प्राइस अफ बिङ भिजिबल : महिलाको स्वर उठ्दा समाज डराउँछ

निर्भीक महिलालाई सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारले मानसिक असर पुर्याइरहेको भन्दै कानुनी उपचार कमजोर रहेको छलफलमा जोड दिइयो ।

जेष्ठ २७, २०८३

रीना मोक्तान

The Price of Being Visible: Society is afraid when women's voices are raised

What you should know

काठमाडौं — सामाजिक सञ्जालमा महिला लक्षित डिजिटल दुर्व्यवहार बढी देखिन्छ । 'निर्भीक नारी'को छैटौँ संस्करणको दोस्रो सेसनमा ‘प्राइस अफ बिङ भिजिबल’ शीर्षकमा भएको छलफलमा सामाजिक सञ्जालमाथि हुने यस्ता दुर्व्यवहारमाथि लड्न कानुनकै सहारा लिनुपर्ने बहस भएको छ । 

युवा अभियन्ता अमिसा पराजुलीले गत चैतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्दा गरेको विरोधसम्बन्धी अभिव्यक्तिले दुर्व्यवहारमा परिन् । आफूले दिएको अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा ट्रोल अनि मेन्सन बढ्दा उनलाई लागेको थियो, २-४ दिनमा यो दुर्व्यवहार कम होला । तर, उनले सोचेजस्तो भएन ।

दुर्व्यवहारको श्रृंखला बढ्न थाल्यो । यही श्रृंखला दोहोरिएकाले उनले कानुनी उपचारको सहारा लिइन् । खप्नै नसकिने उत्पीडनमा परेपछि मात्रै पीडित कानुनी लडाईंमा पुग्ने अमिसाको भनाइ छ । ‘कोही मान्छे यदि राज्य र कानुनसँग न्याय माग्न पुग्छ भने त्यो मान्छे साँच्चिकै उत्पीडन खप्नै नसकेर पुग्छ । खप्न सकिने भएको भए घरमा रुन सजिलो हुन्थ्यो होला, त्यहाँसम्म पुगेर मलाई न्याय देउ, मेरो पीडा कम गरिदेउ भन्नलाई त त्यतिकै पीडित हुनुपर्दो रहेछ,’ उनले सुनाइन् ।

न्याय प्रक्रिया लामो हुने हुँदा थुप्रैले उनलाई किन कानुनको बाटोसम्म पुगिरहने ? भन्ने प्रश्न पनि गरे । तर, सबै ठाउँबाट हार खाइसकेपछि कानुनको साहारामा पुग्दा पनि न्यायलयमा समेत साहनुभूति नमिल्ने अवस्था रहेको अमिसाले सुनाइन् । दुर्व्यवहारमा परेर कानुनी प्रक्रियासम्म पुग्दा मुद्दाको संवेदनशिलता बुझेर न्याय दिनुपर्ने उनले जोड दिइन् । ‘पीडित बन्दा कमसेकम सहानूभुति त पाइन्छ भन्ने आस हुँदो रहेछ । मान्छेहरूले बुझ्छन् होला भन्ने लाग्थ्यो । त्यो बेला सहानूभुति एकदमै महत्त्वपूर्ण हुँदो रहेछ । पीडितलाई बुझिदिन राज्यबाट कमजोरी भएको हो कि,’ अमिसाले भनिन्, 'कोही दुर्व्यवहारमा परेको हुनुहुन्छ भने उहाँहरू सुरुमा आफूलाई बुझिदिने मानिससँग कुरा राख्न चाहन्छ । कोही पीडित न्याय माग्न आइपुगेको छ भने राज्यले पनि उनीहरूलाई यसरी न्याय दिनुपर्छ भनेर प्रक्रिया बुझाइदिनु पर्छ।' 

