जुगेडी संघर्षको ५ दशक : चेपाङ समुदायको त्यो सामूहिक प्रतिरोध

भोक, अन्याय र पिछडिएको जीवनसँग जुध्दै चेपाङ समुदायले चितवनको जुगेडीमा ५० वर्षअघि गरेको राजनीतिक संघर्षले उनीहरुको जीवनमा गहिरो छाप छाडे पनि विकास र परिवर्तनका अपेक्षा अझै अपुरा छन् ।

असार ६, २०८३

रमेशकुमार पौडेल

5 decades of the Jugedi struggle: The collective resistance of the Chepang community

What you should know

चितवन — नेपालको कम्युनिष्ट इतिहासमा चितवन जुगेडीमा ४९ वर्षअघि २०३४ असार ६ मा भएको संघर्ष कुनै न कुनै रुपमा जोडिएर आउँछ । बामपन्थीहरुको योजना र नेतृत्वमा भए पनि उक्त घटनामा आदिवासी चेपाङ समुदायको बाहुल्य थियो ।

पञ्चायती निर्दलीय शासनकालमा भएको उक्त घटनामा सरकारको कारवाहीमा मारिएका चेपाङ समुदायका दुई जना गणतन्त्र आएपछि सहिद घोषण भए । उक्त घटनापछि स्थानीय सुन्दर चेपाङ कम्युनिष्ट अगुवाको रुपमा उदाए । यो घटनाले भीरपाखामा बस्दै आएका, दुई छाक जुटाउनै धौधौ हुने चेपाङ समुदायमा राजनैतिक जागरण जोडिएको चेपाङ अगुवाहरुको अनुभव छ । 

‘जुगेडी संघर्ष’मा सामेल मध्येका डिलबहादुर प्रजा चेपाङ यस्तै यस्तै घटनाले देशमा राजनैतिक परिवर्तन भएको र चेपाङ गाउँमा थोरै भए पनि विकास पुर्‍याएको बताउँछन् । खान लाउन भएको दु:ख हटाउने उद्देश्यले जुगेडी संघर्ष भएको डिलबहादुर सुनाउँछन् । विसं २००२ सालमा जन्मेका डिलबहादुरका बुबाहरु सातभाइ थिए । जुगेडी संघर्षमा उनका एक काका दशरथ चेपाङको गोली लागेर ज्यान गएको थियो । डिलबहादुरसहित उक्त घटनामा दशरथका छोरा किष्टबहादुरसमेत सहभागी थिए । उनीहरु दुई जना धन्न जोगिए । 

5 decades of the Jugedi struggle: The collective resistance of the Chepang community

‘मकै–कोदो जे लगाए पनि फागुन/चैतपछि खाने कुराको महादु:ख हुन्थ्यो । फागुनमा रोपेको मकै चार/पाँच महिनापछि साउन अन्तिमतिर पाकेर स्याहार्नु पर्थ्यो । मकै नपाक्दासम्म महाआपत थियो,’ डिलबहादुरले सुनाए । 
चितवनको उत्तरी पहाडी भेग काउलेको हपनीमा उनीहरुका पिता पुर्खाले जंगल फाँडेर खेतिपाती सुरु गरेका थिए । तर जीवन सहज हुन सकेको थियो ।

अहिले बाटोघाटो बिजुलीको सुविधा पुगे पनि जान आउन सहर बजारको तुलनामा अझै सहज छैन । त्यो बेला झनै अन्धकार जस्तो थियो । त्रिशूली नदी आडको मुग्लिननजिकका कुरिनटार, फिस्लिङ या मौवाखोलाबाट ठाडो उकालो तीन/चार घण्टा हिँडेर गाउँ पुगिन्थ्यो । भरतपुर रत्ननगर तर्फबाट जुटपानी, शक्तिखोर, उपरदाङगढी हुँदै पहाडी बाटो दिनभर पैदल हिँडेर मात्रै यो क्षेत्र टेकिन्थ्यो ।

