चीन सीमानजिक भए पनि सडक र नाका नखुल्दा मुगमकार्मारोङका बासिन्दाले जोखिमपूर्ण यात्रा र धेरै खर्च गरेर उपभोग्य वस्तुको व्यवस्थापन गर्दै आएका छन् ।
What you should know
सुर्खेत — मुगुको मुगमकार्मारोङ-३ का ५६ वर्षीय सन्दुक तामाङ दुई दिन हिँडेर सदरमुकाम गमगढी पुग्छन् । चीन सीमास्थित नाक्चेनाग्लामा भने उनी एकैदिनमा पुग्न सक्छन् । तर चिनियाँ नाका नखुल्दा र सडक सुविधा नहुँदा सीमानजिक भए पनि दैनिक उपभोग्य सामान र खाद्यान्नका लागि सदरमुकाम गमगढी पुग्नैपर्ने बाध्यता छ ।
‘साँघुरो बाटोमा जोखिम मोलेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता छ, सडक नहुँदा खच्चडमा सामान बोकाउनुको विकल्पै छैन,’ उनले भने, ‘सदरमुकामदेखि गाउँसम्मको सडक खुले सामानको मूल्यभन्दा दोब्बर ढुवानी भाडा तिरेर खाद्यान्न ढुवानीको बाध्यता अन्त्य हुन्थ्यो ।’ उनले अत्यधिक चिसो र सिँचाइ सुविधा नहुँदा गाउँमा वर्षमा एक बाली उवा मात्र उत्पादन हुने बताए । उनका अनुसार त्यो उत्पादनले ३ महिना पनि खान नपुग्दा झण्डै ९ महिना बाहिरकै खाद्यान्न उपभोग गर्नुपर्ने बाध्यता छ ।
मुगमकार्मारोङ–१ मुगुगाउँका टासी लामालाई पनि चीनसम्म सडक जोडिए छोरानातिले सुख पाउँथे कि भन्ने आशा छ । ‘चीनसम्म सडक जोडिन्छ भनेको उहिल्यै हो, गाउँसम्मै गाडी आए पनि धेरै सुविस्ता हुन्थ्यो,’ उनले भने ।
कर्णालीलाई चीन सीमासम्म जोड्ने गमगढी-नाक्चेनाग्ला सडक बजेट अभावमा लामो समयदेखि अलपत्र हुँदा मुगमकार्मारोङ गाउँपालिकाका बासिन्दा सडक सुविधाबाट बञ्चित छन् । गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार कर्णालीबाट चीन जोडिने यो सबैभन्दा छोटो दूरीको सडक हो । उनका अनुसार गमगढीबाट ६८ किलोमिटर दूरीको यो सडकमा अहिलेसम्म १८ किलोमिटर मुगमकार्मारोङ गाउँपालिकाको छाइलसम्म मात्र ट्रयाक खोलिएको छ । २०६२ फागुनदेखि सडक निर्माणको काम सुरु गरिएको थियो ।
गाउँपालिका अध्यक्ष लामाले सन् १९१५ देखि चीन सीमाको मुगुगाउँका आदिवासी जनजाति र तिब्बतीबीच ब्यापारिक सम्बन्ध जोडिए पनि सडक नहुँदा उक्त व्यवसायिक सम्बन्ध बैध बन्न नसकेको बताए । ‘सडक बने ह्याजीमारबाट २/३ घण्टामै गाडीमा तिब्बतको ल्हासा जान सकिन्छ,’ उनले भने, ‘नाकासम्म मोटरबाटो खुले दुई देशबीच ब्यापार बृद्धि हुन्थ्यो ।’
सडक सुविधा नहुँदा मुगमकार्मारोङको किम्री, कार्ति, ताखा, खारी, मुगु, डोल्फू, चितै, रिउस र पुवागाउाका स्थानीयलाई मोटर चढ्न पनि कम्तीमा डेढ दिन हिँड्नुपर्ने बाध्यता भएको किम्रीका धनारगोल्बु लामाले बताए । ‘गाउामा कहिले सडक पुग्ला र हाम्रो दुःख अन्त्य होला ?,’ उनले भने, ‘चिसो ठाउँ भएकाले पालिकाभरि एक बाली उवा मात्र फल्छ, त्यो अन्नले ३ महिना पनि पुग्दैन, बर्सेनि खाद्यान्न अभाव भोग्न बाध्य छौं, सडक पुगे कम्तीमा खानको जोहो गर्न त पाइन्थ्यो ।’
उनका अनुसार खच्चड, घोडा र चौरीमा बोकाएर लगिएको एक बोरा चामल ६ हजार रुपैयाँमा खरिद गर्नुपर्ने बाध्यता छ । जबकी त्यही ३० किलोको एक बोरा चामल सदरमुकाम गमगढीमा २ हजार २ सयदेखि २ हजार ५ सय रुपैयाँमा पाइन्छ । घोडाखच्चडले प्रतिकिलो १ सय रुपैयाँमा गाउँसम्म सामान ढुवानी गर्ने गरेको उनको भनाइ छ ।
उनका अनुसार गाउँमा खाद्यान्नको डिपो भए पनि गत असार महिनायता चामल आएको छैन । सडक नहुँदा गाउँको आलु, स्याउ, उवालगायतको कृषि उत्पादन खेर जाने गरेको उनको भनाइ छ । सडक असुविधाका कारण निर्माण सामग्रीको मूल्य महँगो हुँदा विकास निर्माणका काममा पनि समस्या भएको गाउँपालिका अध्यक्ष लामाले बताए ।
८० करोड रुपैयाँ लागत अनुमान गरिएको सडकमा अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख श्रवणकुमार महतराले बताए । ‘सडकमा एक त बजेट नै पर्दैन, परे पनि एकदमै न्यून,’ उनले भने, ‘थोरै बजेटमा पनि ठेकेदारले घटेर टेण्डर हाल्छन्, कसरी गुणस्तरीय काम हुने ?’ उनका अनुसार बर्सेनि असार मसान्तको बेला मात्र काम हुने भएकाले सडकमा आएको अधिकांश बजेट फ्रिज जाने समस्या पनि छ ।
यो वर्ष नाग्मा-गमगढी सडकको स्तरोन्नतिका लागि ४ करोड बजेट छुट्याइएको भए पनि नाग्चेनाग्लातर्फ नयाँ ट्रयाक खोल्न कुनै पनि बजेट नआएको उनले जानकारी दिए । मुगु कर्णाली नदीको तिरैतिर भएर तिब्बत सीमा क्षेत्र पुग्ने सडक भएकाले यो सडक निर्माण गर्न बजेट पर्याप्त भए कुनै अप्ठेरो नभएको उनको भनाइ छ ।
