शुक्रबार डिजिटल माध्यामबाट सदस्यता नवीकरण अभियान सुरु गर्दै दाहालले बजेट उच्च वर्गको हित गर्न केन्द्रित भएको समेत बताए ।
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट गरिब किसान, मजदुरविरुद्ध भएकाले त्यसविरुद्ध सडक र सदनमा आवाज उठाउने बताएका छन् ।
शुक्रबार डिजिटल माध्यमबाट सदस्यता नवीकरण अभियान सुरु गर्दै उनले बजेट उच्च वर्गको हित गर्न केन्द्रित भएको समेत बताए । ‘सरकारको नीति तथा कार्यक्रम, बजेट नेपालका गरिब, किसानविरुद्ध छ भन्ने प्रष्ट देखिएको छ । उत्पीडित समुदायविरुद्ध छ । उच्च वर्गको हित गर्न केन्द्रित छ,’ उनले भने, ‘सरकारको बजेट श्रमिक वर्ग, गरिब, मजदुर किसान विरोधी, जनताको मौलिक अधिकार, ट्रेड युनियन अधिकारविरुद्ध सबै मोर्चाबाट आवाज उठाउनु पर्नेछ । क्रमशः सदन र सडकबाट यो कोसिस अघि बढाइरहेका छौं । सदनमा सबै पतिपक्षलाई एक ठाउँमा केन्द्रित गरेर जाने कोसिस छ । यो कुरा बिस्तारै जनताले बुझ्दै जानेछन् ।’
उनले नेता झनाथ खनालले राखेको असहमतितर्फ संकेत गर्दै अरुको इशारामा पार्टी कमजोर पार्ने प्रयास भइरहेको बताए ।
‘कतिपय मानिसहरू पार्टी र नेतृत्वविरुद्ध अनावश्यक कचिंगल गर्ने कोसिसमा छन् । प्रतिक्रियावादीले लोकतन्त्र र गणतन्त्रको निम्ति संघीय र समावेशीका लागि लडेका पार्टीलाई कमजोर पार्ने कोसिस भइरहेको छ । ती पार्टीभित्र अन्तर कलह गर्ने, झमेला गर्ने षडयन्त्रमा प्रतिक्रियावादीहरू छन्,’ उनले भने, ‘जानेर वा नजानेर पनि हाम्रा कतिपय साथीहरूले निराशा बाँड्ने काम गरेका छन् ।’
