खाना नपाएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा थाल ठटाएर विरोध

सोमबार बिहानैदेखि खाना खान नपाएपछि आक्रोशित बनेका उनीहरूले सेन्टरको गेटमा थाल ठटाएर विरोध जनाएका हुन् ।

असार १, २०८३

दया दुदराज

Protest by banging plates at Kirtipur Holding Center after not getting food

काठमाडौँ — कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारले खाना नपाएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहानैदेखि खाना खान नपाएपछि आक्रोशित बनेका उनीहरूले सेन्टरको गेटमा थाल ठटाएर विरोध जनाएका हुन् ।

'हाम्रा बालबच्चा स्कुल जान पाएनन्, सबै थाल बजाएर गेटमा बसेका छन्,' एक विस्थापित महिलाले कान्तिपुरसँग भनिन्, 'सरकारले आजदेखि भात दिन्न भन्यो रे, अब हामीले के गर्ने ?'

नगरपालिका र सम्बन्धित मन्त्रालयबीच समन्वय नहुँदा आफूहरू भोकै पर्नुपरेको विस्थापितहरूको गुनासो छ । यसबारे बुझ्न खोज्दा कर्मचारीहरूले आफूहरूलाई केही थाहा नभएको भन्दै पन्छिने गरेको उनीहरूले बताए।

यता, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले भने क्याटरिङ सेवा परिवर्तन हुन लागेकाले खाना खुवाउन ढिलाइ भएको दाबी गरे । 'आजदेखि क्याटरिङ व्यवस्थापन परिवर्तन हुन लागेको हो,' उनले भने, 'हामी केही छिनमै प्याकेटको खाना खुवाउँछौँ, बेलुकीबाट भने नयाँ व्यवस्थापनले काम सुरु गर्नेछ ।'

गत वैशाख १२ गते विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका बासिन्दाहरू महिनौँदेखि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बस्दै आएका छन् ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully