जंगली जनावरको उच्च जोखिममा रहेका मेघौलीका बासिन्दाले सुरक्षा, सचेतना र आयआर्जनका विविध उपाय अवलम्बन गर्दै आएका छन् ।
What you should know
चितवन — चितवनको पुरानो पर्यटकीय क्षेत्र मेघौली नदी, खोला र निकुञ्जको छेउमै रहेका कारण जंगली जनावरको पनि उक्तिकै ओहरदोहर चल्छ । यहाँ जनावरले आत्रमण गर्दा घाइते हुने र ज्यान जाने घटना हरेक वर्ष हुने गर्छन् । वन्यजन्तुले बालीनाली र घरपालुवा चौपायालाई पनि आहारा बनाउँछन् ।
जंगली जानावरबाट जोगिन मेघौलीका बासिन्दाले अनेकौं जुक्ति लगाएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मेघौली उपभोक्ता समितिले साइरन दिएपछि स्थानीयले शनिबार दिउँसो त्यसलाई जडान गरे । ‘साँझ जंगली हात्ती देखियो । अनि हामीले दिउँसो मेघौली एयरपोर्टको दक्षिण पश्चिम कुनामा जडान गरेको साइरन बजायौं । यसले मान्छेहरु सतर्क भए,’ स्थानीय यमबहादुर थापा मगरले भने । त्यहाँ ४० फिट अग्लो फलामको टावरमाथि माइक जडान भएको छ । वन्यजन्तु गाउँ पस्ने खतरा भए साइरन बजाइन्छ ।
माइकबाट निस्केको आवाज तीन किलोमिटर वरपर सुनिन्छ । ‘यो साइरन बजेपछि गाउँलेहरु जंगलनजिक जाँदैनन् । सतर्क भएर घरमै बस्ने भए । नजिकै आर्मी पोष्ट पनि छ । जनावर धपाउनु पर्ने भयो भने आर्मीले सहयोग गर्ने भयो,’ थापा मगरले भने ।
गएको भदौ १२ को दिउँसो मेघौलीको पश्चिमी टोल अन्द्रौलीका ६० वर्षीय खेमबहादुर सुनारको गैंडाले आक्रमण गर्दा ज्यान गयो । उनको घर राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको छ । घाँसदाउरा गर्न जाँदा स्थानीयको वन्यजन्तुसँग जम्काभेट हुने खतरा छ । जंगलभित्र राम्रो घाँस र आहाल खेल्न घोल नभए जंगली जनावर भौतारिदै जंगल बाहिर निस्कने गर्छन् । गैंडा, हात्ती जस्ता ठूला जनावर र मृगलाई वनमौ रोक्न वन समितिले सौर्य (सोलार) ऊर्जाबाट मोटर चलाएको छ । ‘सोलारबाट मोटर चल्छ । यसले घोलमा पानीको प्रबन्ध भएको छ । घाँसे मैदानमा पनि सुक्खा नहोस् भनेर हामीले सिँचाइ गर्न यही पम्पको पानी प्रयोग गरेका छौं । घाँस र आहाल भएपछि वन्यजन्तु गाउँ जान रोकिने छन्,’ राप्ती नियन्त्रण मध्यवर्ती वनका अध्यक्ष विशाल कुमालले भने ।
अन्द्रौली, गोलाघाट जस्ता गाउँमा आदिवासी कुमाल समुदायको बाक्लो बसोबास छ । ‘त्यही क्षेत्रमा जंगली जनावरको उच्च जोखिम पनि छ । त्यसैले हामीले त्यता पानीको घोल र घाँसे मैदान व्यवस्थापनलाई बढी ध्यान दिएका छौं,’ मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चैधरीले भने । वन्यजन्तु देखा परेमा सर्तक हुन बजाइने साइरन त्यहाँ पनि जोड्ने अध्यक्ष चौधरीले बताए । मेघौलीमा यस्तो साइरन तीन ठाउँमा रहने छन् ।