उपरदाङगढीदेखि उत्तरका मायाटार, हपनी, गुछिबाङ जस्ता पहाडी कुनामा २०३१ फागुनमा पुगे पश्चिम चितवन शुक्रनगरका नरेश शर्मा न्यौपाने । उनी थिए कम्युनिष्ट पार्टीका युवा सदस्य । पार्टीमा कालिदास नामले चिनिन्थे । तत्कालीन पञ्चायती शासकको नजरबाट जोगिन उनी नाम बदलिरहन्थे । पहाडी भेगका बासिन्दाले अहिले पनि उनलाई नरेश या कालिदास नभनी मदन नामले चिन्छन् । उनै मदन राजनैतिक कुरा गर्न आउने गरेको डिलबहादुरले सुनाए । 

5 decades of the Jugedi struggle: The collective resistance of the Chepang community

त्यो समय नेपालका कम्युनिष्टहरु अनेक धार र गुटमा विभाजित थिए । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँगै रहेका चितवनका रुपलाल विश्वकर्मा श्रेष्ठसँग अलग भएर जिल्ला तहका संगठन र संघर्षमा केन्द्रित हुन थाले । उनले ‘किसान संघर्ष समूह’ गठन गरेर गतिविधि अगाडि बढाए । विचारहरु प्रचार गर्न ‘किसान पत्रिका’ निकाले । 

किसान पत्रिका समूहको नामले पनि चिनिने संगठनलाई जिल्लाको विकट पहाडी भेगमा फैलाउने दायित्व मदनको थियो । पहाडी भेग चण्डिभञ्जयाङ र काउलेमा उनले आफ्ना गतिविधि बढाए । स्थानीय समुदायलाई संगठित गरेर राजनैतिक कक्षा चलाउनु र अरु बेला उनीहरुकै सहयोगी बनेर गाउँमा घाँस दाउरा, खेतीकिसानी, हली गोठालो बन्नु उनको दैनिकी थियो । यो ठाउँमा राज्यको उपस्थिति थिएन ।

स्थानीयले मदन भनेर चिन्दै आएका नरेशले भरपर्दो स्थानीय सहयोगी पाएका थिए, मायाटारका सुन्दर प्रजा चेपाङ । सुन्दरले नेपाली भाषा बुझ्थे । गाउँमा नेपाली भाषा नबुझ्नेहरु धेरै थिए । नरेशले सुन्दरलाई सिकाउँथे, सुन्दरले गाउँलेहरुलाई । कुरा बुझेपछि स्थानीयले समिति बनाए । समितिमा गाउँका समस्याहरुका बारेमा छलफल हुन्थ्यो । ‘मैले राजनैतिक विचार सुनाउँथे । संगठन बनाउँथे । स्थानीय मुद्दा र समस्याका बारेमा उनीहरु नै छलफल र निर्णय गर्थे,’ नरेशले सुनाए । संगठनले बनाएको एरिया समितिले त्यो क्षेत्रका मुद्दाहरुलाई पहिल्याउने र समस्य बारे समाधान गर्ने विधि खोज्न थाल्यो । यही सिलसिलाले जुगेडी संघर्ष भएको न्यौपानेले बताउँछन् ।

5 decades of the Jugedi struggle: The collective resistance of the Chepang community

नारायगढ बजारदेखि १२ किलोमिटर उत्तर पश्चिममा छ जुगेडी । त्रिशूली नदीको किनारमा रहेको जुगेडी २०३६ सालपछि नारायणगढ–मुग्लिन सडक बनेर बजारका रुपमा विकसित भयो । तर त्यो बेला सामान्य पसल थिए । जसमध्ये धर्मलाल मुल्मीको किराना पसल अलि ठूलो थियो । काउलेको पश्चिमी भेगका साथै चण्डिभञ्ज्याङ र दाहाखानी पहाडका बासिन्दाको किनमेलको थलो जुगेडी थियो । ‘पसलवालाले अन्याय गर्छन्, उधारो दिए पनि महंगो लिन्छन् । पछि हाम्रा बाख्रा, कुखुरा, अन्नको सस्तो मूल्य गरेर कटाउँदै जान्छन् नपुगे ऋण चढाउँछन् भन्ने कुरा गाउँलेले गरेको सुनियो । यो अन्याय अत्याचार हो भनेर म सुन्दरलाई भन्थे, सुन्दरले गाउँलेलाई,’ न्यौपानेले सुनाए ।

