भ्रष्टाचार आरोपको प्रतिवाद गर्दै अर्थमन्त्रीले भने- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र ! ती पनि खुल्नेछन्’

प्रतिनिधिसभामा जवाफ दिने क्रममा उने भने- '२ अर्ब होइन, २ रुपैयाँको बेइमानी भएको छ भने मन्त्री पद त्यागिदिन्छु । यस्तै नैतिक आँट र नैतिक उचाइ मप्रति औंलो ठड्याउने सांसदहरुमा पनि हुनुपर्छ ।'

जेष्ठ २८, २०८३

इकान्तिपुर डेस्क

Defending the corruption allegations, the Finance Minister said, ”We are unaware of your scandals! They will also be revealed.”

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपको प्रतिवाद गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने बताएका छन् ।

आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, 'मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एकदुई वटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे । तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु ।'

उनले यस्तै नैतिक आँट र नैतिक उचाइ आफूप्रति औंलो ठड्याउने सांसदहरुमा पनि हुनुपर्ने बताए । उनले थपे, 'तपाईंका काण्ड बारेमा हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन् ।’

सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्छ भन्दै उनले सम्मानित सदनको ओज घटाउने कामतर्फ लाग्नु नहुने बताए ।

'स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने पनि सुनियो । सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौं र ?' उनले भने ।

अर्थमन्त्री वाग्लेले आफूहरुले अस्थिरतालाई चिर्न खोजेको बताए । 'नयाँ दिशा लिन खोजेका हौं,' उनले भने, ' बजेट सर्वस्व होइन । २१ खर्बले बिउ रोप्ने मात्रै हो ।'

इकान्तिपुर

Link copied successfully