कांग्रेस नेता शेखर कोइरालाले संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने बाहिर आएको हल्ला असत्य भएको बताएका छन् ।
काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने बाहिर आएको हल्ला असत्य भएको बताएका छन् ।
कोइरालाले यस्ता दाबीलाई पूर्ण रूपमा मनगढन्ते, कपोलकल्पित र भ्रामक भएको भन्दै त्यसको भ्रममा नपर्न आग्रह गरेका छन् ।
सो विषयमा जानकारी दिँदै कोइरालाका प्रमुख स्वकीय सचिव दिनेश थपलियाले पनि संस्थापन पक्षबाट सात बुँदे प्रस्ताव आएको भन्ने विषयमा आफूहरूलाई हालसम्म कुनै जानकारी नरहेको स्पष्ट पारेका छन् ।
थपलियाका अनुसार यस्ता हल्लाहरूको कुनै औपचारिक वा अनौपचारिक आधार छैन । सचिवालयमा न कुनै पत्राचार भएको छ, न कुनै संवाद वा प्रस्ताव आएको छ ।
उनले पछिल्ला दिनमा आएका यस्ता भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गर्दै गलत सूचना नफैलाउन समेत अनुरोध गरेका छन् ।
सचिवालयका अनुसार विशेष महाधिवेशनपछि बनेको नयाँ कार्यसमिति गठनपश्चात् मात्रै पछिल्ला भेटघाट भएका हुन् । सो क्रममा २२ वैशाख २०८३ मा सभापति गगन थापा र २२ चैत २०८२ मा महामन्त्री प्रदीप पौडेलले कोइरालालाई काठमाडौंको बिशालनगरस्थित सचिवालयमा भेट गरेका थिए ।
त्यसयता भने कुनै पनि नेता वा पदाधिकारीसँग औपचारिक वा अनौपचारिक संवाद वा सम्पर्क नभएको सचिवालयले स्पष्ट पारेको छ ।
