कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकले आयोजना गर्ने यो संस्करणमा चार वटा प्यानलमा महिलाका मुद्दाबारे छलफल हुँदैछ ।
काठमाडौं — निर्भीक नारीको छैटौँ संस्करण सुरु भएको छ । कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकले आयोजना गर्ने यो संस्करणमा चार वटा प्यानलमा महिलाका मुद्दाबारे छलफल हुँदैछ ।
यो संस्करणको पहिलो सत्रमा आमाको अचारमार्फत उद्यमी बनेकी संगीता पाण्डे, उद्यमी राधिका अडुकिया, अन्तराष्ट्रिय फूड चेन केएफसी र पिज्जा हटकी म्यानेजर लक्ष्मी उप्रेती र सोसल मिडिया इन्फ्लुएन्सर बिन्जुल श्रेष्ठ सहभागी हुनेछन् । पाथवे टु लिडरशीप शीर्षकको यो सेसनको संयोजन जोन्ता क्लबकी लिडरसिप कमिटीको नेतृत्व गरिरहेकी मुन प्रधानले गर्दैछिन् ।
दोस्रो सेसनमा फर्म पार्लियामन्ट टु प्रोगेस शीर्षकको सेसनमा रास्वपाकी सांसद सुम्निमा उदास, राप्रपाकी सासंद खुश्बु ओली, कांग्रेस सासंद बासना थापा र रास्वपाकी सांसद समेत रहेकी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने भूमिका श्रेष्ठ रहने छन् । यो सेसनको संयोजन पत्रकार लक्ष्मी भण्डारीले गर्दैछिन् ।
दि प्राइस अफ बिइङ भिजिबल शीर्षकको तेस्रो सेसनमा युवा अभियन्ता अमिसा पराजुली, समाजशास्त्री सम्झना वाग्ले भट्टराई, अभिनेत्री रेखा थापा र ह्याम्स अस्पतालका न्यूरोसाइक्याट्रिस्ट डा. रमन कोइराला रहनेछन् । यो सेसनको संयोजन पत्रकार प्रविना पौडेलले गर्दैछिन् ।
अन्तिम तथा चौथो सेसनमा पत्रकार स्कन्ध स्वाँरले फोटो पत्रकार एवं पर्वतारोही पूर्णिमा श्रेष्ठसँग संवाद गर्नेछिन् । निर्भीक नारीका सबै सेसनहरू इकान्तिकपुरको फेसबुक पेजमार्फत र कान्तिपुर टिभीमार्फत लाइभ हेर्न सकिनेछ ।