पहाडमा चेपाङ मात्रै थिएनन्, गुरुङ र कतै विश्वकर्मा समुदाय पनि थिए । सबै संगठित गर्दै लगेपछि अन्यायका विरुद्ध संघर्ष गर्ने योजना बनेको न्यौपानेले बताए । पहाडमा जोसिला गीत र नारा तयार भएर गुञ्जिन थाले । तीमध्ये केही नाराहरु डिलबहादुरले अझै पनि बिर्सेका छैनन् । उमेरले ८० नाघे पनि ती दिन सम्झदा डिलबहादुर युवा अवस्थामा फर्कन्छन् । 

अनिकालका बेला उधारोमा ल्याएको अन्न पछि ब्याजसहित तिर्ने परिपाटी मास्नका लागि व्यवस्था नै बदल्न पर्छ भनेर सिकाउने गरेको डिलबहादुरले सुनाए । तर यसका लागि संघर्षको सुरुवात गर्दै जानुपर्नेमा मदन, सुन्दरहरुले जोड दिन्थे । गाउँलेले मदन भनिने नरेश न्यौपानेले के विषयमा, के कसरी संघर्ष गर्ने भनेर एरिया समितिले नै निर्णय गर्ने परिपाटी रहेको बताए ।

भीमबहादुर गुरुङको अध्यक्षतामा बनेको एरिया समितिमा सुन्दर र भक्तबहादुर गरेर दुई जना चेपाङ सदस्य थिए । उक्त समितिले जुगेडीका साहु धर्मलाल मुल्मीविरुद्ध कारवाही गर्ने निर्णय गरेको नरेश सुनाउँछन् । ‘एक वर्ष पहिला मुग्लिन हान्ने भन्ने रहेछ । तर के कसो भयो पछि फेरि जुगेडी जाने सल्लाह भयो । योजना बनाउने निर्णय गर्न एरिया समिति स्वायत्त थियो,’ नरेशले सुनाए ।

त्यसलाई स्वीकृति भने जिल्ला तह हुँदै माथिल्लो तहले गर्थ्यो । त्यो बेला देशमा राजनैतिक गतिविधि र संगठन खोल्न बन्देज थियो । यसो गर्नेविरुद्ध सरकारले मुद्दा लगाउने जेल सजाय गर्ने नीति लिएको थियो । त्यसैले उपल्लो तहका नेता भारत बिहारको दरभंगामा बस्ने गरेको र उतबाट स्वीकृति आएपछि जुगेडी संघर्ष कार्यान्वयनमा गएको नरेशले सुनाए । 

डिलबहादुरको हपनी गाउँमा २०/२२ घर थिए । प्राय: जुगेडी जाने भए । सबैलाई राजनैतिक तवरमा घटनाबारे बुझाइएको पनि थिएन भन्छन् डिलबहादुर । जुगेडी जाने, संगठनले उधारोमा सामान जुटाइदिन्छ । त्यसको बढी मूल्य र ब्याज लाग्दैन, पछि आफ्नो उत्पादन बेचेर ढुक्कले माघ, फागुन, चैतसम्म तिरे हुन्छ भनेर पनि गाउँलेलाई लगिएको  थियो ।

डिलबहादुरका भाइ दशरथ चेपाङका छोरा किष्टबहादुरले पनि यही बुझेका थिए । बिहानै हिँडे पनि उसै दिन जुगेडी पुग्न सम्भव थिएन । सयौं स्थानीयलाई समेटेर गर्ने संघर्ष बजार गएर फर्के जस्तो सजिलो हुँदैन थियो । त्यसैले सबेरै जाने, राति बास बस्ने र भोलिपल्ट सबेरै कारवाही गर्ने योजना थियो । ‘मकैमा भर्खर दुध पसेको थियो । तिनै मकै पोलेर खानलाई झोलामा राख्यौंं । गाइ फुकाउने बेलामा हिँडेका हौं । बिहानको ९/१० बजेको थियो कि?’ डिलबहादुरले सुनाए । 

हपनी पूर्वको हात्तीबाङ, दक्षिणको गुछीबाङ, अनि अगाडिका दुमकिम, मायाटार, चण्डिभञ्जयाङ, दाहखानीका चार सय जनाको लहर अगाडि बढ्यो । उक्त लहरमा केही गुरुङ र विश्वकर्मा समुदायका व्यक्ति भए पनि सबैभन्दा धेरै चेपाङ रहेको डिलबहादुर बताउँछन् । साँझ परेपछि जुगेडी आडको दाहाखानी गाउँमा बास पर्‍यो भन्छन् किष्टबहादुर चेपाङ । 'तर पानी निकै पर्न थाल्यो । भोलिपल्ट उज्यालो हुने बेलामा पनि पानी निकै पर्‍यो । नेताहरु उठ उठ भन्दै आए । गाउँलेहरु पानी परेको छ के गर्ने होला भन्न थाले । हैन पानी परे झनै राम्रो हो जानु पर्छ भनेर नेताले हौसला दिए,’ किष्टबहादुरले भने, 'हिँड्न थालेपछि केही गाउँले झाडीभित्र लुक्न थाले । नेताहरुले लाइट बालेर खोज्दै सबैलाई निकालेर लाइन लगाएर अगाडि बढाए ।'

नरेशका अनुसार राति रुपलाललगायतका नेता भरतपुरबाट दाहाखानी उक्लेका थिए । घटनालाई परिणाममूखी बनाउन विभिन्न योजनामा छलफल भयो । त्यही अनुसार जुगेडी बजारको वस्तुस्थिती बुझ्न उज्यालो नहुँदै एउटा टोली गएको थियो । त्यो टोलीले हुन्छ भनेपछि सबैलाई जुगेडी ओरालेको नरेशले सुनाए ।

इतिहास विषयका प्रध्यापक रहेका र इतिहासमै विद्यावारिधी गरेका राजेन्द्रप्रसाद रेग्मीको पुस्तक ‘नेपालको राजनीतिमा रुपलाल विश्वकर्मा’मा उल्लेख भए अनुसार २०३४ असार ६ गते बिहान ५ बजे जुगेडी बजारमा झण्डै चार सय जना जम्मा भएको उल्लेख छ । हातमा लठ्ठी मात्र थिएन उनीहरुले खुकुरी र खुर्पा पनि बोकेका थिए । त्यसले बजारमा त्रासको माहौल बन्यो । फिल्ड कमाण्डर भएका न्यौपानेले पहिलो सिट्ठी फुकेपछि सामान संकलन गर्ने, दोस्रो सिट्ठी बजाएपछि समाना बाँध्ने र तेस्रो सिट्ठीमा हिँडी हाल्ने भन्ने थियो । लठ्ठी घुमाउँदै बजार निस्केका गाउँलेहरुले पहिलो सिट्ठीपछि पसलको सामान झिक्न थाले । संयोगवश पसलधनी धर्मलाल मुल्मी थिएनन् । उनको गोदामका अन्नपात गाउँलेले धमाधम बोरामा भर्दै डोकोमा राख्न सुरु गरे ।

आडमा सानुलाल जोशीको कपडा पसल थियो । धर्म साहुबाहेक अरु पसल के गर्ने पार्टीको योजना र निर्णय थिएन । तर गाउँलेहरु सो पसलबाट पनि कपडा झिके । फिल्ड कमाण्ड न्यौपानेको दोस्रो र तेस्रो सिट्ठी बज्यो । सिट्ठीको ताल अनुसार सबै भयो । तेस्रो सिट्ठी बजेपछि गाउँलेहरु सामान बोकेर डाँडो उक्ले । पसलमा गाउँलेहरु पसेपछि सानुलाल जोशी दौडेर नारायणगढ लागेका थिए । 

