बर्दिया निकुञ्जका बाघबारे बीबीसीले गत ७ जून २०२६ मा प्रसारण गरेको एक घण्टा लामो ‘टाइगर आइल्याण्ड’ श्रृंखलामा एउटा पोथी बाघले अर्को पोथी बाघका डमरुलाई स्याहारसुसार गरिरहेको दुर्लभ दृष्य देखाइएको छ ।
What you should know
लुम्बिनी — पश्चिम नेपालमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज बाघ गन्तव्य हो । जंगल सफारीका क्रममा सजिलै बाघ देखिनाले पछिल्लो समय पर्यटक ओइरिने गरेका छन् । बर्दियाका बाघ अहिले बीबीसीले तयार गरेको नयाँ श्रृंखलाले चर्चामा छन् । उक्त श्रृंखलामा कैद बाघको जीवनशैलीले विश्वको ध्यान तानेको छ ।
बर्दिया निकुञ्ज आसपासका ५ वटा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघका अद्भूत, अद्वितीय, अविस्मरणीय र रोमाञ्चक गतिबिधि समेटेर बीबीसीले तयार गरेको नयाँ वन्यजन्तु श्रृंखला ‘टाइगर आइल्याण्ड’को प्रथम श्रृंखला अहिले चर्चामा छ । यसरी बहस हुनुको मुख्य कारण उक्त श्रृंखलामार्फत उजागर भएको नयाँ तथ्य हो ।
७ जून २०२६ मा बेलायती प्रसारण संस्था बीबीसी वन र बीबीसी आई–प्लेयरमार्फत विश्वव्यापी रूपमा प्रसारण भएको ‘टाइगर आइल्याण्ड’ ले नयाँ र रोमाञ्चक तथ्य उजागर गरेको छ । करिब एक घण्टा लामो श्रृंखलामा एउटा पोथी बाघले अर्को पोथी बाघका डमरुलाई स्याहारसुसार गरिरहेको दुर्लभ दृष्य देखाइएको छ । बाघले आफ्नोसँगै अन्य बाघका डमरुलाई पनि लालनपालन र स्याहार गर्छन् भन्ने तथ्य उजागर भएको बिज्ञको भनाई छ । अर्को तर्फ भाले बाघले आफ्ना बच्चालाई देख्नासाथ मार्छन् भन्ने तथ्य पनि यसबाट गलत पाइएको छ ।
भाले बाघले ससाना डमरुलाई देख्नासाथ मार्दैनन्, मायाममता पनि देखाएर स्याहार सुसार पनि गर्छन् भन्ने जानकारी बाहिर ल्याएको छ । तर, ‘भिजिटर’ भाले बाघले बच्चा देख्नासाथ मार्छन् भन्ने पनि देखाएको छ । यस श्रृंखलामा बाघले बच्चा खाएको दुर्लभ दृष्य पनि छायांकन गरिएको छ । उक्त डकुमेन्ट्रीकालागि बर्दियाका अनुभवी नेचर गाईड दिदीबहिनी सुशीला, मन्जु र रन्जु महताराले बीबीसीको टोलीसँग खटेर काम गरेका थिए ।
उनीहरुले बाघको नियमित अनुगमन, खोज र निगरानी गर्दै डकुमेन्ट्रीकालागि दुर्लभ र चित्ताकर्षक दृष्य छायांकन गराउन सफल भएका थिए । बीबीसी एशियाले बाघकालागि सन् २०२२ को अन्त्य र २०२३ फ्रेबुअरीमा डकुमेन्ट्रीकालागि छायांकन गर्न आउँदा स्थानीय नाम दिइएका गोमा र जुगिनी पोथी बाघको सहवासको भिडियो खिचिएपछि बीबीसीको नयाँ टाइगर आइल्याण्ड श्रृंखला बनाउन सुरु गरिएको नेचर गाइड सुशीला महताराले बताइन् । ‘त्यसपछि यी दुवैलाई फलो गर्ने निर्णय भयो,’ उनले भनिन्, ‘काम गर्ने क्रममा बाघका आनीबानी र नयाँ अभ्यासबारे थाहा भएको हो ।’ त्यतिखेर बर्दिया आएका निर्देशक प्याट्रिक ईभान्ससँग सल्लाह गरेर दुबै बाघलाई पछ्याउन क्रम सुरु भएको उनले बताइन् । ईभान्स अहिलेको श्रृंखलाका सहनिर्देशक हुन् ।
गोमा र जुगिनी पछ्याउने क्रममा गर्भवती भएको पनि देखेको सुशीलाले बताइन् । ‘डमरु अली ठूलो भएपछि टोली डकुमन्ट्री खिच्न आयो,’ उनले भनिन्, ‘करिब ९ महिनाका दुई डमरु गोमाले स्याहारसुसार गरिरहेको दृष्य छायांकन गरिएको थियो ।’
बीबीसीको टोलीले डकुमेन्ट्रीकालागि सामुदायिक वन आउजाउ गरेर छायांकन गरेको थियो । त्यसक्रममा गोमासँग थप तीनसहित ५ डमरु देखिएपछि बीबीसीको प्राविधिक टोली अचम्ममा परेको उनले बताइन् । त्यसपछि ड्रोन क्यामरामार्फत थप खोज अनुसन्न्धान गर्ने क्रममा गोमासँग थपिएका ३ वटा डमरु जुगिनी नाम दिइएको पोथी बाघको भएको पत्ता लागेको नेचर गाइड मन्जु महतराले बताइन् ।
जुगिनी पनि गोमाकै आसपास ‘टेरिटोरी’ बनाएर बसेकी थिइन् । ड्रोन क्यामरामार्फत गोमा र जुगिनीका गतिविधि छायांकन गर्ने क्रममा केही दूरीमा ‘माला’ नाम दिइएकी पोथी बाघले पहिलो पटक गर्भधारण गरेर डमरु जन्माएको भेटियो । करिब ४ वर्षकी माला भने गोमाकी पछिल्लो पटककी सन्तान भएको खुल्यो । करिब ६ वर्ष उमेर अनुमान गरिएकी जुगुनी पनि गोमाको पहिलो पटकको सन्तान हुन सक्ने अनुमान गरिएको छ ।
जुगिनीका तीन वटा डमरु थिए । दुबैका डमरु ९ महिना जतिका थिए । पहिलो पटक आमा बनेकी मालालाई पात्र बनाएर बीबीसी वानले जून १४ तारिकमा टाईगर आईल्याण्डको दोस्रो श्रृंखला प्रशारण गर्दैछ । उसको आनबानी र ब्यवहारलाई श्रृंखलामा देखाइएको छ । मालाका बच्चालाई भिजिटर भालेले मारेको र खाएको दुर्लभ दृष्यपनि श्रृंखलामा रहेको छ । मालाका डमरु भने तीन महिनाका थिए । यो डकुमेन्ट्री पनि करिब एक घण्टाको छ ।
‘२०२३ को फेबुअरीमा गोमा र जुगिनीले झण्डै सय मिटरको दुरीमा सहवास गरेको देखियो,’ मन्जुले भनिन्, ‘त्यो नै टाईगर आईल्याण्ड श्रृंखलाको सुरुवात थियो ।’ त्यसपछि गोमा र जुगिनीलाई ट्रयाक गरेर बीबीसीको टोलीलाई सूचना दिने काम गरेको उनले बताइन् ।
आवश्यकता अनुसार उच्चस्तरको प्रविधि सहितको प्राविधिक टोली र बिग क्याट बैज्ञानिक आएर भिडियो खिच्ने र अनुसन्धान गर्ने काम गरेको उनले बताइन् । ‘डमरु हुर्काएकोसम्मका दुर्लभ दृष्य श्रृंखलामा छन्,’ उनले भनिन् । उनका अनुसार दोस्रो श्रृंखलामा जुगिनीका २ वटा बच्चापनि भाले बाघले मारिसकेको समेटिएको छ । गोमासँग भने दुई वटा डमरु हुन्छन् । मालाका पनि दुई मरेर एउटामात्र बाँकी बचेको हुन्छ । दोस्रो श्रृंखलामा रात्रीकालीन दृश्य धेरै छन् । ‘रातमा बाघको ब्यवहार कस्तो हुन्छ र कसरी बस्छन् भन्ने देखाइएको छ,’ उनले भनिन्, ‘रात्री क्रियाकलापका बारेमा धेरै अध्ययन अनुसन्धान भएको थिएन, त्यसैले बीबीसीले रातिमा बढी फोकस गरेर श्रृंखला बनाएका हो ।’
सन् २०२१ पनि बीबीसी वानले रिटर्न टाईगर भनेर बर्दियाको डकुमेन्ट्री बनाएर प्रशारण गरेको थियो । त्यसपछि बीबीसी एशिया २०२२/२३ मा काम गरेर २०२३ को अन्तिमतिर अर्को बाघ सम्बन्धी डकुमेन्ट्री रिलिज गरेको थियो । त्यसपछिको यो निर्माण गरिएको हो । सन् २०२५ मा बीबीसीका प्राविधिक सहितको टोली दुई पटक आएको थियो। पहिलो पटक फ्रेबुअरी र दोस्रो पटक मेमा आएको थियो ।
दुई पटकमा गरी झण्डै दुई महिनासम्म टोली बर्दियामा बसेका थिए । २/३ जना नेपालीसहित १६ जनाको टोली थियो । निकुञ्ज आसपासका शिवपुर वनरवा, बानु गाउँ, बहादुरपुर, कैलासी र असारे गैरी मध्यवर्ती सामुदायिक वन उपभोत्ता समूहको क्षेत्र आसपास क्यामरा ड्रोनबाट भिडियो खिचेका थिए । भिडियो खिचेको एक वर्षपछि सम्पादनको काम गरेर डकुमेन्ट्री प्रशारण गरिएको हो ।
बीबीसीले प्रशारण गरेको डकुमेन्ट्रीले बाघको ईकोलोजिकल आनीबानीका विषयमा नयाँ–नयाँ तथ्य बाहिर ल्याएर विश्व जगतको ध्यान तानेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले बताए । ‘डकुमेन्ट्रीले बर्दियाको बाघबारे यति प्रचार भयो कि अब बर्दियालाई विश्वमा चिनाउनु पर्दैन्,’ उनले भने ।
नेपालमा भइरहेको संरक्षणका प्रयासले नै अहिलेको बाघ पर्यटनलाई अन्तर्राष्ट्रिय मञ्चमा एक उत्कृष्ट नमुनाको रूपमा प्रस्तुत गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया कार्यक्रमका प्रमुख अजित तुम्बाहाम्फेले बताए । यसले बर्दियाको बाघ ब्राण्डका रुपमा विश्वभरि फैलिने उनले बताए । पर्यटकदेखि अध्ययन अनुसन्धान गर्नेको उत्कृष्ट गन्तब्य बन्ने विश्वास उनले व्यक्त गरे ।
बीबीसी स्टुडियोज न्याचुरल हिस्ट्री युनिटद्वारा निर्मित यो ऐतिहासिक श्रृंखलाले बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रका वन, बाघको बासस्थान र यहाँको जैविक विविधतालाई विश्वसामु उजागर गरेको हो । अहिलेको डकुमेन्ट्री मार्फत अनुसन्धान गर्नेहरुकालगि एउटा प्रश्न टड्कारो रुपमा उठेको बाघ बिशेषज्ञ डा. बाबुराम लामिछाने बताए । ‘नयाँ कुरा आएको छ,’ उनले भने, ‘यसलाई पुष्टि गर्न थप अध्ययन अनुसन्धान गर्नुपर्छ ।’
बाघको आनीबानीमा परिवर्तन आएर हो कि र संख्या बढेर ठाउँ अपुग भएको यस्तो भएको भन्ने विषयमा अनुसन्धान जरुरी भएको उनले बताए । ‘यसले बाघ अध्ययन अनुसन्धान गर्नेकालागि बर्दिया भर्जिन ठाउँ भएको पुष्टि हुन्छ,’ उनले भने ।
नेचरगाइड रहेका तीनदिदी बहिनीको प्रकृति र वन्यजन्तुप्रतिको ज्ञान र धैर्यताकै कारण यो ऐतिहासिक दृष्य छायांकन गर्न सम्भव भएको चराविद् राम शाहीले बताए । बीबीसीको डकुमेन्ट्रीमा यी किशोरी मार्गदर्शकका रुपमा देखिनुले बर्दिया र मुलुककै पर्यापर्यटनमा स्थानीयको नेतृत्व र सहभागितालाई गौरवमय रूपमा स्थापित गरिदिएको उनले बताए । प्राकृतिक वातावरणमा आमा र छोरी मिलेर ५ वटा डमरु हुर्काइरहेको दृष्य आफै पनि अद्भूत र अद्वितीय भएको डब्लुडब्लुएफ नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले बताए । ‘एउटा आईल्याण्डमा डमरुसँग आमाको वात्सल्य प्रेम देखेर जो पनि आनन्दित हुन्छ,’ उनले भने, ‘यो डकुमन्ट्रीले विश्व बजारमा बर्दियाका बाघ गर्जिन्छ । मार्केटिङ गर्ने पर्दैर्न । बाघ हेर्न नेपाल, त्यसमा पनि बर्दियामा आइरो लाग्छ ।’
बीबीसीको उच्चस्तरीय डकुमेन्ट्रीमा बाघबारेको नयाँ खोजले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा हुँदा फेरि नेपालको नाम संरक्षण क्षेत्रमा चर्चामा आएको छ । यसले बर्दिया निकुञ्जमा विश्वभरका पर्यटक र संरक्षणप्रेमीको चासो बढेको छ । बाघले दुईदेखि तीन वर्षको अन्तर राखेर बच्चा जन्माउँछ । त्यसबीचमा पोथीले बच्चा हुर्काउने, शिकार गर्न सिकाउने र टेरिटोरी मार्किङ गर्न सिकाउने गर्छन् । जति छिटो सिक्यो उति छिटो आमा छाडेर बस्छन् । बाघले १ सय ४ दिनदेखि १ सय ९ दिनसम्म गर्भधारण गर्छ । एक बेतमा दुईदेखि चार वटासम्म बच्चा जन्मिन्छन् । बाघ भएको स्थानको पारिस्थितिकीय प्रणाली स्वस्थ्य छ भन्ने बुझिन्छ ।
खाद्यश्रृंखलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएकाले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा उल्लेखनीय योगदान गर्ने जुलोजिक सोसाइटी अफ लण्डनका नेपाल कन्ट्री रिप्रजेन्टेटिभ डा. भगवान दाहालले बताए । बाघ र मानिस एक आपसमा मिलेर बस्न सक्छन् भन्ने देखाउन सकियो भने विश्वकैलागि अझ उदाहरणीय हुने उनले बताए ।
सन् २०२२ को गणना अनुसार नेपालमा बाघको संख्या ३ सय ५५ छ । सन् २०१० मा १ सय २१ बाघ थिए । २०२६ मा भएको राष्ट्रिय बाघ गणनाको तथ्याक यही जुलाई २९ मा पर्ने विश्व बाघ दिवसमा सार्वजनिक गर्ने तयारी छ ।
