गुनासो टिपाउन १११२ नम्बरको टोलफ्री नम्बर, गुनासो डट मोहा डट जीओभी डट एनपी नामक इमेल, ९८५१३६०६०३ नम्बरको ह्वाट्सएप र क्यूआर कोड सार्वजनिक गरिएको हो ।
काठमाडौँ — गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बद्ध गुनासो, उजुरी तथा सुझाव लिन टोलफ्री नम्बर, इमेल, क्यूआर कोड र ह्वाट्सएप नम्बर सार्वजनिक गरेको छ । यसका लागि १११२ नम्बरको टोलफ्री नम्बर, गुनासो डट मोहा डट जीओभी डट एनपी नामक इमेल, ९८५१३६०६०३ नम्बरको ह्वाट्सएप र क्यूआर कोड सार्वजनिक गरिएको हो ।
यसमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारी नभएको, गुनासो सम्बोधन नभएको, प्रहरी कार्यालयमा जाहेरी दर्ता नगरिएको, कहीँ कसैले काम सम्पन्न गरिदिन्छु भनेर रकम माग गरेको, गृहमन्त्रीको सचिवालयमा कार्यरत छु भनेर धम्की दिने गरेको जस्ता सबै किसिमका गुनासा टिपाउन सकिने बताइएको छ ।
‘गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गरी मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउन हेलो गृह कल सेन्टर स्थापना गरिएको छ,’ गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उल्लिखित विभिन्न माध्यमबाट गुनासो, उजुरी तथा सुझाव पठाउन सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