सके जति सामान बोकेर गाउँलेहरु दुई घण्टा परको सिमलचौर डाँडामा भारी बिसाए । फिल्ड कमाण्डर न्यौपानेको योजना त्यहाँदेखि केही परको दाहाखानी चुली पुगेर सामाना बाँडफाँड गर्ने भन्ने थियो । त्यहाँ गएको भए बाहिरका मान्छे पुग्न गाह्रो हुन्थ्यो । तर सबै सिमलचौरमै बसे । सामान फुकाएर बराबर भाग लगाउन थाले । उता सानुलाल जोशीबाट प्रहरीले घटनाको सूचना पाइसकेको थियो । ‘सामान जम्मा गरेर बाँडफाँड गर्न लागे । दुई/चार जनालाई बाटोतिर हेर्ने जिम्मा थियो । हामी सामान बटुल्दै थियौं उनीहरु त लौ प्रहरी आयो भन्न थाले,’ किष्टबहादुरले सुनाए, 'के गर्ने कसो गर्ने भन्ने निधो नहुँदै प्रहरी सामुन्ने नै आयो । नजिकै आएको प्रहरीले सुरुमा आकाशतिर ताकेर गोली चलायो । गोली चलेपछि सामान छाडेर सारा गाउँलेहरु भाग्न थाले ।'

भाग्दा कोही भीरबाट लडे, कोही ढुंगामा ठोक्किए । दौडादौड गरेर ज्यान जोगाइएको किष्टबहादुरले सुनाए । उनका बुबा दशरथ नभागेर रुख चढे । प्रहरीले गोली हानेपछि उनको घटनास्थलमै निधन भयो । सो घटनामा किष्टका बाबु डिलबहादुरका काका दशरथसहित दुई जना चेपाङ मारिए । 

सरकारले विस २०७९ फागुन २९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर चितवन खण्डको ८४ नम्बरमा सन्तबहादुर चेपाङ र ८५ नम्बरमा दशरथ चेपाङको नाम छ । जुगेडी घटनामा मारिएका उनीहरु दुई जनालाई तत्कालीन सरकारले २०६५ पुस ९ मा सहिद घोषणा गर्ने निर्णय गरेको थियो । त्यसको चार वर्षपछि उनीहरुको नाम राजपत्रमा प्रकाशित भएको हो ।

5 decades of the Jugedi struggle: The collective resistance of the Chepang community

रेग्मीको पुस्तकमा उल्लेख भए अनुसार घटनामा सात जना पक्राउ परेका थिए । तर स्थानीय चेपाङ अगुवा सुन्दर चेपाङसहित धेरै लुकीलुकी जोगिए । सुन्दरको चार वर्षअघि निधन भयो । रुपलाल विश्वकर्माले किसान संघर्ष समूहमार्फत स्थानीय संघर्ष गर्दै जाँदा अन्य संगठनसँग एकता गर्दै गए । त्यसपछि नेपाल मजदुर किसान संगठन, नेपाल सर्वहारावादी श्रमिक संगठन जस्ता पार्टी गठन भए । जुगेडी, जुटपानी जस्ता किसान संघर्ष र ‘जनावादी क्रान्ति गर्न सेना तयार गर्न’का लागि आर्थिक स्रोत जुटाउन गरिएको पुर्तीघाट बैंक कब्जाको घटनाले रुपलाललाई राजनैतिक क्षेत्रमा परिचित गरायो । सुन्दर चेपाङ नेपाल मजदुर किसान संगठन र सर्वहारावादी श्रमिक संगठनको पनि केन्द्रीय सदस्य भए । तर दोस्रो बिहे गरेपछि कारवाहीमा परे । त्यसअघि जुटपानी संघर्षका बेला उनी निराश थिए ।

