शुक्रबार दिउँसो करिब २ बजेतिर बनेपाबाट रोशी गाउँपालिका-६ स्थित सुघुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिकाको बुच्चाकोटमा दुर्घटनामा परेको थियो ।
What you should know
काभ्रे — सामाजिक सञ्जालमा शुक्रबार दिउँसो करिब ३ बजेदेखि एउटा फोटो चर्चामा रह्यो । धुलिखेल अस्पतालमा उपचारका ल्याइएका घाइते बालकले आफ्नो अभिभावक खोजी गरिरहेको फोटो करिब २ घण्टा चर्चामा रह्यो ।
त्यो फोटो केशरी तामाङले पनि देखिन् । फोटो देख्नेबित्तिकै उनी दगुर्दै बहिनीको कोठामा पुगिन् । त्यहाँ उनले न त बहिनीलाई भेटिन् न त बहिनीको छोरा नै ।
केशरी झन्झन् आत्तिन थालिन् । वरिपरि सबैलाई बहिनीको बारेमा सोधीखोजी गरिन् । बहिनी भने बिहानै गाउँ (काभ्रेको रोशी) जाने भनेर भक्तपुरस्थित कोठाबाट हिँडेको खबर पाइन् ।
जुन शंका उनले गरेकी थिइन्, धुलिखेल अस्पताल पुगेपछि, त्यो वास्तविकमा नै पाइन् । ती बालक थिए बहिनीका छोरा, जो नमोबुद्धमा भएको बस दुर्घटनामा घाइते भएका थिए ।
शुक्रबार दिउँसो करिब २ बजेतिर बनेपाबाट रोशी गाउँपालिका-६ स्थित सुघुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिकाको बुच्चाकोटमा दुर्घटनामा परेको थियो । करिब ३ सय मिटर तल खोँचमा खस्दा ८ जनाको मृत्यु भयो ।
१८ महिनाको छोरा लिएर माइती हिँडेकी केशरीकी बहिनी र छोरा पनि त्यही दुर्घटनामा परे । बालक घाइते अवस्थामा फेला परेपछि करिब २ घण्टासम्म उनको अभिभावकको खोजी भयो ।
२ घण्टापछि बालकले आफन्तलाई त भेट्यो तर उनले आमाको काख भने कहिल्यै नपाउने भए । दुर्घटनामा उनकी आमा सुमी तामाङको घटनास्थलमै निधन भएको थियो । सुमीको पहिचान उनका श्रीमान् निराजन घिसिङले शनिबार बिहानमात्रै गरेका हुन् । सिन्धुलीको घ्याङलेख घर भएकी सुमी भक्तपुरमा बस्दै आएकी थिइन् । अस्पतालमा आफन्तहरूले बालकलाई सम्हाल्दै सान्त्वना दिइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार, दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ । मृतकहरुमा काभ्रे रोशी-६ बस्ने वर्ष ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ, ७५ वर्षीय इन्द्रबहादुर तामाङ, सोही पालिका वडा नम्बर ७ बस्ने ३४ वर्षीया फूलमाया तामाङ, ६० वर्षीया माया तामाङ, वडा नम्बर ८ बस्ने ६० वर्षीया प्यारीमाया तामाङ छन् ।
यस्तै, दैलेख बस्ने ३० वर्षीय बमबहादुर भण्डारी (त्रिनेत्र दल गण भकुण्डेबेंसीमा कार्यरत नेपाली सेनाका अमलदार) र सिन्धुली घ्याङलेख गाउँपालिका ४ बस्ने २२ वर्षीया सुमी तामाङको पनि दुर्घटनामा मृत्यु भएको छ ।
* यसअघि डाक्टरका अनुसार घाइते बालककी आमाको आईसीयूमा उपचार भइरहेको उल्लेख भएकोमा सच्याइएको छ । - सम्पादक
