३ महिनामा ५२ सीमा स्तम्भ मर्मत, ११ निर्माण र ४ सय २ को निरीक्षण
What you should know
कञ्चनपुर —
नेपाल-भारत संयुक्त सीमा सर्भे टोलीले सुदूरपश्चिममा विवादरहित क्षेत्रमा मात्रै सीमा स्तम्भ र दसगजाको नापजाँच गरेको छ । विवाद नभएका सीमा स्तम्भको मर्मत, निर्माण र निरीक्षण गरेको छ ।
सोमबार महेन्द्रनगरमा भएको नेपाल र भारतका उच्च अधिकारीहरूको बैठकमा यही विषयमा छलफल भएको छ । २०८२ चैतमा गठन भएको संयुक्त सर्भे टोलीले ३ महिनाको अवधिमा ५२ सीमा स्तम्भ मर्मत, ४ सय २ निरीक्षण र ११ वटा निर्माण गरिएको छ ।
‘हामीले विवाद नभएको क्षेत्रमा संयुक्त रुपमै काम गरेका छौं, तीन महिनाको छोटो अवधिमा सफलतापूर्वक काम भएको छ,’ नापी विभागका अधिकृत तथा संयुक्त सर्भे टोलीका नेपाल तर्फका प्रमुख ज्ञानेन्द्र विष्टले भने, ‘विवाद रहेको र संवेदनशील क्षेत्रमा भने हामीले काम गर्न सकेनौं ।’ उनका अनुसार बिजोर नम्बरका सीमास्तम्भको मर्मत, निर्माण र निरीक्षणको काम नेपालले तथा जोर नम्बरको काम भारतले गरिरहेको छ ।
सोमबार महेन्द्रनगरमा भएको बैठकमा नेपालका तर्फबाट कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीसहित डिभिजन वन कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो । भारततर्फबाट उत्तराखण्डका उद्यमसिंहनगर, चम्पावत र पिथौरागढ तथा उत्तर प्रदेशको लख्खिमपुर, खिरी र पिलिभित जिल्लाका जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखको उपस्थिति रहेको थियो ।
‘बैठकमा संयुक्त सर्भे टोलीले गरेको कार्यप्रगतिबारे समीक्षा भयो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले भने, ‘योबीचमा संयुक्त सर्भे टोलीले विवादरहित क्षेत्रमा धमाधम काम गरेको छ ।’ उनका अनुसार यो नियमित बैठक पनि हो ।
संयुक्त सर्भे टोलीको निर्धारित समय सकिएको र बर्खाको समय पनि सुरू भएकाले अब सर्भेको काम स्थगित भएको नापी विभागका अधिकृत विष्टले जानकारी दिए । २०८२ चैतमा गठन भएको टोलीले चैत पहिलो सातादेखि काम थालेको थियो ।
‘हामीले विवाद नभएका, हात्तीले ढलाएका स्तम्भको मर्मत गर्यौं,’ विष्टले भने, ‘संयुक्त रूपमा सीमा स्तम्भहरूको निरीक्षण पनि गरेका छौं ।’ छोटो अवधिमा महत्त्वपूर्ण काम भएको बताए ।
