वेबसाइटमा पनि छैनन् पाठक, समाचारको स्रोत सामाजिक सञ्जाल

अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको ‘रोयटर्स इन्स्टिच्युट फर द स्टडी अफ जर्नालिज्म’ले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन 'डिजिटल न्युज रिपोर्ट २०२६' ले पाठक/दर्शक सामाजिक सञ्जाल र भिडियो प्लेटफर्ममा आकर्षित छन् ।

असार ३, २०८३

दया दुदराज

There are no readers on the website either, the source of news is social media

What you should know

काठमाडौँ — प्रविधिको विकास र डिजिटल रूपान्तरणले संसारभरिका पाठकको समाचार पढ्ने, हेर्ने र बुझ्ने बानीमा परिवर्तन ल्याएको छ । हिजोसम्म सञ्चार माध्यमका आफ्नै वेबसाइट लग इन गर्ने वा मोबाइल एप खोल्ने पाठकहरू अहिले सामाजिक सञ्जाल र भिडियो प्लेटफर्मका वालहरूमा व्यस्त हुन थालेका छन् ।

विश्वव्यापी रूपमा आएको यो परिवर्तनले परम्परागत पत्रकारिता र मूलधारका सञ्चार माध्यमहरूलाई अब आफ्नो अस्तित्व कसरी जोगाउने भन्ने मोडमा पुर्‍याएको छ । अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको ‘रोयटर्स इन्स्टिच्युट फर द स्टडी अफ जर्नालिज्म’ले हालै सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदन 'डिजिटल न्युज रिपोर्ट २०२६' ले पाठकहरु सामाजिक सञ्जाल र भिडियो प्लेटफर्मतर्फ आकर्षित भएका छन् । 

विश्वका ४८ वटा देशका उत्तरदाताहरूमाझ गरिएको यस सर्वेक्षणले समाचार संस्थाका आफ्नै आधिकारिक वेबसाइट वा एपहरूलाई सामाजिक सञ्जाल र भिडियो प्लेटफर्महरूले निकै पछाडि पारिसकेको देखाएको छ । प्रतिवेदनअनुसार अध्ययन गरिएका ४८ मध्ये ३० देशमा समाचार वेबसाइट र एपभन्दा सामाजिक सञ्जाल तथा भिडियो प्लेटफर्म समाचारको प्रमुख स्रोतका रूपमा बढी लोकप्रिय बनेका छन् ।

तथ्यांक हेर्ने हो भने ५४ प्रतिशत उत्तरदाताहरूले अनलाइन समाचार प्राप्त गर्ने सबैभन्दा मुख्य माध्यमका रूपमा सामाजिक सञ्जाल र भिडियो नेटवर्कलाई रोज्ने गरेका छन् भने समाचार संस्थाका आफ्नै डिजिटल प्लेटफर्म प्रयोग गर्नेहरूको संख्या खुम्चिएर ५१ प्रतिशतमा झरेको छ ।

There are no readers on the website either, the source of news is social media

सञ्चार माध्यमहरूका लागि सबैभन्दा चिन्ताको विषय पत्रकारितामाथिको जनविश्वास निरन्तर ओरालो लाग्नु हो । प्रतिवेदनका अनुसार समाचारमाथिको विश्वव्यापी औसत विश्वास गत वर्षको तुलनामा ३ प्रतिशतले घटेर ३७ प्रतिशतमा झरेको छ, जुन रोयटर्स इन्स्टिच्युटले मापन सुरु गरेयताकै सबैभन्दा न्यून र निराशाजनक हो । सर्वेक्षण गरिएका ४८ मध्ये २९ वटा देशमा समाचारको विश्वसनीयता खस्किएको छ । 

प्रेस स्वतन्त्रता र मिडियाको जग बलियो भएको मानिने अमेरिकाजस्तो देशमा समेत समाचारमा विश्वास गर्नेहरूको संख्या मात्र २५ प्रतिशत देखिएको छ । राजनीतिक ध्रुवीकरण, भ्यूज र फलोअर्स बढाउने होडबाजीमा विषयवस्तुलाई बढाइचढाइ गर्ने सनसनीपूर्ण प्रवृत्ति र ‘क्लिकबेट’ को बाढीले मिडियाप्रतिको वितृष्णा बढाएको विज्ञहरूको ठहर छ । 

मिडियाप्रतिको यही वितृष्णा र नकारात्मकताका कारण विश्वव्यापी रूपमा ४२ प्रतिशत मानिसहरूले कहिलेकाहीँ वा प्रायः जानीजानी समाचार बेवास्ता गर्ने गरेका छन् । मानिसहरूले समाचारलाई 'तनावपूर्ण', 'निराशाजनक', र 'मानसिक स्वास्थ्यका लागि खराब' ठान्न थालेको रिपोर्टले स्पष्ट रूपमा देखाएको छ । दिनहुँ आउने राजनीति, युद्ध, अपराध र आर्थिक मन्दीका नकारात्मक समाचारहरूले वाक्क भएका पाठकहरू अब सचेत रूपमै समाचार जगतबाट टाढा बस्न खोजिरहेको देखिन्छ ।

यसका साथै सञ्चार संस्थाहरूका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि अर्को ठूलो चुनौती र प्रतिस्पर्धीका रूपमा उदाएको छ । पाठकहरू अब कुनै जानकारी पाउन गुगलमा सर्च गरेर मिडियाका लिंकहरू खोल्नुको सट्टा सिधै च्याटजीपीटी जस्ता एआई च्याटबोटहरू मार्फत सूचना लिन थालेका छन् ।

There are no readers on the website either, the source of news is social media

समाचार प्राप्त गर्न एआई च्याटबोटहरूको साप्ताहिक प्रयोग विश्वव्यापी रूपमा १० प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ७ प्रतिशत मात्र थियो । ३५ वर्ष मुनिका युवा पुस्तामा त यो दर अझ उच्च अर्थात् १६ प्रतिशत छ । प्रयोगकर्ताहरूले एआईलाई केवल सामान्य जानकारीका लागि मात्र नभई, जटिल राजनीतिक वा आर्थिक विषयहरूलाई सजिलोसँग बुझ्न 'पर्सनल ट्युटर' जसरी प्रयोग गरिरहेका छन् । ४२ प्रतिशत उत्तरदाताहरूले च्याटबोटको 'फलोअप प्रश्न सोध्न मिल्ने' सुविधालाई सबैभन्दा बढी रुचाएका छन् । लामो समाचारको छोटो सारांश तयार पार्न र विदेशी भाषाका समाचार अनुवाद गरेर पढ्न पनि यो प्रविधि अत्यन्तै प्रभावकारी बनिरहेको छ ।

एआईसँगै कन्टेन्ट क्रिएटर र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरू पनि परम्परागत पत्रकारिताका लागि कडा प्रतिस्पर्धी बनेका छन् । रिपोर्टअनुसार विश्वभरका करिब २७ प्रतिशत उत्तरदाताहरूले समाचारमा केन्द्रित क्रियटर वा इन्फ्लुएन्सरहरूबाट आफ्नो दैनिक सूचना अपडेट लिने गरेका छन् । सर्वसाधारणले यी क्रिएटरहरूलाई परम्परागत मिडियाका समाचार प्रस्तोताहरूभन्दा बढी मनोरञ्जनात्मक, बुझ्न सजिलो र आफ्नै जस्तो लाग्ने 'रिलेटेबल' महसुस गर्ने गरेका छन् । यद्यपि, विश्वास, तथ्यजाँच र निष्पक्षताका हिसाबले भने मानिसहरूले अझै पनि मूलधारकै सञ्चार माध्यमलाई इन्फ्लुएन्सरहरूभन्दा माथिल्लो स्थानमा राखेका छन् ।

