यातायात कार्यालय पर्साका अधिकृत गौतम भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले विशेष अदालतले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमलराज गौतमलाई भ्रष्टचार मुद्दामा दोषी ठहर हुने फैसला सुनाएको हो ।

असार ५, २०८३

कान्तिपुर संवाददाता

Gautam, an official of the Transport Office in Parsa, was found guilty in a corruption case.

काठमाडौं — विशेष अदालतले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमलराज गौतमलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई दोषी ठहर हुने फैसला सुनाएको हो । 

गौतमले २०५५ देखि २०७९ सालसम्म पदमा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

अख्तियारले गौतमको वैधानिक कुल आय २ करोड ८९ लाख रुपैयाँ देखिएकोमा घर निर्माण, जग्गा खरिद, सवारी साधन, जनक शिक्षा सामग्रीको ऋण भुक्तान, सेयर खरिद, बैंकमार्फत् लगानी, सुन खरिद बीमालगायतमा ५ करोड ४० लाख रुपैयाँ रहेको देखिएको दाबी गरेको थियो । 

साढे २ करोड रुपैयाँभन्दा बढी अवैध रकम देखिएपछि अख्तियारले उक्त रकम जफतसहित ३ वर्षसम्म कैदको मागदाबी गरेको थियो ।

अदालतले गौतमलाई १ वर्ष कैद र १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँभन्दा बढी जरिवानाको फैसला सुनाएको हो । अदालतले गैरकानूनी रूपमा आर्जन गरिएको बिगो बराबरको सम्पत्ति जफत हुने फैसलामा भनेको छ ।

कान्तिपुर

Link copied successfully