चिया क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चियासहित नगदेबालीको बजार व्यवस्थापनका लागि यही अधिवेशनभित्र कानुन ल्याउन पनि आग्रह गरेको छ ।

असार ४, २०८३

न्युज एजेन्सी नेपाल

Parliamentary committee directs to immediately resolve problems seen in tea sector

काठमाडौँ — राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । 

बिहीबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रका देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत अन्य नगदेबालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई उनले आग्रह गरे ।

सभापति पौडेलले नगदेबाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानुनी व्यवस्था गर्न समेत सरकारसमक्ष आग्रह गरे ।

‘चिया किसान र चिया बगानमा काम गर्ने श्रमिकहरुको  समस्या तुरुन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहान्छु र यो समितिको तर्फबाट निर्देशन पनि दिन चाहन्छु ,' उनले भने, 'नगदेबालीको बजार व्यवस्थापनका लागि यही अधिवेशनभित्र एउटा कानुन पनि ल्याउन म आग्रह गर्न चाहन्छु । ’

भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लगाएको अवरोधको विरोधमा इलाम र झापाका उद्योग बन्द भएका छन् । इलामका ५० भन्दा बढी उद्योग असार १ देखि बन्द छन् भने बिहीबारदेखि झापाका ३० भन्दा बढी चिया उद्योग बन्द गरिएको छ ।

न्युज

Link copied successfully