यो समाज सँधैभरी महिलाका लागि न्यायाधीश बन्न खोज्छ 

कलाकार रेखा थापा सामाजिक सञ्जालको प्रयोग कम हुँदाको बेलामा हुने आलोचनाले सुध्रिन सहयोग गरे पनि अहिलेको आलोचना दुर्व्यवहारमा परिणत हुँदै गएको बताउँछिन् । ‘त्यतिबेला आलोचना हुन्थ्यो, त्यो आलोचनाबाट आफू सुध्रिने मौका पाइन्थ्यो,’ रेखाले भनिन्, 'वर्तमान स्थितिमा एउटा महिलाको स्वतन्त्रतासँग यो समाज डराउँछ । एउटा महिलाले आफ्नो अभिव्यक्ति निर्धक्कसाथ राख्छे । नेतृत्वमा पुग्छे, उ निडर देखिन्छे भने यो समाज उसँग बहुत डराउँछ । त्यही डराउनेहरूले सामाजिक सञ्जालमा त्यो महिलाको ७ पुस्तेलाई गाली गरिरहेको हुन्छ ।'

विक्षिप्त मानसिकता भएका मानिसले नै यसरी सामाजिक सञ्जालमा गाली गलौच बर्साउन थालेको रेखा सुनाउँछिन् । आफ्नो प्रतिपक्षमा आवाज आउने बित्तिकै जुन प्रकारको प्रहार अमिसाले सहिन्, त्यसले अस्वस्थ समाज निर्माण भएको रेखाको भनाइ छ । ‘यो समाज सँधैभरी महिलाका लागि न्यायाधीश बन्न खोज्छ । यो समाज महिलाको प्रगति र उन्नतिसँग डराउँछ । किन ? वर्षौंदेखि महिलाहरूले पुरानो सोचको च्यादर ओढेर बस्नुपर्छ भन्ने भ्रम छ,’ रेखाले भनिन्, 'मैले कुनै राजनैतिक तर्क दिएँ । पक्षमा बोलिनँ, विपक्षमा बोलेँ । मेरो आफ्नो आवाज र दृष्टिकोण राख्दा त्यो महिलालाई नङ्ग्याइन्छ ।'

कुनै पुरुषले महिलामाथि अन्याय गरे पनि पुरुष सँधै चोखो हुने तर पीडामा महिला नै पर्ने गरेको सत्यबारे पनि रेखाले आफ्नो विचार राखिन् । ‘कोही सार्वजनिक व्यक्तिको जीवनमा आलोचना र खबरदारी गर्न पाइयो । तर, उसको जीवनको न्यायधीश बन्ने अधिकार कसैलाई छैन । र हामीले पनि त्यो अधिकार दिँदैनौं,’ रेखाले भनिन् । महिलाका निम्ति बनेका कानुन राम्रो भए पनि त्यसको कार्यान्वयन अझै शसक्त हुन नसकेको रेखाको तर्क छ ।

सामाजिक संरचनाका कारण पनि महिलामाथि दुर्व्यवहार

समाजशास्त्री सम्झना वाग्ले भट्टराई हाम्रो सामाजिक संरचनाकै कारण पनि महिलाहरुमाथि दुर्व्यवहार हुँदै आएको बताउँछिन् । हामीलाई दिइएको तालिम, सिकाइ, मुल्य र मान्यताले पनि महिला र पुरुषबीच भिन्नता भएको कारण यस किसिमको दुर्व्यवहार महिलाले सहनुपरेको उनले बताइन् ।

‘सुरुवात घरबाट नै भइरहेको हुन्छ । अहिलेको समयमा केही परिवर्तन त भएको छ । तर,  परिवर्तन हुनुपर्ने ठाउँमा हामी पुगिसकेका छैनौं । घरमै पनि छोरी र छोरालाई सिकाउने कुरामै भिन्नता छ । छोरा र छोरीलाई समान व्यवहार गर्न सिकायौं त भन्छौं । तर,  आमा र बुबाले घरमा कस्तो भूमिका खेलिरहेका छौं भन्ने हो ? हाम्रा सन्तानले घरमा बुबा र आमाले कसरी भूमिका निभाइरहनुभएको छ भन्ने कुरा हेरेरै पनि सिकिरहेको हुन्छ ।

पितृसतात्मक संरचनाले शक्ति र निर्णय लिने ठाउँमा पुरुषलाई राखेकै हुँदा त्यस्तो अवस्थामा महिला पनि त्यो ठाउँसम्म आइपुग्दा उनीहरूमाथि दुर्व्यवहार हुने गरेको सम्झना सुनाउँछिन् । ‘जहिल्यै पनि निर्णय लिन सक्ने ठाउँ र शक्तिमा पुरुष नै हुनुहुनुन्छ । अब, कोही महिला त्यहाँ गयो भने त्यो पुरुषलाई अब हाम्रो ठाउँ महिलाले लिन्छ कि भन्ने डर हुन्छ । महिलाले हस्तक्षेप गरेपछि त शक्ति पनि बाँडफाँड हुन्छ भन्ने हुन्छ । त्यही डरले पनि महिलामाथि प्रहार गर्न सुरु हुन्छ,’ समाजशास्त्री भट्टराई भन्छिन् ।

