पर्यटनलाई समृद्धिको आधार बनाउन मधेश ट्राभल मार्ट

३ दिने ट्राभल मार्टमा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल एजेन्सी, सरकारी निकाय तथा पर्यटनसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

जेष्ठ २९, २०८३

शंकर आचार्य

Madhesh Travel Mart to make tourism the basis for prosperity

What you should know

पर्सा — ‘घुमौं मधेश : मधेश प्रदेशको कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित वीरगन्जमा मधेश ट्राभल मार्ट सुरु भएको छ । पर्यटन प्रवर्द्धन, आन्तरिक तथा बाह्‌य पर्यटक आकर्षण र सीमापार पर्यटन सहकार्यलाई जोड दिँदै शुक्रबार आयोजित मार्टको उद्‌घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका हुन् ।

उद्‌घाटन समारोहमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेश प्रदेशका अध्यक्ष तथा मार्टका संयोजक मोहन शर्मा लामिछानेले मधेश ट्राभल मार्टले मधेश मात्र नभई समग्र देशमा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । उनले भारतको तुलनामा नेपालको मौसम, प्राकृतिक विविधता र मौलिक खानपान भारतीय पर्यटकका लागि आकर्षणको विषय बन्न सक्ने बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पर्यटन क्षेत्रमार्फत नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । पर्यटकलाई नेपाल सुरक्षित गन्तव्य भएको अनुभूति दिलाउन सके पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुने उनको भनाइ थियो ।

कोशी प्रदेश नाटाका अध्यक्ष पुण्यप्रसाद भट्टराईले पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार मानिएको र यस क्षेत्रमा लगानी र प्रवर्द्धनको विकल्प नरहेको बताए । उनले मधेशमा रहेको जानकी मन्दिर र गढीमाई मन्दिर जस्ता धार्मिक गन्तव्यले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको उल्लेख गरे ।

भारतीय ट्राभल तथा टुर व्यवसायी सचिन शर्माले नेपाल भ्रमणका क्रममा भारतीय पर्यटकले विभिन्न प्रशासनिक तथा व्यवस्थापकीय समस्याको सामना गर्नुपरेको बताए । उनले मुक्तिनाथ यात्राको माग अत्यधिक भए पनि पोखराबाट मुक्तिनाथसम्मको यातायात खर्च अत्यधिक भएकाले त्यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय तहले प्रयास गरिरहेको बताए । विगतमा सुरक्षाकै चुनौती प्रमुख रहे पनि अहिले पर्यटन पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिएको उनको भनाइ थियो । उनले लालपहाड र गोलेडाँडा क्षेत्रमा जिपलाइन तथा स्विमिङ पुललगायतका संरचना निर्माण गरी पर्यटक आकर्षित गर्ने योजना अघि बढाइएको जानकारी दिए ।

श्रेष्ठले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अनावश्यक रूपमा दुःख दिने प्रवृत्तिले पर्यटन प्रवर्द्धनमा बाधा पुग्ने उल्लेख गर्दै पर्यटकमैत्री व्यवहार आवश्यक रहेको बताए । भारतीय पर्यटन व्यवसायी साकेत रायले नेपाल र भारतका पर्यटन व्यवसायीबीच सहकार्य बढे दुवै देशको पर्यटन उद्योग लाभान्वित हुने बताए । वीरगन्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल–भारतबीच धार्मिक पर्यटनको बलियो आधार रहेको उल्लेख गर्दै पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, मनकामना मन्दिर, जानकी मन्दिर र गढीमाई मन्दिरजस्ता गन्तव्यलाई थप प्रवर्द्धन गर्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले भारतीय पर्यटकको नेपाल आवागमन सहज र झन्झटरहित हुनुपर्नेमा जोड दिए । उनले पर्सालाई लुम्बिनीसँग जोडेर नयाँ पर्यटन सर्किट विकास गर्न सकिने सम्भावना पनि औंल्याए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले नेपालसँग प्रकृतिले दिएको अपार सम्पदा र ऐतिहासिक–सांस्कृतिक धरोहर रहे पनि त्यसको प्रभावकारी बजारीकरण हुन नसकेको बताए । 

३ दिने ट्राभल मार्टमा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल एजेन्सी, सरकारी निकाय तथा पर्यटनसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ । मार्टमार्फत मधेश प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार, पर्यटन प्याकेज निर्माण तथा सीमापार पर्यटन सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully