महाधिवेशनको उद्‌घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले संयुक्त रुपमा गर्नुहुनेछ : महामन्त्री शाह

रास्वपाको जन्म भएको ठाउँ भएकाले चितवनलाई नै पहिलो महाधिवेशन स्थलको रुपमा चयन गरेका हौं । एउटा आन्दोनबाट आएको रास्वपाको लागि चितवन उद्‌गम भूमि पनि हो ।

असार ५, २०८३

डीपी उपाध्याय

The general convention will be jointly inaugurated by President Rabi Lamichhane and senior leader Balendra Shah: General Secretary Shah

What you should know

चितवन — चितवनको गेष्टहाउस चोकमा पर्सी आइतबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन हुँदैछ । महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि र केन्द्रीय नेताहरू चितवन आउने क्रम जारी छ । यसै क्रममा रास्वपाका महामन्त्री भूपदेव शाह चिनवन आइपुगेका छन् । महामन्त्री शाहसँग महाधिवेशन तयारीलगायत विषयमा कान्तिपुर टेलिभिजनका प्रतिनिधि डीपी उपाध्यायले गरेको कुराकानीको अंश: 

रास्वपाको पहिलो महाधिवेशनलाई कसरी हेरिरहनु भएको छ ? 

रास्वपाको पहिलो महाधिवेशनले पार्टीलाई रिफर्म गर्ने, सुधार गर्ने अझ ससक्त बनाउने हिसाबले हेरेको छु ।

चितवन मै किन महाधिवेशन गर्ने निर्णय भयो ?

रास्वपाको जन्म भएको ठाउँ भएकाले चितवनलाई नै पहिलो महाधिवेशन स्थलको रुपमा चयन गरेका हौं । एउटा आन्दोनबाट आएको रास्वपाको लागि चितवन उद्‌गम भूमि पनि हो । पार्टीका लागि सबैभन्दा ठूलो उत्सव महाधिवेशन नै हो यसकारण चितवन हाम्रो छनौटमा परेको हो । चितवनको पनि कुन स्थान ठिक होला भनेर छलफलपछि गेष्ट हाउस चोक छनौट भएको हो । 

सबै महाधिवेशन प्रतिनिधिहरू कहिलेसम्म आइ पुग्छन् होला ? 

महाधिवेशन प्रतिनिधि व्यवस्थापनलगायत विषयमा हेर्ने हाम्रो उपसमिति छ । उक्त उपसिमितिले आज रातिसम्म प्रतिनिधिसँग सम्बन्धित सबै विषय टुङ्गाइसकेपछि यसबारेमा प्रष्ट हुन्छ । प्रतिनिधिका बारेमा भोलि चितवनमा बस्ने केन्द्रीय समिति बैठकले थप निर्णय गर्नेछ । ३ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू चितवन आउनुहुनेछ । उहाँहरू भोलि बेलुकीसम्म आइपुग्नुहुने छ । 

पहिलो महाधिवेशनको उद्‌घाटनको तयारी कस्तो छ ?

हाम्रा मुख्य दुई नेताहरू सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर उद्‌घाटन समारोह सुरु गर्ने तयारी छ । 

प्रधानमन्त्री शाह महाधिवेशनभर चितवनमै बस्नु हुन्छ की उद्‌घाटन गरेर फर्कनुहुन्छ ?

प्रधानमन्त्रीज्यू महाधिवेशनका लागि आवश्यक पर्ने अवस्थामा यही उपस्थित हुनुहुनेछ । उद्‌घाटनपछि बन्दसत्रसम्म उहाँ चितवनमै रहनुहुन्छ । 

उद्‌घाटन समारोहमा प्रधानमन्त्री शाहको सम्बोधन हुन्छ की हुँदैन ?

उहाँले उद्‌घाटन समारोहलाई सम्बोधन गर्नु हुन्छ । 

महाधिवेशनमा निर्वाचनको सम्भावन कत्तिको छ ?

जसरी निर्वाचनका बेला हामी सबै जना एकै ठाउँमा आएका कारण मतदाताले दुई तिहाइ नजिक मत दिए त्यसैलाई सम्मान गर्दै सहमतिबाटै प्रतिनिधि चयन गर्ने योजना छ । सहमित हुन नसके पनि लोकतान्त्रिक पद्धतिबाट प्रतिस्पर्धात्मक रुपमा साथीहरू आउनुहुने छ । 

तपाईं महामन्त्रीमै दोहोरिने हो ?

म अहिले महामन्त्री छु र फेरि पनि यही पदमा दोहोरिने सोच छ । निर्वाचन आचार संहिता लागिसकेका कारण यही पदमा दोहोरिने वा नदोहोरिने भन्न मिलेन ।

डीपी

Link copied successfully