सुशासनको नाममा संस्थागत सन्तुलन कमजोर बनाउने, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा असर पार्ने, संसद्को प्रभावकारी भूमिकालाई खुम्च्याउने तथा जवाफदेहिताबाट पन्छिन खोज्ने प्रवृत्ति बढेको पापडले विज्ञप्तिमामार्फत उल्लेख गरेको छ ।
What you should know
काठमाडौँ — नागरिक अधिकार तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी प्रयासको विरोधमा नेपाल पत्रकार महासंघले शुक्रबार माइतीघर मण्डलमा आन्दोलन गर्ने भएको छ । उक्त आन्दोलनमा सहभागी हुन 'शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल' (पापड) ले आह्वान गरेको छ ।
बुधबार जारी विज्ञप्तिमा 'पापड'ले पछिल्लो समय मुलुकमा विकसित भइरहेका राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुशासनको नाममा संस्थागत सन्तुलन कमजोर बनाउने, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा असर पार्ने, संसद्को प्रभावकारी भूमिकालाई खुम्च्याउने तथा जवाफदेहिताबाट पन्छिन खोज्ने प्रवृत्ति बढेको पापडले विज्ञप्तिमामार्फत उल्लेख गरेको छ ।
पापडले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र सञ्चारमाध्यममाथि आर्थिक तथा नीतिगत दबाब सिर्जना गर्ने प्रयासप्रति पनि आपत्ति जनाएको छ । यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने र नागरिक अधिकार संकुचित गर्ने जोखिम बढाउने पापडको भनाइ छ । 'लोकतन्त्र केवल निर्वाचनमार्फत प्राप्त बहुमतको शासनमात्र होइन, बरु संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली हो भन्ने न्यूनतम सर्तलाई नबिर्सन पापड राज्यका अंगहरूलाई स्मरण गराउन चाहन्छ,' विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा विश्वविद्यालयहरूको स्वायत्ततामाथि हस्तक्षेप, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा नीतिगत अस्पष्टता र उदासीनता देखिएको उल्लेख गर्दै त्यसले आमनागरिकको जीविका, रोजगारी, व्यवसाय र सम्मानजनक जीवनयापनमा प्रतिकूल असर पारिरहेको जनाइएको छ ।
सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन र संविधानको अक्षर तथा भावनाअनुसार अघि बढ्न आग्रह गरेको छ । साथै लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र संस्थागत सन्तुलनको रक्षाका लागि लोकतन्त्रवादी शक्ति, पेसागत संगठन, सञ्चारक्षेत्र, शैक्षिक समुदाय र नागरिक समाजलाई एकजुट हुन अपिल गरेको छ ।
पापडमा नेपाल चिकित्सक संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ र नेपाल इन्जिनियर्स एसोसिएसन आबद्ध छन् ।
