रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा सांसद जनकसिंह धामी, बागमती सभापतिमा सांसद अच्युतम लामिछाने, गण्डकी सभापतिमा सांसद राजन गौतम र लुम्बिनी सभापतिमा सांसद मञ्जु भुसाल पराजित भएका छन् ।
What you should know
काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशनमा सभापतिको उम्मेदवार बनेका चार सांसद पराजित भएका छन् । पार्टीका महामन्त्री तथा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जिल्ला र प्रदेश समितिमा नजानु भन्ने पार्टी नीति रहेको लिखित अनुरोधलाई अस्वीकार गरी प्रदेश सभापतिको उम्मेदवार बनेका चार सांसद पराजित बनेका हुन् ।
रास्वपा सुदूरपश्चिम प्रदेशको सभापतिमा सांसद जनकसिंह धामी उम्मेदवार बनेका थिए । कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका धामी सोमबार सम्पन्न रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापति पदमा पराजित भएका हुन् । यसअघि रास्वपा सांसदहरू बागमती सभापतिमा अच्युतम लामिछाने, गण्डकी सभापतिमा राजन गौतम र लुम्बिनी सभापतिमा मञ्जु भुसाल पराजित भइसकेका छन् । लामिछाने नुवाकोट-२ र गौतम नवलपुर-१ बाट र भुसाल समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य छन् ।
रास्वपा सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका हुन् । रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्थ समिति सभापति रहेका विष्टले अधिवेशनमा खसेको मतमध्ये ३ सय ५८ मत प्राप्त गरेका थिए । पार्टी नीति अस्वीकार गरी प्रदेश सभापतिमा उम्मेदवारी दिएका धामीले भने १ सय ५४ मत मात्रै पाएका थिए । विष्ट २०४ मतको फराकिलो अन्तरले सभापति निर्वाचित भए ।
पार्टीको प्रदेश समिति सभापतिमा पराजित भएपछि सांसद धामीले सामाजिक संजालमा आफ्नो उम्मेदवारीलाई अन्यथा नलिन आग्रह गरेका छन् । 'पार्टीको आन्तरिक निर्वाचनमा विचार समूहहरू बन्छन् । आन्तरिक लोकतान्त्रिक पद्धतिबाट निर्वाचन पनि हुन्छ । यो स्वाभाविक कुरा हो । यसलाई अन्यथा नलिई दिन हुन सबैमा हार्दिक अनुरोध गर्दछु । हामी पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासलाई मजबुत बनाउन चाहन्छौँ,' धामीले लेखेका छन्, 'म यस परिणामबाट बिचलित भएको पनि छैन । पार्टीमा विचारहरु मर्न दिनु हुँदैन ।'
सभापति निर्वाचित विष्टले भने सांसदले पार्टी राजनीतिमा चासो राख्न नहुने र आफ्नो काममा ध्यान दिनुपर्ने बताएका थिए । उनले जनताले सांसदका रूपमा निर्वाचित गरेर पठाएकाहरूले सोही जिम्मेवारीमा काम गर्नुपर्ने बताएका थिए । प्रदेश अधिवेशन हलमा उनले भनेका थिए, '(अधिवेशन प्रतिनिधि) तपाईंले के गर्न पठाउनुभएको हो, पार्टीभित्र राजनीति गर्न पठाउनुभएको हो कि देश विकास गर्न पठाउनुभएको हो ? यदि माननीयहरूलाई राजनीति गर्नुछ भने माननीय पद त्यागेर प्रकाश विष्टसँग लड्न आउ । माननीयको कार्यकाल पूरा गर्न सकेका छैनौं तर हामीलाई अर्को पद चाहिइसक्यो ?'
महामन्त्री बुर्लाकोटीले 'संघीय सांसदज्यूहरूको पार्टी जिम्मेवारीसम्बन्धी' भनी सबैका नाममा पार्टी नीति सार्वजनिक गरेका थिए । जिल्ला र प्रदेश अधिवेशन अगाडि जेठ २१ मा गरेको उक्त पत्रमा संसदीय जिम्मेवारीमा रहेकाहरूलाई पार्टीका जिम्मामा नजान भनिएको थियो ।
'मुलुकको सार्वभौम संसद्, संसदीय समितिहरू र विभिन्न विधायकी फाँटहरूमा यहाँहरूले निर्वाह गरिरहनु भएको भूमिका उदाहरणीय रहेको छ । आगामी दिनहरूमा हाम्रा संसदीय गतिविधिहरूलाई अझ बढी तार्किक, नीतिगत रूपमा प्रभावकारी र जनमुखी बनाउनुपर्ने गहन जिम्मेवारी हाम्रा सामु छ,' बुर्लाकोटीले जारी गरेको पत्रमा थियो, 'गहन संसदीय जिम्मेवारी र निर्वाचन क्षेत्रको अत्याधिक व्यस्तताकाबीच यहाँहरूको लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक भूगोलको सङ्गठनात्मक जिम्मेवारी सम्हाल्नु व्यावहारिक रूपमा चुनौतीपूर्ण र कार्य बोझका दृष्टिले समेत बोझिलो हुनसक्ने देखिन्छ । अतः यहाँहरूको अमूल्य समय, विज्ञता र सामर्थ्यको अधिकतम सदुपयोग देशको नीति-निर्माण र नागरिकका समस्या समाधानको सन्दर्भमा नै बढीहोस् भन्ने हेतुले, संघीय संसदका सदस्यहरूलाई संसदीय भूमिका र पार्टीको केन्द्रीय संरचनामा रही नीति निर्माण तहमा रणनीतिक भूमिकामा केन्द्रित रहन प्रेरित गर्ने पार्टीको नीति रहेको व्यहोरा अनुरोध गरिन्छ ।'
पार्टीको यो नीति अस्वीकार गरेर बागती प्रदेश सभापति बनेका थिए अच्युतम लामिछाने । यहाँ उत्सव अर्याल ४ सय १६ मत प्राप्त गरी विजयी हुँदा लामिछानेले ४ सय १४ मत प्राप्त गर्दै पराजित बने । बागमती प्रदेश सभापतिमा प्रतिनिधिसभाका दुई सांसदले उम्मेदवारी दिएका थिए । नुवाकोट २ बाट निर्वाचित लामिछाने पराजित भए भने काभ्रे २ बाट निर्वाचित बदनकुमार भण्डारीको सभापतिमा उम्मेदवारी नै खारेज भएको थियो ।
लामिछानेले पार्टीमा एक पद एक व्यक्तिको नीतिले नेताहरूलाई निस्तेज गर्ने बताएका थिए । महामन्त्री बुर्लाकोटीले संघीय सांसदलाई प्रदेश र जिल्लाको नेतृत्व नलिन भनी गरेको पत्राचारलाई लामिछानेले अस्वीकार गरेका थिए । ‘एक पद एक व्यक्तिले निस्तेज गर्छ, राजनीति गर्ने हरेकले बुझ्नुपर्छ,’ उनले भनेका थिए, ‘महामन्त्री (बुर्लाकोटी) सांसद र मुख्यसचेतक हुनुहुन्छ, यसलाई हामी पद भनेर लिँदैनौं । सांसद नभएको भए मुख्य सचेतक हुनुहुन्थेन । कहाँ कहाँ टेकेर कहाँ जाने भन्ने हो ।’
रास्वपा गण्डकी प्रदेश सभापति सांसदलाई पराजति गरेर नवीन त्रिपाठी निर्वाचित भएका थिए । उनले सांसद तथा निवर्तनमा सभापति राजन गौतमलाई पराजित गरेका हुन् । प्रदेश सभापतिका उम्मेदवारहरू त्रिपाठीले २ सय ३६ मत ल्याएर निर्वाचित भए भने गौतमको १ सय ८५ मत आयो । सभापतिका उम्मेदवारहरू माधवप्रसाद कँडेलले ११ र हरिबहादुर कार्कीले २ मत ल्याएका थिए ।
गण्डकी प्रदेश सभापतिको उम्मेदवारी घोषणा गर्दै सांसद गौतमले महामन्त्री बुर्लाकोटीको पत्रप्रति आपत्ति जनाएका थिए । सभापतिमा पराजित गौतम नवलपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ‘कानुनसँगै पार्टी बनाउने जिम्मेवारी हो । म कानुन बनाएर पार्टी बनाउँछु भन्न मैले पाउनुपर्छ । संसदीय भूमिका र पार्टीको भूमिका फरक चिज हो,’ गौतमले भने, ‘महामन्त्री कबिन्द्र बुर्लाकोटीले आग्रह गर्नुभयो- सांसदहरू तल गएर नलडिदिनुहोला । कहाँबाट प्रदेश सभापतिमा छोड्न हुन्न भन्ने धारणा यो भन्दा सांसदहरू जिल्ला सभापति बन्नुभएको थियो, तपाईंहरूले किन रोक्न सक्नुभएन ? प्रदेशमा सांसदहरूलाई प्रदेश सभापति नबन भनेको भए यसको व्याख्या कानुनी रूपमा हुनुपर्छ । सांसदहरू प्रदेश सभापति नबन्नलाई अनुरोध गरिएको हो भने प्रदेश सभापतिलाई पनि भोलिका दिनमा सांसद नबन्न अनुरोध गरिनुपर्छ ।’ आगामी दिनमा पार्टीको स्थानीय र जिल्ला समितिको नेतृत्वमा रहेकाहरूलाई स्थानीय तह र प्रदेश सभा सदस्यमा लड्नबाट रोक्नका लागि महामन्त्रीबाट त्यस्तो निर्णय आएको हुनसक्ने गौतमले आरोप लगाए । गौतमले उक्त धारणा राखिरहँदा महामन्त्री बुर्लाकोटी सोही कार्यक्रममा उपस्थित थिए ।
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा पनि सांसद पराजित बनेका छन् । पहिलो चरणमा भएको निर्वाचनमा लुम्बिनी प्रदेश सभापतिका कुनै पनि उम्मेदवारले पार्टी विधानको व्यवस्थाअनुसार बहुमत (५० प्रतिशत प्लस १) मत प्राप्त नहुँदा पुनः मतदान घोषणा गरिएकोमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई दोस्रो बढी मत ल्याउने उम्मेदवारले समर्थन गरेका थिए ।
लुम्बिनी प्रदेश सभापतिका लागि ६ जना उम्मेदवार थिए । जसमा शालिकराम घिमिरे १ सय ९९ मत, गोपाल घिमिरे ८७ मत, गणेश पौडेल ८४ मत, राजकुमार सुवेदी ८० मत, मञ्जु भुसाल ७१ मत र मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए । सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि शालिकरामलाई गोपालले समर्थन गरेका थिए । रास्वपा लुम्बिनीको सभापतिमा ७१ मतमात्र प्राप्त गरेकी मञ्जु ज्ञवाली भुसाल समानुपातिकबाट प्रतिनिधिसभा सभा सदस्य छन् ।
