मनसुनजन्य विपद् व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री गुरुङ

मन्त्री गुरुङले भने- 'सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँकहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ ।'

असार ४, २०८३

न्युज एजेन्सी नेपाल

Monsoon-induced disaster management is the government's top priority: Home Minister Gurung

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकोप्टरदेखि सुरक्षा निकायका सबै स्रोतसाधन परिचालन गर्ने उनको भनाइ छ । विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकिएको पनि उनले जानकारी दिए ।

औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने मन्त्री गुरुङले बताए । 'मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको छ,' उनले भने, 'सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँकहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ । उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरेर सडक खुलाउने व्यवस्था मिलाइएको छ ।'

यसले विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्था नहुने उनको भनाइ छ । गृहमन्त्री गुरुङले विगतमा प्राकृतिक विपद्ले नागरिकलाई पुर्‍याएको क्षतिको अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

‘विपद् व्यवस्थापनमा हाम्रो पूर्वतयारी राम्रै छ, त्यहीअनुसारमा सुरक्षा निकायहरु पनि खटाइएको छ । त्यहीअनुसार डिफरेन्ट को–लिड, लिडहरुलाई पनि हामीले निर्देशन दिएका छौं,' उनले भने, 'भौतिक पूर्वाधार मन्त्रालयसँग गृह मन्त्रालयले मिलेर कुनै बाढी पहिरो आइहालेको खण्डमा पहिरो हटाउन एप निर्माण गरेका छौं । डोजरहरु कहाँकहाँ छ भनेर ठ्याक्क थाहा हुन्छ ।' 

न्युज

Link copied successfully