पार्टीमा उनीसँग काम गरेका सूर्य मगरले दोस्रो जुटपानी संघर्षपछि सुन्दर निराश बनेको र त्यसपछि दोस्रो बिहे गरेका बेला पार्टीले कारवाही गरेका कारण निस्क्रिय जस्तै रहेको बताए । दुई श्रीमतीबाट चार छोरा र आठ छोरी भए । सुन्दरका ३७ वर्षीय छेठा छोरा आश्मान चेपाङ अहिले पनि गाउँमा छन् । आश्मानले बुबालाई सबैले नेता भन्ने गरेको तर आफुलाई खासै जानकारी नभएको बताए । 

लेखक रेग्मीको पुस्तकमा उल्लेख भए अनुसार जुगेडी घटना भएपछि २०३४ असार ११ को गोरखापत्रमा २५० भन्दा बढी डाँका जमातले दुईवटा पसल लुटेको र तीन कोष परको सिमल भञ्ज्याङमा लगेर बाँड्न लाग्दा प्रहरीसँग मुठभेड भएको समाचार प्रकाशित भएको थियो । प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको र एक जनाको मृत्यु भएको र डाँकाहरु तितरबितर भएको समाचारमा उल्लेख थियो ।

त्यसपछि साउन ११ मा  गोरखापत्रमै उक्त घटना अवाञ्छित तत्वको बहकाउमा परी भएको भनेर समाचार छापिएको रेग्मीले पुस्तकमा लेखेका छन् । समाचारको अन्त्यमा त्यहाँका चेपाङ समुदायको खाद्यान्न समस्या समाधान गर्न सरकारले दुई सय क्विन्टल चामल पठाएको रेग्मीले पुस्तकमा समेटेका छन् । खाद्यान्न समस्याको परिणामले जुगेडी घटना भएको तथ्य अप्रत्यक्ष भए पनि सरकारले स्वीकार गरेको रेग्मीको मत छ । 

२०४८ सालमा रुपलालको कम्युनिष्ट घटकसहित एकीकृत भएर गठन भएको नेकपा (एकता केन्द्र)ले जुगेडी घटना भएको दिनको सम्झनामा किसान दिवसका मनाउन सुरु गर्‍यो । एकता केन्द्रबाट छुटिए पनि पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन माओवादीले पनि यस घटना भएको दिनलाई किसान दिवसकै रुपमा मानउने गरेको थियो । 

त्यतिबेला नेपाल मजदुर किसान संगठनले पिछडिएको जातिको परम्परागत सोचाइ र कार्यमा परिवर्तन गरी सर्वहारावादी चिन्तनमा भएको कारवाही भनेर दाबी गरे पनि यो घटनाले चेपाङ समुदायलाई कस्तो प्रभाव पार्‍यो ? घटनामा कसैले ज्यानै गुमाए, कोही पक्राउ परेर कारगाार बसे । जोगिन खोज्नेहरु लुक्दै हिँड्नु पर्ने बाध्यतामा परे । किष्टबहादुर चेपाङले आफ्ना पिता नै गुमाए ।

जुगेडी घटना लगत्तै उक्त पार्टीबाट अलग भएका नरेश न्यौपाने त्यस्तो खालको संघर्ष भन्दा गाउँलेलाई राजनैतिक रुपमा प्रशिक्षित गर्दै लैजान सकेकाे भए राम्रो हुने बताउँछन् । ‘राजनैतिक प्रशिक्षणका साथै स‌ंघर्ष र उत्पादनसँग पनि जोड्न आवश्यक थियो । त्यहाँ हुने फलफूल, तरकारी, बाख्रा कुखुरायता ल्याएर बेच्न सकिन्थ्यो,’ न्यौपानेले भने । अन्यत्र नभए पनि अहिले हपनी गाउँमा व्यवसायिक तरकारी खेती राम्रो फष्टाएको छ । तर यो परिवर्तन दलका कारणले हैन संघसंस्थाले गर्दा भएको डिलबहादुर प्रजा चेपाङ बताउँदछन् । 'अहिले बाटो, बिजुलीको सुविस्ता थपियो । तर ५० वर्षको दौरानमा चेपाङ गाउँमा धेरै परिवर्तन भइसकेको छैन,' उनी भन्छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully