फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम विश्वभर अवरुद्ध हुँदा केहीबेर अलमल

शुक्रबार साँझ विभिन्न देशमा फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम अवरुद्ध भएका छन् ।

जेष्ठ २९, २०८३

कान्तिपुर संवाददाता

Facebook, Messenger, and Instagram are down worldwide, causing a brief period of confusion

काठमाडौँ — चर्चित सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम केही बेरअघि करिब १ घण्टा अवरुद्ध बने । यस्तो अवरोध विश्वभर देखिएको थियो । मेटाका यी ३ प्लाटफर्म अवरुद्ध रहेको ‘डाउनडिटेक्टर’ ले उल्लेख गरेको छ ।

नेपालमा पनि प्रयोगकर्ताहरूले यो समस्या भोगे । म्यासेन्जर एप चलाउँदा आफैँ लगआउट भएको थियो । फेसबुकको फिडमा नयाँ सामग्री नदेखिएर पुराना पोस्टहरू मात्रै देखिए । कतिपय लिंकहरू खोल्न खोज्दा ‘अननोअन इरर ह्याज अर्कड’ भन्ने सूचना आएको थियो । 

युएसए टुडेका अनुसार फेसबुकले मेटाको सर्भरबाट जानकारी तान्न नसक्दा यस्तो ‘क्वेरी इरर’ देखिएको हो । मेटाका सञ्चार निर्देशक एन्डी स्टोनले सामाजिक सञ्जाल एक्समार्फत प्लाटफर्महरू अवरुद्ध भएको बारे पुष्टि गरेका छन् । उनले धेरै प्रयोगकर्तालाई सेवा चलाउन समस्या भइरहेकोबारे कम्पनीलाई अवगत रहेको उल्लेख गरेका छन् । स्टोनले अहिले प्राविधिक टोलीले समस्यालाई समाधान गर्ने काम गरिरहेको बताएका छन् ।

डाउनडिटेक्टरका अनुसार एकै समयमा लाखौँ प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको रिपोर्ट गरेका छन् । यो समस्या अमेरिका, फिलिपिन्स र भारतलगायतका देशमा पनि देखिएको भन्दै त्यहाँका प्रयोगकर्ताले पनि रिपोर्ट गरिरहेका छन् । 

डेटा रिपोर्टलका अनुसार नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या १ करोड ४८ लाख, म्यासेन्जर प्रयोगकर्ताको सङ्ख्या १ करोड १० लाख र इन्स्टाग्राम प्रयोगकर्ताको संख्या ४३ लाख ५० हजार छ । समग्रमा नेपालमा कुल जनसंख्याको करिब ५० प्रतिशत अर्थात १ करोड ४८ लाख सामाजिक सञ्जाल प्रयोगकर्ताहरू रहेका छन् ।

कान्तिपुर

Link copied successfully