भाइरल भिडियोमा युवतीलाई खुकुरी देखाएर कुटपिट गर्ने पक्राउ

भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति १०:४० बजे उनको घरमा छापा मारेर पक्राउ गरेको हो।

असार ३, २०८३

गौरव पोखरेल

Man arrested for beating woman with khukuri in viral video

काठमाडौँ — दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर दुर्व्यवहार तथा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरेको हो।

प्रहरीले उनको घरबाट प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोह्मो ४१ ट्याब्लेट, एन्टिकप २ ट्याब्लेट र नाइट्राजोह्म ५ ट्याब्लेट बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार रमेशले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेका थिए। सो घटनाको भिडियो उनले मंगलबार राति करिब ८:३० बजे आफ्नै फेसबुक आइडीमार्फत सार्वजनिक गरेका थिए।

भिडियो सार्वजनिक भएपछि प्रहरीले राति करिब १०:४० बजे उनको घरबाट उनलाई पक्राउ गरेको हो।यसै घटनामा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर निवासी २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully