'निर्भीक नारी'को छैटौँ संस्करणमा आयोजित ‘पर्वतारोही–सगरमाथा’ सेसनमा उनले धेरैले हिमाल चढ्न बलियो शरीर मात्र चाहिन्छ भन्ने सोच्ने गरे पनि वास्तवमा पर्वतारोहणका लागि मानसिक र शारीरिक दुवै रूपमा बलियो हुनु पर्ने बताइन् ।
What you should know
काठमाडौँ — फोटो पत्रकार एवं पर्वतारोही पूर्णिमा श्रेष्ठले साथीभाइले दिएको प्रतिक्रियाले नै आफूलाई हिमाल चढ्ने हौसला मिल्दै आएको बताएकी छन् । 'निर्भीक नारी'को छैटौँ संस्करणमा आयोजित ‘पर्वतारोही–सगरमाथा’ शीर्षकको छलफलमा उनले यस्तो बताएकी हुन् ।
‘सुरुवातमा माउन्टेन क्लाइम्बिङलाई निरन्तरता दिन्छु भन्ने सोचेको थिइन । हिमाल मन परेर नै हिमाल चढेको हो । बच्चादेखिको सपना पनि होइन । परिवारले पनि हिमाल चढ्नुपर्छ भनेर हुर्काएको होइन,’ पूर्णिमाले भनिन्, 'तर हिमाल चढिसकेपछि साथीभाइले दिएको प्रतिक्रियाले पनि फुरङ्ग भएँ । सफलता मिल्दै गएपछि आत्मविश्वास बढ्दै गयो, अनि हिमाल चढ्दै आएँ ।' पुर्णिमाले छलफलअघि कार्यक्रममा फोटो र भिडियो प्रस्तुत गर्दै पर्वतारोहणको यात्रा अनुभव सुनाएकी हुन् ।
हिमाल चढ्दा कतिले सुरुवातका दिनमा पूर्णिमालाई भन्थे,'केही काम नभएर, हिमाल चढ्दो रहेछ । लत लागेछ ।' तर, हिमालहरू चढ्दै जाँदा उनले पाएको ख्याती, ब्रान्डसँगको सहकार्य र हिमालमै सुरु गरेको करिअरपछि भने समाजले उनलाई स्वीकार्न थाल्यो । ‘पहिला त समाजलाई बुझाउन नै गाह्रो थियो । अहिले यसमा निरन्तरता दिइरहँदा, यस क्षेत्रमा महिलाको उपस्थिति कमी रहेको पाए । यहाँ अवसरहरू धेरै छ भन्ने देखेको छु,’ उनले भनिन् ।
आरोहणमा महिला र पुरुषबीच क्षमताको आधारमा कुनै विभेद नभएको बताउँछिन् उनी । हिमाल चढ्नका लागि लिंगभन्दा पनि आत्मविश्वास, मानसिक दृढता र शारीरिक तयारी आवश्यक पर्ने उनले धारणा राखिन् । उनले हिमाल चढ्ने क्रममा महिला भएकै कारण कुनै विशेष अवरोध महसुस नगरेको बताइन् । ‘हिमाल चढ्दा महिला वा पुरुष भन्ने हुँदैन, त्यसका लागि हिम्मत चाहिन्छ,’ उनले भनिन् ।
श्रेष्ठका अनुसार धेरै महिला अझै पनि आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन हिच्किचाउने गर्छन् । पर्वतारोहण खर्चिलो खेल भएकाले पनि महिलाको सहभागिता अपेक्षाकृत कम रहेको उनको भनाइ थियो । ‘धेरैले हिमाल चढ्न बलियो शरीर मात्र चाहिन्छ भन्ने सोच्नुहुन्छ । तर, वास्तवमा पर्वतारोहणका लागि मानसिक र शारीरिक दुवै रूपमा बलियो हुनुपर्छ,’ उनले भनिन् । महिलाले चाहे जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले चुनौतीपूर्ण क्षेत्रमा अगाडि बढ्न आत्मविश्वास र दृढ इच्छाशक्ति आवश्यक हुने बताइन् ।
