राज्यकोषबाट सहकारी पीडितहरुको रकम वितरण भइरहेको चर्चा भईरहेका बेला मन्त्री रावलको यस्तो स्पष्टीकरण आएको हो ।
काठमाडौँ — भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी पीडितहरूको रकम राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको दाबी गरेकी छिन् ।
राज्यकोषबाट सहकारी पीडितहरुको रकम वितरण भइरहेको चर्चा भईरहेका बेला मन्त्री रावलको यस्तो स्पष्टीकरण आएको हो । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यकोषबाट समस्याग्रस्त सहकारीहरू पीडितहरूको रकम उपलब्ध गराएको भन्ने भ्रमबाट मुक्त हुन सांसदहरूलाई पनि आग्रह गरिन् ।
'समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च गरिएको छैन । त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु,' मन्त्री रावलले भनिन् ।
पछिल्लो ३ महिनामा मात्रै विभिन्न ८ वटा समस्याग्रस्त सहकारी रुजु भएको १० हजार र सोभन्दा मुनिका १ हजार ४ सय ५२ बचतकर्ताको ५९ लाख ४ हजार ६ सय बचत फिर्ता गरिएको मन्त्री रावलले जानकारी दिइन् । साथै ३ महिनाभित्र ३ करोड ५४ लाख ४९ हजार ऋण असुली भइसकेको उनले बताइन् ।
