समयसँगै अधिवेशनस्थलका रूप फेरिए पनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलका महìवपूर्ण क्षणको साक्षी बन्ने अवसर चितवनले पाइरहेको छ
What you should know
चितवन — देशशको लगभग मध्यभागमा रहेको चितवन राजनीतिक दलका महाधिवेशन जस्ता ठूला कार्यक्रमका लागि छनोटमा पर्दै आएको छ । गत निर्वाचनमा विशाल जनमतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि महाधिवेशनका लागि चितवनलाई रोजेको छ । रास्वपाको पहिलो महाधिवेशन यही ७–९ असारमा हुँदै छ ।
यसअघि २०७८ मंसिरमा नेकपा एमालेले चितवनमै दसौं राष्ट्रिय महाधिवेशन गरेको थियो । विभिन्न कम्युनिस्ट घटकबीच एकीकरण भएर बनेको एकता केन्द्रको महाधिवेशन पनि २०४८ को मंसिरमा यहीं भएको थियो । एकता केन्द्रमा आएको फुटले माओवादी गठन भयो । माओवादीको पहिलो सम्मेलन पनि चितवनमै भएको थियो ।
राजतन्त्र अन्त्यको लक्ष्य र सशस्त्र संघर्षलाई राजनीतिक कार्यक्रम बनाएका कम्युनिस्ट घटकहरूले २०४८ सालमा महाधिवेशन गर्दा भूमिगत शैली अपनाएका थिए । ३४ वर्षअघि एकता केन्द्रको महाधिवेशन हुँदा सरकारी निकायले कार्यक्रमको सुइँको नपाओस् भन्नका लागि अनेक जुक्ति लगाउनुपरेको थियो । त्यतिबेला चितवनको दक्षिणी भेग माडीको पनि दक्षिणी कुनो शीतलपुरमा अधिवेशन भएको थियो । उक्त अधिवेशन व्यवस्थापन समितिका सदस्य रहेका गोपीलाल देवकोटा हाल भरतपुर बस्छन् ।
पहिला उनको घर शीतलपुरमै थियो । महाधिवेशनका लागि छाप्रा तयार गर्न जंगल गएर छानो छाउन थाकल, काठका खाँबा, बला र डाँडाभाटा जुटाएको उनले बताए । शीतलपुर पुग्न भरतपुरबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको चिरौलीबाट भित्र जानुपर्थ्यो । मंसिरमा महाधिवेशन तय भएको थियो । छाप्रा बनाउन एक महिनादेखि जंगल गएर सामान जुटाउन सुरु गरेको देवकोटाले बताए ।
‘हामी जंगलमा खाँबा, डाँडाभाटा र छाउने खर अर्थात् थाकल काट्थ्यौं । यता गाउँमा ल्याउँदैन थियौं । किन ल्याए, के गर्न ल्याए भन्ने चर्चा हुन्थ्यो । त्यसैले जंगलमा नै राख्थ्यौं, महाधिवेशनको अघिल्लो दिनमात्र छाप्रा बनाउन थाल्यौं,’ देवकोटाले भने ।
तत्कालीन कम्युनिस्ट घटकहरू नेकपा (चौम), नेकपा (मसाल), सर्वहारावादी श्रमिक संगठन, बाबुराम भट्टराई नेतृत्वको नेकपा (मसाल) र नेकपा जनमुखी मिलेर एकता केन्द्र निर्माण भएको थियो । निर्मला लामा, पुष्पकमल दाहाल, रूपलाल विश्वकर्मा जस्ता चर्चित नेताहरू रहेको उक्त पार्टीको अधिवेशन १६ मंसिरमा सकिएको थियो । तर पार्टी एकतासँगै मतान्तर सुरु भयो ।
सैद्धान्तिक मतभेदहरू सुरु भएपछि एकता केन्द्रका ३७ केन्द्रीय सदस्यमध्ये १९ जनाले नेकपा माओवादी गठन गरेको एकता केन्द्रका तत्कालीन केन्द्रीय सदस्य फणीन्द्र आचार्यले बताए । आचार्य पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको नेकपा माओवादीमा लागे । पार्टीको नाम माओवादी राख्ने सम्मेलन पनि जेठ २०५१ मा पूर्वी चितवनको ज्यामिरेस्थित एक पोल्ट्री फार्ममा भएको आचार्यले बताए । सोही पार्टी (माओवादी) को नेतृत्वमा १ फागुन २०५२ बाट सशस्त्र संघर्ष सुरु भयो ।
नेपाल कम्युनिस्ट पार्टीले तेस्रो महाधिवेशन गर्न चितवनलाई छनोट गरेको थियो । चितवनको कम्युनिस्ट इतिहासबारे सोध गरेका इतिहास विषयका अवकाशप्राप्त प्राध्यापक राजेन्द्रप्रसाद रेग्मीका अनुसार नेपाल कम्युनिस्ट पार्टीको वि.सं. २०१७ भदौमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको तेस्रो महाधिवेशन ७ फागुन २०१७ बाट चितवनको नारायणगढमा गर्ने निर्णय गरेको थियो । तर राजा महेन्द्रले त्यसअघि नै १ पुसमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै संसद् विघटन र दलमाथि प्रतिबन्ध लगाएपछि चितवनमा महाधिवेशन हुन सकेको थिएन ।
