गृह प्रशासनलाई ‘डिजिटल’ रुपान्तरण गर्ने बजेटको लक्ष्य : गृहमन्त्री गुरुङ 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले यस्तो बताएका हुन् ।

असार ४, २०८३

रासस

Budget aims to transform home administration into a 'digital' one: Home Minister Gurung

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेटले परम्परागत ढाँचामा चलिरहेका गृह प्रशासनलाई ‘डिजिटल’ रुपान्तरण गर्ने लक्ष्य राखिएको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट अंकहरूको सूचीमात्र नभई सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय संकल्प भएको बताए । 'नेपाली जनताको पसिनाबाट संकलित बजेटको १-१ रुपैयाँ नागरिकको सेवामा लगानी गर्न र राष्ट्रिय सुरक्षा बलियो बनाउनेमा प्रतिबद्धता व्यक्त गर्दछु,' गृहमन्त्री गुरुङले भने । उनले सुरक्षाकर्मीको मनोबल बढाउन थप कार्यक्रम र बजेटको व्यवस्था गरिएको जानकारी पनि दिए ।

नदीजन्य पदार्थको दोहन रोक्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिँदै उनले विभिन्न मन्त्रालयसँग समन्वय गरिएको बताए । गृहमन्त्री गुरुङले जाजरकोट भूकम्पबाट प्रभावितका समस्या समाधान गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रहरीको पोशाक खरिदसम्बन्धी प्रक्रियामा देखिँदै आएको गुनासो सम्बोधन गर्न मन्त्रालय लागिरहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले भने, 'प्रहरीको पोशाकमा खर्चदैँ आइएको रकम प्रहरीलाई नै दिएर उनीहरू आफैँले खरिद गर्ने भन्ने मन्त्रालयको योजना छ, ताकी कुनै पनि बिचौलियाले यसमा चलखेल गर्न नसकुन् ।'

गृहमन्त्री गुरुङले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यासम्बन्धी घटनाको छानबिन गर्न मन्त्रालय संवेदनशील रहेको जानकारी दिए । लागुऔषधको कारोबार र सेवन, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

रासस

Link copied successfully