खैरो हेरोइन कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् ।
काठमाडौँ — ललितपुरको बालकुमारीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले गोली चलाएर खैरो हेरोइन कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरिएको ब्युरोका एसएसपी सुवास बोहोराले कान्तिपुरलाई बताए ।
गोली लागेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ । अरुलाई गोली लागेको छैन ।
उनीसँगै प्रहरीले उनका साथी २५ वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका–३ घर भएका १८ वर्षीय निरजकुमार मण्डललाई पक्राउ गरेको छ । उनीहरुको साथबाट लागुऔषधसमेत बरामद भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसएसपी बोहोराले बताए ।
