सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री वाग्ले

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

असार ४, २०८३

रासस

Army was not used to remove squatter settlements: Finance Minister Wagle

काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्लेले सुकुमवासी बस्तीमा डोजर लगाई हटाउने कार्यमा नेपाली सेना प्रयोग नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सेना खटाएको भनी संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदै स्पष्ट पारेका हुन् । 

बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सो धारणा राखेका हुन् ।  

छलफलका क्रममा प्रधानमन्त्रीसमक्ष सांसदहरूले सुकुमवासी बस्ती हटाउने क्रममा नेपाली सेनाको प्रयोग गरिएको हो भन्ने प्रश्न गरेका थिए । जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको उनले स्पष्ट गरे । 

त्यस अवसरमा अर्थमन्त्री वाग्लेले मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशनबमोजिम मुलुकका सबै भू-भागमा आवश्यकताअनुसार नेपाली सेनालगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको पनि स्पष्ट गरे । 

रासस

Link copied successfully