कछुवा उद्धार तथा संरक्षण केन्द्रमा देशमा पाइने कुल प्रजातिको ५० प्रतिशतभन्दा बढी करिब ५० वटा कछुवा संरक्षित छन् ।
काठमाडौँ — अर्जुनधारा नगरपालिका–९ मा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा १० प्रजातिका कछुवा संरक्षण गरिएको छ ।
मुलुकमा पाइने कछुवाका प्रजातिमध्ये झन्डै ८० प्रतिशत लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ ।
सुखानी सहिद स्मृति प्रतिष्ठान र ‘आर्को नेपाल’को सहकार्यमा सन् २०१२ मा झापामा स्थापित यस केन्द्रमा हाल देशमा पाइने कुल प्रजातिको ५० प्रतिशतभन्दा बढी अर्थात् १० प्रजातिका करिब ५० वटा कछुवा संरक्षित छन् । केन्द्रले सन् २०२० देखि अति सङ्कटापन्न अवस्थाको भुइँ कछुवा (ठोटरी) को सफल प्रजनन र उद्धार गरिएका कछुवाको प्राकृतिक वासस्थानमा पुनःस्थापना पनि गरेको आएको छ ।
कछुवा उद्धार तथा संरक्षण केन्द्रका प्रतिनिधि तपिलप्रकाश राईले जैविक विविधता र पारिस्थितिक प्रणाली सन्तुलनमा कछुवाको भूमिका महत्वपूर्ण हुने भएकाले यसको संरक्षण गरिएको बताए । 'जल र जमिनमा बस्ने कछुवाले खाद्य शृङ्खलामा सघाउँछन्,' उनले भने ।
जमिनमा बस्ने कछुवाले वनस्पतिका बीउहरू फैलाउन र सिमसारका कछुवाले अस्वस्थ जीवहरू खाएर पानी शुद्धीकरण गर्न मद्दत पुर्याउने उनले बताए । कछुवा भेटिएमा तुरुन्त डिभिजन वन कार्यालय वा संरक्षण केन्द्रमा खबर गर्न पनि उनले आग्रह गरे ।