मानिसहरूको लामो लेख वा विश्लेषण पढ्ने बानी विस्तारै कम हुँदै गएको र भिडियो हेर्ने बानी बढेको तथ्यलाई यस वर्षको रिपोर्टले थप बलियो रूपमा प्रमाणित गरेको छ । अहिलेका उपभोक्ता लामो टेक्स्ट पढ्नुभन्दा छोटो र आकर्षक भिडियो हेर्न बढी मन पराउँछन् । करिब ७७ प्रतिशत मानिसहरू नियमित रूपमा अनलाइन भिडियो समाचार हेर्ने गर्छन् भने ३५ प्रतिशतले साप्ताहिक रूपमा युट्युबलाई समाचारको माध्यम बनाएका छन् । यता मिडियाकै वेबसाइटमा रहेको भिडियो प्लेयर मार्फत भिडियो हेर्ने दर भने ५ प्रतिशतले घटेको छ । 

पाठकहरूलाई समाचार संस्थाको आफ्नै वेबसाइटमा गएर भिडियो प्ले गर्न झन्झटिलो लाग्ने र उनीहरू टिकटक, इन्स्टाग्राम र युट्युब जस्ता नेटिभ प्लेटफर्ममै भिडियो हेर्न बढी सहज मान्ने गरेको पाइएको छ । टिकटकमा ५५ प्रतिशत मानिसले २ मिनेटभन्दा कमका छोटा भिडियो हेर्छन् भने, युट्युबमा २३ प्रतिशत प्रयोगकर्ताहरू २० मिनेटभन्दा लामा समाचार भिडियो, डकुमेन्ट्री वा अन्तर्वार्ताहरू हेर्ने गर्छन्, जसले युट्युब अझै पनि गम्भीर पत्रकारिताका लागि बलियो माध्यम रहेको देखाउँछ ।

एकातिर विज्ञापनको परम्परागत बजार गुगल र फेसबुक जस्ता प्राविधिक कम्पनीले कब्जा गरिसकेका छन्  । अर्कोतिर मिडियाका आफ्नै पाठक घटिरहँदा विश्वभरकै मिडिया उद्योग चरम आर्थिक सङ्कट सम्मुख रहेको रिपोर्टमा उल्लेख छ । डिजिटल माध्यममा समाचार पढेबापत पैसा तिर्ने मोडलले पनि सोचेजस्तो गति लिन सकेको छैन । समाचारका लागि डिजिटल भुक्तानी गर्नेहरूको दर विश्वव्यापी रूपमा १७ प्रतिशतमा लामो समयदेखि स्थिर छ । 

There are no readers on the website either, the source of news is social media

नर्वे र स्वीडेन जस्ता देशहरू बाहेक अन्य अधिकांश मुलुकमा पाठकले समाचारका लागि पैसा तिर्ने दरमा कुनै सुधार आउन सकेको छैन । मानिसहरूमा अहिले धेरै एप वा सञ्चार माध्यममा छुट्टाछुट्टै पैसा तिर्दा लाग्ने दिक्दारी अर्थात् 'सब्स्क्रिप्सन फ्याटिग' बढेको छ। यसबाट बच्न धेरैजसो विश्वप्रसिद्ध समाचार संस्थाहरूले अब नयाँ ग्राहक थप्नुभन्दा भइरहेका ग्राहकलाई टिकाइराख्न 'बन्डलिङ' रणनीति अपनाइरहेका छन् । उदाहरणका लागि, अमेरिकी अखबार 'न्यूयोर्क टाइम्स'ले गम्भीर राजनीतिक समाचारसँगै खाना पकाउने रेसिपी, खेलकुद र वर्ड पजलहरू समावेश गरेको 'अल एक्सेस प्याकेज' बेचेर ठूलो व्यापारिक सफलता पाइरहेको छ ।

संसारभरि नै राजनीतिक ध्रुवीकरण र मिडियामाथि पक्षपाती भएको आरोप लागिरहँदा पनि बहुसंख्यक आम नागरिक अझै पनि निष्पक्ष र सन्तुलित समाचारकै पक्षमा दृढतापूर्वक उभिएका छन् । रिपोर्टका अनुसार, सर्वेक्षण गरिएकामध्ये ४५ प्रतिशत मानिसहरूले कुनै विशेष राजनीतिक झुकाव वा दृष्टिकोण नभएका, पूर्ण रूपमा निष्पक्ष समाचार स्रोतहरूबाट मात्र सूचना प्राप्त गर्न रुचाउने बताएका छन् । 

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully