विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जिव गौतमलाई पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
काठमाडौं — विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो । अदालतको आदेशसँगै गौतमलाई कारागार चलान गरिएको छ ।
पोखरा विमानस्थल निर्माणमा भष्टाचार प्रकरणमा उनीविरुद्ध दायर भएको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए । क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित गौतमविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले भष्टाचार अभियोग मुद्दा दायर गरेको थियो ।
अख्तियारले गौतमसँग ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुलउपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । यसअघि विशेष अदालतले तत्कालीन महानिर्देशक अधिकारीलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अदालतले फैसला हुँदा ठहरे बमोजिम हुने तर हाललाई धरौटी वा साधारण तारेखमा रिहा गर्न अस्वीकार गर्दै थुनामा पठाएको हो ।
