बर्दियामा नक्कली सरकारी कार्यालय खोलेर ठगी गरेको आरोपमा दम्पती पक्राउ

ठाकुरबाबा नगरपालिका–३ मा नक्कली सरकारी कार्यालय खोलेर स्थानीयलाई नियुक्ती दिने, मजदुरीमा लगाएर ठगी गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो।

जेष्ठ २८, २०८३

कमल पन्थी, रामप्रसाद चौहान 

Couple arrested for fraud by opening fake government office in Bardiya

बर्दिया — हुँदै नभएकाे सरकारी कार्यालयको नाम राखेर ठगी गरेको आरोपमा बर्दियामा एक दम्पती पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–३ का २४ वर्षीय घनश्याम न्यौपाने र दाङ लमही नगरपालिका–५ का २३ वर्षीया कृपा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेका न्यौपाने र चौधरी श्रीमान् श्रीमती हुन् ।

ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग ठाकुरबाबा नगरपालिका- ३ बर्दिया, टिकापुर, लम्की'को नाममा सरकारी कार्यालय खोलेर ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुले विभिन्न काममा लगाइदिने भन्दै स्थानीयलाई कर्मचारीमा नियुक्ती दिएको र मजदुरीमा लगाएर ज्यालासमेत नदिएको र कार्यालय संचालन गरेको घरधनीलाई घरको तल्ला थप्न लगाई रकम भुक्तानी नदिई ठगी गरेको आरोप छ । उनीहरुले आफैले सरकारी कागज तथा छाप बनाई हस्ताक्षर, नियुक्ती पत्रमा छाप हानेको र रकम निकासा पश्चात भुक्तानी दिने भन्दै रकम समेत लिई ठगी गरेको खुलेको छ ।

आरोपित न्यौपानेले आफु कार्यालयको सातौं तहको अधिकृत (कार्यालय प्रमुख) भएको भन्दै ठगी गरेको घरधनीले प्रहरीमा जाहेरी दिएका थिए । दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा लिखत सम्बन्धी कसुर किर्तेमा अनुसन्धान भइरहेको डिएसपी रेशम बोहराले जानकारी दिए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully