सरकार, स्थानीय तह र गैरसरकारी निकायबीच सहकार्य गर्दै मनसुनजन्य विपद् न्यूनीकरणमा जुट्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।
काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी मनसुनलाई लक्षित गर्दै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको जनाएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले करिब एक साताभित्रै मनसुनजन्य जोखिमलाई ध्यानमा राखेर प्रतिकार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताए ।
‘जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान दिएको छ । यसपालिको पूर्वानुमान सरदरभन्दा कम पानी पर्ने तर कुनै ठाउँमा धेरै पानी पर्न सक्ने भन्ने छ । एकै ठाउँमा धेरै पानी पर्ने भनेपछि विपद्का हिसाबले त्यो संवेदनशील नै भयो,' उनले भने, 'प्राधिकरणले त्यसको न्यूनीकरण कसरी गर्ने भन्ने तयारी गरिरहेको छ । हामीले क्लस्टर लिड र को–लिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छौँ, उहाँहरुले आआफ्नो तयारी गर्नुभएको छ ।' यसमा प्रदेश सरकार र स्थानीय तहको अझ बढी जिम्मेवारी हुने उनले बताए ।
'हामी प्रतिकार्यमा अब करिब अर्को सातादेखि जुट्नुपर्ने अवस्था छ । सबैजनाले विपद्लाई अपडेट रेकर्ड राखेर र समन्वय संयन्त्र राम्रो बनाएर प्रतिकार्यमा जुट्नुपर्यो भन्ने खालको निर्देशन गृहमन्त्रीको छ,’ उनले भने ।
गैरसरकारी क्षेत्रलाई समेत एकीकृत गर्दै सरकारी तथा गैरसरकारी निकायबीच सहकार्यको संयन्त्र पनि तयार गरिएको उनले बताए ।
प्राधिकरणले बिहीबार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुनजन्य विपद्का लागि प्रतिकार्य पूर्वतयारीका बारेमा छलफल गरेको थियो । गृहमन्त्रीको मुख्य निर्देशन जनधनको क्षति न्यून बनाउनेतर्फ केन्द्रित रहेको कोइरालाले बताए । उनका अनुसार गृहमन्त्रीले विपद्का घटनाबारे नियमित अद्यावधिक अभिलेख राख्ने, सूचना प्रणाली सुदृढ बनाउने तथा समन्वय संयन्त्रलाई प्रभावकारी बनाउँदै प्रतिकार्यमा सबै निकायलाई निर्देशन दिएका थिए ।