जंगलभित्र सोलार पम्प र गाउँमा साइरन राख्नुका साथै उपभोक्ता समितिले जनावरबाट जोगिन अन्य गतिविधि पनि गरेको छ ।
अध्यक्ष चौधरीले मेघौलीमा मध्यवर्ती उपभोक्ता समिति गठन भएयता २०५४ देखि २०८१ वैशाख ३ सम्म गैंडाबाट १३, बाघबाट ६ र जंगली हात्तीबाट ३ जना स्थानीयको निधन भएको बताए । त्यसयता वन्यजन्तुको आक्रमणबाट थप ४ जानाले ज्यान गुमाएको उनले सुनाए । ‘आक्रमणबाट घाइते हुनेको संख्या पनि उत्तिनै छ । २५ वर्षमा गैंडाबाट ५१, हात्तीबाट ९, बाघबाट ३, भालु र बँदेलबाट ३/३ जना घाइते भएका छन्,’ उनले भने ।
निकुञ्जको जंगल आडैमा छ । उत्तरमा नारायणी नदी र दक्षिणमा राप्ती खोला बग्ने गर्छ । मेघौलीको अन्तिम बिन्दु गोलाघाटमा राप्ती र नारायणी मिसिन्छन् । बाढी, डुबान र कटानबाट जोगाउन वन नभइ हुँदैन भन्छन् चौधरी ।
मेघौलीमा नौ वटा मध्यवर्ती सामुदायिक वन छन् । पाँच वटा मध्यवर्ती वन राप्ती खोला तर्फ र चार वटा नारायणी नदीतर्फ छन् । यी वनले नदी र खोलालाई गाउँ पस्न छेकबार लगाए पनि वन्यजन्तुको राम्रो बासस्थल भएका छन् । हरेक वन गाउँ बस्तीसँग जोडिएका छन् ।
भरतपुर महानगरपालिका–२७ र २८ वडामा पर्ने मेघौली उपझोक्ता समितिमा २२ हजार ८९८ घरधुरी बसोबास गर्ने अध्यक्ष चौधरीले जानकारी दिए । निकुञ्ज, नदी, खोला र सामुदायिक वनले वन्यजन्तुलाई राम्रो आश्रय दिएको छ । तर त्यो आश्रयस्थल घना आवादी क्षेत्रसँग जोडिएको छ । त्यसैले मेघौलीमा वन्यजन्तु आत्रमणको जोखिम उच्च रहेको चौधरीले बताए ।
तराई भूपरिधी तथा संरक्षण परियोजना (ताल)ले पाँच वर्षअघि गरेको अध्ययनमा चितवन निकुञ्जको मेघौली, बर्दियाको खाता र बाँके निकुञ्जको काम्दी करिडोरमा वन्यजन्तु आक्रमणको उच्च जोखिम रहेको देखाएको तालका पूर्वी क्लष्टर संयोजक प्रेम पौडेलले बताए । त्यसैले मध्यवर्तीका बासिन्दाको जीवन रक्षाका लागि योजना जनावर सरक्षणसँग जोडिएका विभिन्न योजना बनेको उनले जानकारी दिए । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को सहयोगमा नेपाल सरकारले ताल परियोजना सञ्चालन गर्दै आएको छ ।
वन्जजन्तुको आनीबानी सम्बन्धी सामान्य जानकारी नराख्दा पनि स्थानीय आक्रमणको जोखिममा पर्ने गरेको पौडेल बताउँछन् । ‘जंगल जाँदा कस्तो कपडा लगाएर जाने, कुन समयमा जंगल पस्दा जोखिम हुन्छ, आक्रमणबाट जोगिने अन्य सामान्य उपाय के हुन सक्छन् भन्ने पनि ख्याल नराखेको पाइयो,’ पौडेलले भने, ‘यस्ता समुदाय पहिचान गरी तीन जना अभियन्तालाई मध्यवर्ती समितिले गाउँगाउँमा खटाएको छ ।’ उनीहरुले घरघर गएर जंगली जनावरको आक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने जानकारी गराउने अध्यक्ष चौधरीले बताए । त्यस्ता घरधुरी चार सय छन्।
मेघौलीको पटिहानी गाउँ पनि जोखिममा छ । पटिहानीकी रेनु महतो सामान्य घरमा बस्छिन् । जंगलनजिकै भएका कारण गैंडा, हात्तीको उत्तिकै डर छ । बँदेल र चित्तलले खेती सखाप पार्ने गरेको उनले बताइन् । यस्ता समुदायलाई राहत दिन मध्यवर्तीले हाँस पालनको कार्यक्रम ल्याएको छ । रेनु र उनका श्रीमान् रामकुमार मिलेर दुई वटा माउ हाँस पाल्न सुरु गरे । अहिले २६ वटा बच्चा हुर्कँदै छन् । पाँच महिनापछि एउटा हाँसको १८ सय रुपैयाँ पर्छ । होमस्टे र होटलहरु फष्टाएको हुँदा मेघौलीमा हाँस–कुखुराको माग राम्रो छ । त्यसैले रेनु र रामकुमारले हाँसबाट फाइदा हुने देखेका छन् ।
पटिहानी छेउबाट सानो अञ्जना घोल जान्छ । जंगली जनावर रोक्न जंगल छेउमा कंक्रिटको पर्खाल बनेको छ । तर अञ्जना घोलमा पर्खाल लगाउन सम्भव भएन । जनावरहरु त्यहीबाट आएर दुःख दिन थाले । अहिले घोलमा पानी बगे त्यही बेगले खुल्ने नभए बन्द हुने तर जनावरले खोल्न नसक्ने तगारो बनाएर जनावरलाई छेकबार लगाएको अध्यक्ष चौधरीले सुनाए ।
राप्ती किनारका पाँच वटा मध्यवर्ती सामुदायिक वन हुँदै बेथरी खोला बग्छ । उक्त खोलालाई जलकुम्भी झारले ढाक्दै ल्याएको थियो । त्यसलाई पनि सफा गरेको र जनावरलाई बस्न सजिलो होस् भनेर ठाउँठाउँमा मड माउन्टेन (माटोको ढिस्का) बनाएको चौधरीले बताए । १८ जना महिलालाई तालिम दिएर थारु समुदायले निर्माण गर्ने हस्तकलाका सामाग्री तयार गर्ने सीप पनि सिकाइएको छ ।
उनीहरुले तयार गरेका सामग्री ‘मेघौलीको चिनो’ पसलमा राख्ने गरिन्छ । त्यहाँ ३ सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्मको सामग्री छन् । होटल र होमस्टेमा आउने स्वदेशी विदेशी पर्यटकले यस्ता हस्तकला किन्ने गरेका छन् । ‘महिलाहरु फुर्सदमा यस्ता सामान तयार गर्छन् । यसले उनीहरु अनावश्यक रुपमा जंगल जाने क्रम टुटेको छ,’ पसलका इन्चार्ज लक्ष्मणकुमार चौधरीले भने ।
अन्द्रौलीकी देउमाया थापा मगरको घर अगाडि रहेको बाख्राको खोर चितुवाबाट सुरक्षित छ । उपभोक्ता समितिले यस्ता ४१ वटा खोर बनाएको छ । ‘हामीले राप्ती तर्फको सामुदायिक वनमा ७५ प्रतिशत जति कंक्रिट वाल लगायौं । नारायणीतर्फ खुलै छ । जनावरको जोखिम कम गर्दै स्थानीयलाई संरक्षणमा जोड्न साना ठूला उपाय लगाएका छौं । यसको नतिजा एकाध वर्षमा पक्कै देखिन्छ,’ अध्यक्ष चौधरीले भने ।
