इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।
काठमाडौँ — काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदनअनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो । इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित छविलाल जोशी, जीबी राई समेतलाई विपक्षी बनाइएको थियो ।
सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा लामिछानेलगायत प्रतिवादी रहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो । यसअघि पर्सा र रुपन्देही अदालतले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए ।
राई र लामिछानेलाई संयुक्त रूपमा ५ करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो कायम गरिएको थियो । जोशीलाई एकल रूपमा ५ करोड ७८ लाख ९६ हजार ४ सय ८० बिगो कायम गरी मुद्दा दायर गरिएको थियो ।