हाम्रो समाजले महिलालाई नै सँधै प्रश्नको घेरामा राखेका हुनाले पुरुषले गल्ती गर्दा त्यस किसिमको प्रश्न नसोधिने गरिएको भट्टराईले सुनाइन् । ‘घर समाज र परिवार अनि देशको इज्जत छोरीले जोगाइदिनुपर्छ । गल्ती छोराले गर्दा पुरुषमाथि प्रश्न हुँदैन,’ उनले भनिन् । 

भट्टराईका अनुसार सामाजिक संरचनाले तोकिदिएको  नियम ‘भिजिबल’ भएका महिलाहरूले तोडेका कारण पनि उनीहरुमाथि दुर्व्यवहार हुँदै आएको हो । ‘भिजिबल महिलाहरू समाजले तोकेको नियमभन्दा अगाडि गएकै कारण उनीहरू भिजिबल भएका हुन् । त्यसैले त्यी महिलाहरुमाथि दुर्व्यवहार हुन्छ । सामाजिक सञ्जालमाथि हुने दुर्व्यवहार नेपालमा मात्रै होइन, अमेरिकादेखि युरोपकै महिला पनि दुर्व्यवहारको सिकार छन्,’ उनले भनिन् ।

सामाजिक सञ्जालतर्फका मानिस अराजकतातर्फ अगाडि बढे पनि, दुर्व्यवहारमाथि लड्न कानुन नै बलियो आधार रहेको भट्टराईको भनाइ छ । ‘सामाजिक सञ्जालमा अहिले कस्तो पुरुषहरू भाइरल भइरहेको छ त ? जसले हामीले सुन्नै नसक्ने शब्दहरु प्रयोग गर्छन् । छाडा भनिने शब्दहरू प्रयोग गर्दा त्यसले सामाजिक सञ्जाल प्रदुषित भइरहेको छ । त्यसैले उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ भट्टराईले भनिन्, 'कसैले सामाजिक सञ्जालमा प्रहार गर्छ भने त्यसलाई कानुनको दायरामा ल्याएर लड्नुपर्छ ।' 

ह्याम्स अस्पतालका मनोचिकित्सक डा. रमण कोइराला दुर्व्यवहारमा परेका महिलाले आफूसँग भएको दुर्व्यवहारसँग लड्न विश्वासिलो व्यक्तिसँग कुरा गर्दै पीडकबाट टाँढिँदै जानुपर्ने धारणा राख्छन् । तब मात्रै दुर्व्यवहारमा परेकी महिला फेरि समाजमा उठ्न सक्ने उनको तर्क छ । ‘कोही दुर्व्यवहार गर्ने व्यक्तिको विरुद्धमा लड्न थाल्छन् । कोही आफैमाथि शंका गरिरहेका हुन्छन् । कोही आफूलाई प्रश्न गर्दागर्दै मानसिक समस्याको सिकार बन्नुहुन्छ । एन्जाइटी, डिप्रेशनतर्फ लम्कनुपर्छ । त्यसबाट उठेर अगाडि बढ्न एकदम समय लाग्छ,’ उनले भने, 'त्यसैले पनि यस्तो गतिविधि भइसकेपछि सकेसम्म आफूलाई विश्वास लाग्नेहरूसँग कुरा गरेर, जसले दुर्व्यवहार गरे उनीहरूबाट टाँढिने, आफूलाई बचाउ गरियो भने मानसिक स्वास्थलाई ठिक गर्न सकिन्छ ।'

सामाजिक सञ्जालमा आफूमाथि दुर्व्यवहार हुँदा त्यससँग लड्न सकिएन भने सुरुमा सञ्जालबाटै टाँढिनुपर्ने पनि डा. कोइरालाको सल्लाह छ । दुर्व्यवहारको असर परिहाले मानसिक स्वास्थ्यकर्मीको पहुँचमा तत्काल पुग्नुपर्ने उनी सल्लाह दिन्छन् । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully