७ दिनभित्र सरकारी भवनबाट संघसंगठनका कार्यालय हटाउन निर्देशन

सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी संघसंस्थाका कार्यालयहरू सरकारी कार्यालयका संरचनाहरूमा सञ्चालन गरी राखेको पाइएमा कानुनबमोजिम कारबाही भई जाने व्यहोरासमेत आदेशानुसार अनुरोध छ ।’

असार २, २०८३

रासस

Instructions to remove association offices from government buildings within 7 days

काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ । कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू ७ दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिए । 

काठमाडौं प्रशासनले मंगलबार एक सूचना जारी गरी संस्था दर्ता ऐन, २०३४ बमोजिम यस जिल्ला प्रशासन कार्यालयमा दर्ता भई काठमाडौं जिल्लास्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैरसरकारी प्रकृतिका प्राविधिक वा पेसागत संघ, संगठन, संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाइ कार्यालयहरूका साइनबोर्ड राखी सरकारी भवन संरचनाभित्रै रहे भएको छ भने हटाउन भनेको हो ।

प्रशासन कार्यालयले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका कुनै पनि संघसंस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू ७ दिनभित्र हटाई अन्यत्र निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरण गरी सोको जानकारी यस कार्यालयलाई दिन भनेको छ । 

यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायले पनि यस्ता प्रकृतिका संघसंस्थाको बोर्डहरू तथा संरचनाहरू आफ्नो कार्यालय हाताबाट हटाई यस्ता उनीहरूले ओगटेका भाग-क्षेत्रहरू खाली गराउने निर्देशन दिएको छ ।

सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी संघसंस्थाका कार्यालयहरू सरकारी कार्यालयका संरचनाहरूमा सञ्चालन गरी राखेको पाइएमा कानुनबमोजिम कारबाही भई जाने व्यहोरासमेत आदेशानुसार अनुरोध छ ।’ 

रासस

Link copied successfully