको र आफ्ना पत्नीहरूलाई सती जान नपर्ने व्यवस्था मिलाएको कुरालाई भण्डारीले सकारात्मक रूपमा उल्लेख गरिन् । १९औँ शताब्दीको औपनिवेशिक विस्तारको समयमा नेपालको स्वतन्त्र अस्तित्व कायम राख्नु र सन् १८५७ को विद्रोह दमनमा सहयोग गरेबापत 'नयाँ मुलुक' (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) नेपालमा फिर्ता गराउनु जंगबहादुरको कार्यकालको ठूलो राष्ट्रिय उपलब्धि भएको उनले बताइन् ।

प्राध्यापक डा. रामप्रसाद उपाध्यायले जङ्गबहादुरको युरोप यात्रा र कूटनीतिक चातुर्यका रोचक प्रसङ्गहरू सुनाए । सन् १८५० को बेलायत भ्रमणका क्रममा उनले एसियामै पहिलोपटक आफूलाई 'प्राइम मिनिस्टर' (प्रधानमन्त्री) का रूपमा चिनाएका थिए, जुन पदको अवधारणा त्यसबेला एसियामा अन्यत्र कतै थिएन । यो उनको कूटनीतिको एउटा उच्च नमुना भएकाले बेलायती गभर्नर जनरल डलौजी समेत उनीसँग प्रभावित भएका थिए ।

उपाध्यायले जङ्गबहादुरको मुख्य उद्देश्य पुर्खाले गुमाएको भूमि फिर्ता ल्याउनु रहेको बताए । बेलायत बसाइका क्रममा उनले महारानी भिक्टोरियालाई भेट्न २५ दिन पर्खनुपरेको थियो, किनकि महारानी त्यसबेला सुत्केरी थिइन् । अन्ततः उनले महारानीसँग ७ पटकसम्म भेटवार्ता गरे, जुन कुनै पनि विदेशी प्रधानमन्त्रीका लागि अत्यन्त दुर्लभ र सम्मानजनक अवसर थियो ।

कार्यक्रममा एउटा रोचक प्रसङ्ग उल्लेख गर्दै उपाध्यायले भने, ‘बेलायतमा जङ्गबहादुरले आफ्नो तरबार देखाउँदा एक सुरक्षाकर्मीले उनलाई रोक्न खोजेका थिए, जसमा जङ्गबहादुरले ती गार्डलाई तत्कालै भौतिक प्रतिकार गरेका थिए । पछि बेलायतीहरूले नै जङ्गबहादुरको उक्त कदमलाई सही भनेका थिए । उनको स्वाभिमान र वीरताको रूपमा स्वीकार गर्दै सम्मान गरेका थिए ।’

उपाध्यायका अनुसार बेलायतपछि जंगबहादुरले फ्रान्सको पनि भ्रमण गरेका थिए, जहाँ उनलाई नेपोलियन तृतीयले भव्य स्वागत गरेका थिए । उनले दुवै देशको सेनाको परेड हेरेर बेलायती सेना फ्रान्सेलीभन्दा बढी शक्तिशाली र व्यवस्थित भएको निष्कर्ष निकाल्दै राष्ट्रको वास्तविक शक्ति सेना नै हो भन्ने बुझेका थिए । १८५७ को भारतीय सिपाही विद्रोह दबाउन अंग्रेजलाई सहयोग गरेबापत उनले 'नयाँ मुलुक' फिर्ता ल्याउन सफल भए, जुन उनको सफल कूटनीतिको परिणाम भएको उपाध्यायको भनाइ थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले जङ्गबहादुरलाई धर्म र संस्कृतिको संरक्षकका रूपमा चित्रण गरे । गुरुङका अनुसार कोत पर्व र भण्डारखाल पर्व जस्ता रक्तपातपूर्ण घटनाको पाप पखाल्न जंगबहादुरले बागमती किनारको कालमोचन घाटमा सत्यनारायणको मन्दिर निर्माण समेत गराएका थिए ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully