ट्रमा सोसाइटीको अध्यक्षमा डा. लामिछाने

नेपालमा अर्थोपेडिक उपचार, ट्रमा म्यानेजमेण्ट र हाडजोर्नी सम्बन्धी उपचारमा संलग्न चिकित्सकहरु पहिलो पटक संगठित भएका छन् ।

जेष्ठ २९, २०८३

कान्तिपुर संवाददाता

Dr. Lamichhane elected as president of Trauma Society

काठमाडौँ — नेपालमा अर्थोपेडिक उपचार, ट्रमा म्यानेजमेण्ट र हाडजोर्नी सम्बन्धी उपचारमा संलग्न चिकित्सकहरु पहिलो पटक संगठित भएका छन् ।

हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन भएको हो । सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के दुवाल श्रेष्ठ, उपाध्यक्ष डा. हेमन्त कुमार गुप्ता, महासचिव डा. विजयन्द्र अधिकारी, कोषाध्यक्ष डा. आलोक पाण्डे, सहसचिव डा. पविन थापा, सह कोषाध्यक्ष डा. सन्जित झा रहेका छन् । सोसाइटीको संरक्षकमा प्रा. डा. रमेशप्रसाद सिंह छन् । १४ सदस्यीय सोसाइटी गठन गरिएको अध्यक्ष लामिछानेले बताए ।

हाडजोर्नी सम्बन्धी सेवालाई अझ बढी सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यले सोसाइटी बनाइएको उनले जनाए । ‘सडक दुर्घटना, कार्यस्थलका चोटपटक र अन्य विपद्का कारण ट्रमा (गम्भीर चोट) को समस्या विकराल बन्दै गइरहेको छ,’ उनले भने, ‘सोसाइटीले हाडजोर्नी तथा नसा रोग विशेषजहरूका बीच अनुभव, जानकारी र नवीनतम प्रविधिको आदानप्रदानलाई तीव्रता दिने उद्देश्य राखेका छौं ।’ 

सोसाईटीले गुणस्तरीय उपचार, जनचेतना अभिवृद्धि, अनुसन्धान तथा तालिम, क्षमता अभिवृद्धि र अनुसन्धानलाई आफ्ना उद्देश्य र कार्यक्षेत्रमा समेटेको छ । 

सोसाइटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागितामा विभिन्न कार्यशाला गोष्ठी, नयाँ सर्जनको लागि फेलोसिप कार्यक्रम, उत्कृष्ठ सर्जनहरुको लागि अवार्ड, निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन र अन्य राष्ट्रिय र अन्तराष्ट्रिय ज्ञानवर्दक कार्यक्रमहरु गर्ने योजना पनि अघि सारेको छ । 

सातै प्रदेशका हाडर्जोनी चिकित्सकहरुलाई समेटेर सोसाइटी गठन गरिएको र प्रदेशगत रुपमा पनि प्रतिनिधिहरु तोकिएको अध्यक्ष लामिछानेले जनाए ।

कान्तिपुर

Link copied successfully