श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भने - 'सदनमा बोल्नका लागि आन्दोलन गर्नुपर्ने भयो । प्रधानमन्त्रीलाई यता आउनका लागि आन्दोलन गरिरहेको मान्छे । आन्दोलनै आन्दोलनको देश ।'
What you should know
काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद्मा बोल्नका लागि पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । संसद् संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार चल्नुपर्ने पनि राईको भनाइ थियो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष राईले संसद् विधिबाट चल्नुपर्ने बताए । उनले भने, 'सदनमा बोल्नका लागि आन्दोलन गर्नुपर्ने भयो । प्रधानमन्त्रीलाई यता आउनका लागि आन्दोलन गरिरहेको मान्छे । आन्दोलनै आन्दोलनको देश,' राईले भने ।
सदन विधिबाट नचलेको र सानो स्वरमा कुरा राख्दा नसुनिएको भन्दै अध्यक्ष राईले असन्तुष्टि व्यक्त गरे । 'यो सदनलाई विधिबाट संचालन गर्नुपर्छ,' उनले भने । प्रतिनिधिसभा संविधान र नियमावलीबाट चल्नुपर्ने उनको जोड थियो ।
आफूलाई नियम सिकाउनुभन्दा आफूले के नियम पालना नगरेको भन्ने ख्याल गर्न पनि अध्यक्ष राईले सभामुख डीपी अर्याललाई आग्रह गरेका थिए ।
यसअघि प्रतिनिधिसभामा दलीय आधारमा बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टी वेल घेराउमा उत्रिएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेकपाका प्रमेश हमाल र राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई बोल्न समय दिइएको तर चौथो ठूलो विपक्षी दललाई बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टी आन्दोलनमा उत्रिएको थियो ।
प्रधानमन्त्री सफल भएमात्र देश सफल हुने भन्ने चिन्ताले आफूले आवाज उठाइरहेको अध्यक्ष राईको भनाइ थियो । प्रधानमन्त्रीले सीमाका सम्बन्धमा गम्भीर आपत्तिजनक शब्द बोलेको राईले बताए । प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ मा सीमाका सम्बन्धमा बोलेको कुरा संसद्को रेकर्डबाट हटाउन उनले माग गरे ।
अध्यक्ष राईले बोल्न समय पाएपछि श्रम संस्कृति पार्टीको वेल घेराउ पनि अन्त्य भएको छ ।
