एल निनोकै कारण दक्षिण एसियालगायत नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको विभागले जनाएको छ ।
What you should know
काठमाडौँ — असार लाग्दा पनि मनसुन नभित्रिएपछि जल तथा मौसम विज्ञान विभागले सोमबार विज्ञप्ति जारी गर्दै भन्यो- 'हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा छ ।'
एल निनोकै कारण यसपालिको मनसुन प्रभावित बन्ने विभागको भनाइ छ । किनकि विगतका वर्षहरुमा पनि एल निनोले मनसुन आगमन ढिलो भएको थियो । एल निनोकै कारण नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसियालगायत नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको विभागले जनाएको छ ।
एल निनो एउटा प्राकृतिक मौसमी चक्र हो । प्रशान्त महासागरको पानी असामान्य रूपमा तातो बन्दै गएपछि यसले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ । यहाँबाट उठेको तातो वाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ ।
नेपालमा मनसुन प्रवेश गर्ने मिति सरदर जुन १३ हो । तर असार लागिसक्दा पनि मनसुन प्रवेशको संकेत देखिएको छैन । पश्चिमी वायु अझै सक्रिय छ । स्थानीय वायुको प्रभावसमेतका कारण कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागका केही स्थानमा तातो हावा चल्ने विभागले सूचना जारी गरेको छ । धनगढी, नेपालगन्ज, भैरहवा, सिमरामा बढीमा ४० डिग्री सेल्सियस तापक्रम पुग्ने विभागको अनुमान छ ।
भारतमा समेत यसपालि ढिला मनसुन भित्रिएको थियो । भारतीय मौसम विभागले मे २६ मा मनसुन भित्रने अनुमान गरेको थियो । त्यो समय गुजार्दै सरदर मितिभन्दा तीन दिन ढिला गरी जुन ४ मा भारतमा भित्रिएको छ । भारतमा सामान्यतः जुन १ मा मनसुन प्रवेश गर्छ ।
‘सामान्यतया केरल प्रवेश गरेको मनसुन १२ देखि १४ दिनभित्र नेपाल आइपुग्छ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले भने, ‘यो वर्ष मनसुनी प्रक्रिया सुस्त छ ।’ गत वर्ष नेपालमा सरदर मितिभन्दा १५ दिनअगावै मे २९ मा मनसुन आगमन भएको थियो ।
विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन अझै केही दिन ढिला हुने जानकारी दिइन् । भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको उनको भनाइ छ ।
विगतमा सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, सन् २००२, २००९, २०१६, २०१९ र २०२३ मा पनि एल निनोकै प्रभावले मनसुन ढिला प्रवेश भएको थियो । सन् १९८२ मा त निकै ढिलो २७ जुनमा मनसुन भित्रिएको थियो ।
विभागले यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
