सन्तोष नेपाली खानालाई विश्वमाझ चिनाउने अग्रणी नेपाली सेफ हुन् । सन् २०२१ मा उनी बीबीसी मास्टर सेफ बनेका थिए ।
काठमाडौँ —
प्रहरीले सेफ सन्तोषका रूपमा चर्चित मिथिला थालीका सञ्चालक सन्तोष शाहलाई कम्तीमा ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
ठगीसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न म्याद माग्दै प्रहरीले उनलाई जिल्ला अदालत, काठमाडौं हाजिर गराएको थियो । त्यसक्रममा अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले कान्तिपुरलाई बताए ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई बैंकिङ कसूरको आरोपमा जनकपुरमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । र, थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइदिएको थियो । ‘बैंकिङ कसूरमा अदालतबाट आदेशसमेत भइसकेको रहेछ, त्यसमा सोमबार हाजिर गराउँदैछौं,’ उनले भने ।
प्रहरी सन्तोषसँगै सोही रेस्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि पक्राउ गरेको थियो । दुवै मुद्दा गैरीधारामा उनले चलाउन खोजेको रेस्टुरेन्टसँग सम्बन्धित छ । जाहेरी दिने शकुन्तला थापा साहलाई गैरीधारामा भएको एउटा रेस्टुरेन्ट उनीहरूलाई १ करोड ३० लाख रुपैयाँमा बिक्री गरेकी थिइन् ।
त्यसबापत साहले चेक दिएका थिए । पैसा निकाल्न जाँदा चेक बाउन्स भएको थियो । यस विषयमा पहिले पनि पटक-पटक दुई पक्षबीच गराएको प्रहरीको भनाइ छ ।
तर, सहमति नगरी समय नाघेपछि अदालतमा समेत मुद्दा दायर भएको थियो । पछि ठगीमा समेत प्रहरीमा मुद्दा दर्ता भएको छ । सन्तोष नेपाली खानालाई विश्वमाझ चिनाउने अग्रणी नेपाली सेफ हुन् । सन् २०२१ मा उनी बीबीसी मास्टर सेफ बनेका थिए ।
