सेफ सन्तोष साह भन्छन्- ४ लाख ५० हजार रुपैयाँको चेक विवादमा ‘ठग’ बनाइयो

सन्तोष साहले आफू ४ लाख ५० हजार रुपैयाँको चेकसम्बन्धी विवादमा पक्राउ परेको भए पनि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा तथ्यभन्दा फरक ढंगले प्रस्तुत गरिएको दाबी गरेका छन् ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Chef Santosh Sah says - 'Thugs' were made in the cheque dispute worth Rs. 450,000

What you should know

काठमाडौं — चर्चित सेफ सन्तोष साहले आफूविरुद्ध सार्वजनिक चेक बाउन्स प्रकरणलाई लिएर बुधबार धारणा सार्वजनिक गरेका छन् । गैरीधारास्थित रेस्टुरेन्ट 'मिथिला थाली'मा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू ४ लाख ५० हजार रुपैयाँको चेकसम्बन्धी विवादमा पक्राउ परे पनि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा तथ्यभन्दा फरक ढंगले प्रस्तुत गरिएको आरोप लगाएका छन् ।

साहले आफूले खरिद गरेको शिला रेस्टुरेन्टसँग सम्बन्धित कारोबारको क्रममा उत्पन्न लेनदेन विवादलाई अतिरञ्जित बनाइएको दाबी गरेका छन् । उनका अनुसार उक्त रेस्टुरेन्ट २ करोड २५ लाख रुपैयाँमा खरिद गरिएको थियो र त्यस क्रममा विभिन्न वित्तीय दायित्व तथा बैंक ऋणसमेत आफूले जिम्मा लिएको उनको भनाइ छ । 

'मलाई २ करोड २५ लाख रुपैयाँको ठगी गरेको जस्तो गरी प्रस्तुत गरियो, जबकि पक्राउको विषय ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित हो,' उनले भने, 'कसैको पैसा नदिने मेरो उद्देश्य कहिल्यै थिएन र छैन ।' साहका अनुसार रेस्टुरेन्ट खरिद गर्दा बिक्रेताले सम्पत्तिसम्बन्धी केही तथ्य लुकाएको उनले दाबी गरे । उनले रेस्टुरेन्ट रहेको भवनको भाडा विवाद र बाँकी भुक्तानीबारे सुरुमै जानकारी नदिइएको बताए ।

उनले आफूलाई जनकपुरबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रक्रियामाथि पनि प्रश्न उठाए । 'म प्रहरीको फोन आएपछि भद्रकाली परिसरमा आफैं उपस्थित भएको थिएँ । यदि म भाग्ने मान्छे हुँ भने त्यसै बेला पक्राउ गर्न सकिन्थ्यो,' उनले भने, 'मलाई फोन गरेर बोलाएको भए म आफैं उपस्थित हुन्थे । तर शुक्रबार पक्राउ गरियो ।'

गैरआवासीय नेपाली नागरिकको कार्डबहाक साहले नेपालको कानुनी व्यवस्थाप्रति सम्मान व्यक्त गर्दै सधैं कानुनको पालना गरेको बताए । 'कानुनभन्दा माथि कोही छैन । म कानुनको सम्मान गर्छु र अदालत तथा कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्नेछु,' उनले भने । सामाजिक सञ्जालमा भाइरल भएको ७ सेकेन्डको एउटा भिडियो क्लिपप्रति संकेत गर्दै साहले त्यसले सम्पूर्ण घटनाको वास्तविकता नदेखाउने दाबी गरे । '३ घण्टाको संवादबाट केही सेकेन्डको अंश मात्र सार्वजनिक गरेर कसैको चरित्र मूल्यांकन गर्न मिल्दैन,' उनले भने ।

बेलायतको नागरिकता लिइसकेपछि पनि नेपाल फर्केर पर्यटन, संस्कृति र नेपाली खानाको प्रवर्द्धनमा लागेको उल्लेख गर्दै साहले यो घटनाले आफूलाई निरुत्साहित नपार्ने बताए । 'म नेपालमै बसेर काम गर्नेछु । नेपाली खाना र संस्कृतिलाई विश्वभर चिनाउने मेरो अभियान रोकिने छैन,' उनले भने । हाल काठमाडौं, विराटनगरसहितका स्थानमा रेस्टुरेन्ट सञ्चालन गरिरहेको बताउँदै उनले व्यवसायमा लेनदेन र नगद प्रवाहका चुनौती सामान्य प्रक्रिया भएको बताए । उनले आफूले कसैको रकम हिनामिना नगरेको र सबै आर्थिक दायित्व कानुनी ढंगले समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हाल उक्त मुद्दा अदालत तथा कानुनी प्रक्रियामा रहेको छ । विवादका अर्को पक्षको धारणा भने सार्वजनिक हुन बाँकी छ ।

कान्तिपुर

Link copied successfully