एमालेले २०७८ मा १० देखि १२ माघसम्म चितवनमा १०औं महाधिवेशन आयोजना गर्यो । एमालेको महाधिवेशनको उद्घाटन कार्यक्रम नारायणगढको नारायणी किनारमा र बन्दसत्र पर्यटकीय क्षेत्र सौराहामा भएको थियो । उद्घाटन कार्यक्रममा नारायणी किनार ढाक्ने गरेर मान्छेहरू आएका थिए । पाँच सय जना अट्ने विशाल मञ्च, कार्यक्रमस्थलमा ठूल्ठूला डिजिटल डिसप्लेबोर्ड राखिएका थिए ।
सौराहाको बन्दसत्र स्थल पनि टेन्ट टाँगेर तयार भएको थियो । दुवैतर्फ मञ्च निर्माणमा मात्रै ५० लाख रुपैयाँ खर्च भएको त्यतिबेला एमाले नेता विनोद श्रेष्ठले जानकारी दिएका थिए । एमालेकी तत्कालीन जिल्ला अध्यक्ष पार्वती रावलले कोरोनाका कारण शिथिल भएको पर्यटन व्यवसायलाई एमालेले चितवनमा महाधिवेशन राखेर थोरै भए पनि गति दिएको सम्झना गरिन् । ‘बुटवलमा राख्ने भनेको महाधिवेशन चितवन राख्न जोड गरेको हो । राजनीतिक कार्यक्रम त्यो बेला पर्यटनसँग पनि जोडिने अवसर बनेको थियो,’ नेता रावल भन्छिन् ।
रास्वपाले पनि आइतबारदेखि चितवनमा हुने महाधिवेशनका लागि तयारी पूरा गरेको छ । पार्टीको उद्घाटन र बन्दसत्र गर्न यो बेला ठूलो चुनौती बर्खा र गर्मीकै छ । पहिला रत्ननगर टाँडीमा होटल स्टारको खुला चौरमा बाँसको पण्डाल बनाएर कार्यक्रम गर्ने निश्चित भएको थियो । तर पछि सुरक्षालगायत कारण देखाएर भरतपुरमा गर्ने निधो भयो । भरतपुरमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुँदै छ । स्थायी संरचना भएका कारण त्यहाँ घामपानीको दुःख छैन ।
जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको खुला ठाउँ गेस्टहाउस चौरमा हुने उद्घाटन कार्यक्रममा सहभागीलाई घाम र पानीबाट जोगाउन बलियो टेन्ट ‘जर्मन ह्यांगर’को व्यवस्था गरिएको छ । ‘जर्मन ह्यांगर’ लाई मिडिया स्पेस सोलुसनले आठ वर्षअघि नेपाल ल्याएको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका प्रदर्शनी र पार्टीका महाधिवेशनमा यसको प्रयोग भइसकेको छ । ‘जर्मन ह्यांगर’ अस्थायी तर बलियो टेन्ट हो ।
अल्मुनियमको संरचनामा ‘टेनसाइल फेब्रिक’को छानो हुन्छ । जसले गर्दा घाम, पानी, हुरीबतासका साथै आगलागीबाट पनि जोगिनेछ । मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार पाँच हजार कुर्सीका साथै बिना कुर्सी पनि बस्न मिल्ने गरेर उद्घाटनस्थलमा ‘ह्यांगर’ तयार गरिएको छ ।
महाधिवेशनमा आउने प्रतिनिधिका लागि होटलका करिब १५ सय कोठा आवश्यक पर्ने आवास तथा भोजन उपसमितिका संयोजक रहेका रास्वपा केन्द्रीय सदस्य राजन गौतमले बताए । भरतपुरमा धेरै होटल नभएका कारण सौराहा र जिल्लाका अन्य क्षेत्रका होटलमा प्रतिनिधिहरू राखिने उनले जानकारी दिए । गौतमका अनुसार प्रतिनिधिहरूले होटलको खर्च आफैं व्यहोर्नेछन् । खाना र खाजाको व्यवस्थापन भने पार्टीले गर्नेछ ।
महाधिवेशनको सुरक्षाका लागि १५ सय सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले यातायात व्यवस्थापनका लागि १ सय ६५ ट्राफिक प्रहरी खटिने जानकारी दिए ।
चितवनमा सामाजिक अध्ययन अनुसन्धानमा सक्रिय डीआर पोखरेल महाधिवेशन हुँदा राजनीतिक नेतृत्वको आँखामा उक्त ठाउँ पर्ने बताउँछन् । ‘जहाँ महाधिवेशन हुन्छ त्यहाँबाट तयार भएको नेतृत्वले र सिंगो पार्टी पंक्तिले त्यो ठाउँ सधैं ख्याल गर्छ । त्यसैले चितवनमा महाधिवेशन हुनु यहाँका लागि यस ठाउँका लागि राम्रो हो,’ पोखरेलले भने ।
