भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको प्रतिकार

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरे भन्छन्– ‘नेपाली सुरक्षाकर्मी तत्काल पुगेपछि अहिले सुस्ताको अवस्था सामान्य छ ।’

जेष्ठ २९, २०८३

नवीन पौडेल

Locals react after Indian security personnel enter Susta

परासी — भारतीय सीमा सुरक्षाफोर्स (एसएसबी) नेपाली भूमि सुस्तामा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन् । शुक्रबार बिहान करिब ७ बजे सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले हो–हल्ला गर्दै आफ्नै भूमि जान भनेका थिए । 

नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न १७ जेठमा एसएसबी नेपाली भूमि प्रवेश गरेपछि यस क्षेत्रलाई नेपाली र भारतीय दुवै पक्षले थप निगरानीमा राखिरहेका छन् । 

खेतमा काम गरिरहेका स्थानीयले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै भारतीय सुरक्षाकर्मीलाई फर्कन भनेका थिए । स्थानीयसँग केही समय सामान्य वादविवाद गरेपछि एसएसबी भारततर्फ नै लागेका थिए । 

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेले नियमित गस्तीमा रहेको भारतीय सुरक्षाकर्मीको टोली सिमा नजिकै पानी जमेकोले त्यसलाई पार गर्न नेपालतर्फ आएको बताउँदै भने, ‘तर लगत्तै नेपाली सुरक्षाकर्मी पुगेपछि अहिले सुस्ताको अवस्था सामान्य छ ।’

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले शुक्रबार बिहान भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखेपछि स्थानीयले भारततर्फ जान र आफ्नो भूमिमा प्रवेश नगर्न भनेपछि केही समय विवाद भएको र पछि दुबै पक्षका सुरक्षाकर्मीको पहलमा समस्या समाधान गरिएको जानकारी दिए ।  

२०२२ मा तत्कालीन राजा महेन्द्रले  सुस्तामा केही भूपू सैनिक र सुस्ता आसपास सिमानाको रक्षार्थ करिब ४ सय परिवारको बस्ती बसालेका थिए । २०३४ मा नारायणी नदीले धार परिवर्तन गरेर बस्ती बगरमा परिणत गरी दिएपछि उनिहरू बिस्थापित हुन पुगे । त्यसपछि भारतीय पक्षले लगातार अतिक्रमण गर्ने र सिमा स्तम्भ नभएको फाइदा उठाउादै आएको स्थानीयको आरोप छ । 

सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टरमध्ये भारतले १४ हजार हेक्टर अतिक्रमण गरेर आफ्नो कब्जामा लिएको छ भने १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल विवादित भन्दै जोतभोग गर्न दिइएको छैन । सुस्ताबासीले अहिले ७ हजार ५ सय हेक्टर क्षेत्रफलको भूमि मात्रै जोतभोग गर्दै आएका छन् ।

पश्चिम नवलपरासीको सनहीदेखि कुडियासम्म १६ वटा सिमा स्तम्भ भएपनि सुस्ताको २४ किलोमिटर क्षेत्रमा सीमा स्तम्भ छैन । सीमा स्तम्भ नभएका ठाउँमा खोला, रुख वा अन्य जैविक सिमानाको भर पर्दा जोतभोगका विषयमा सीमावर्ती क्षेत्रका नागरिकबीच पटक पटक विवाद हुादै आएको छ । नेपाल–भारतको विवादित भूमिमा एउटा सिमलको रुखलाई सीमा स्तम्भका रूपमा मानिँदै आएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully