रास्वपा महाधिवेशन स्थल: पण्डालबाट प्रदर्शनी केन्द्रमा सारियो

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हुने पहिलो केन्द्रीय महाधिवेशनको स्थल तयारीको क्रममा अन्तिम समयमा परिवर्तन गरिएको छ ।

असार २, २०८३

रमेशकुमार पौडेल

RSVP convention venue: Moved from pandal to exhibition center

What you should know

चितवन — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा हुने पहिलो केन्द्रीय महाधिवेशनको स्थल अन्तिम समयमा परिवर्तन भएको छ ।

आउँदो आइतबारदेखि तीन दिनसम्म हुने महाधिवेशनको उद्घाटन र बन्दसत्र रत्ननगर निपनीमा रहेको होटल स्टारमा गर्ने तयारी थियो । जसका लागि सात हजार कुर्सी अट्ने पण्डाल तयार हुँदै थियो । तर सोमबार दिउँसो पण्डाल बनाउने कार्य रोक्न भनियो ।

मंगलबार भरतपुरको प्रदर्शनी केन्द्रमा महाधिवेशनको बन्दसत्र गर्ने निर्णय भएको पार्टीका केन्द्रीय सदस्य राजन गौतमले बताए । उद्घाटन सत्र सोही छेउको गेष्ट हाउसको चौरमा हुने उनले बताए । 

पूर्वपश्चिम महेन्द्रराजमार्गसँग जोडिएको होटल स्टारको पछाडिको खाली जमिनमा ३ सय फिट लम्बाइ र १२० फिट चौडा जमिनमा ३० फिट अग्लो बाँसको पण्डाल बन्दै थियो । नारायणगढको अकबर टेन्ट हाउसका अकबर हुसेनले पण्डाल बनाउँदै थिए । माथिल्लो खण्ड त्रिपालले छाएर तल भित्रबाट कपडाले ढाक्ने तयारी थियो । जमिनदेखि १६ फिटमाथि कपडा रहन्थ्यो । 

RSVP convention venue: Moved from pandal to exhibition center

गर्मी अत्याधिक भएका कारण १२ वटा ठूला टेन्ट कुलरहरु राख्ने योजना थियो । यस्ता ठूला कुलरहरु आवश्यक परे अन्य पनि थप्ने योजना थियो । ‘हामीले हिजै ७० प्रतिशत काम भ्याएका थियौं । दिउँसो अहिलेलाई काम रोक्नु भनियो,’ अकबरले भने ।

भरतपुर दुरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ठूला तीन वटा भवन छन् । एउटा भवन २० हजार वर्ग फिटको छ । औद्योगिक प्रदर्शनीका लागि बनेको प्रदर्शनी केन्द्रको हल तीन हजार जना अट्ने क्षमता भए पनि बोलेको नबुझिने जस्ता समस्याले सभासमारोहका लागि उपयुक्त नभएको संघका पदाधिकारीहरुको प्रतिक्रिया थियो ।  

आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजकसमेत रहेका राजन गौतमका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि  सौराहा र भरतपुरका होटल उपयोग गरिने छ । करिब १५ सय कोठा आवश्यक पर्ने आँकलन छ । होटलमा बसेको खर्च प्रतिनिधि स्वय‌ंले बेहोर्ने गौतमले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully